प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा निर्माण हुन लागेको क्याम्पस भवनको शिलान्यास गरेका छन्।
करिब १० करोड रुपैयाँको लगानीमा झापाको दमक बहुमुखी क्याम्पसमा निर्माण हुन लागेको २४ वटा कोठाका चारवटा ब्लकको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।
उनले बालुवाटरबाटै भर्चुअल विधिबाट भवनको शिलान्यास गरेका हुन्।
प्रधानमन्त्री ओलीले राजनीतिका नाममा विकास निर्माणका कुनै पनि कामलाई रोक्न नसकिने बताए।
प्रधानमन्त्री ओलीले केही तत्वहरूले एक वर्षसम्मका लागि विकास निर्माणको काम ठप्प पार्ने गरेको प्रयास असम्भव रहेको बताए।
‘अब चुनाव आयो। त्यसैले यो वर्ष विकासका केही काम गर्नु हुँदैन भनेर केही साथीहरू लाग्नुभएको छ भने किमार्थ त्यो रोकिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘तर यो सरकार जनउत्तरदायी भएकोले जनताको सुविधाका लागि गर्ने काम गर्न कसैको भनाइको परवाह नगरी अघि बढिरहन्छ।’
प्रधानमन्त्री ओलीले केही विपक्षीहरूले सरकार लोकप्रिय हुन्छ भनेर विकास निर्माणका काम रोक्न आग्रह गरेको बताएका छन्।
‘सरकारले लोकप्रिय हुने काम गरिसकेको छ, ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकप्रियताका लागि भन्दा पनि जनताका लागि काम गरिरहेका छौं।’
सरकार कोरोनाबाट जनतालाई बचाउन अनवरत रूपमा लागेको प्रधानमन्त्री ओलीले बताएका छन्।
कोरोनाविरूद्ध लड्न हरेक व्यक्ति सिपाही भएकोले यसलाई परास्त गर्न सबैको उस्तै दायित्व हुने उनले बताए।
‘विभिन्न देशबाट खोप ल्याउने प्रक्रिया चलिरहेको छ। हामी खोप ल्याउँछौं र सबै नागरिकलाई खोप उपलब्ध गराउछौं’ प्रधानमन्त्री ओलीले भने।