एमाले वरिष्ठ नेता माधव नेपालले केपी ओली रायमाझीको नयाँ अवतार भएको आरोप लगाएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै नेपालले पार्टी निर्माणमा कुनै भूमिका नभएका ओलीले पार्टीका संस्थापक नेतालाई कारबाही गरेँ भन्नु हाँस्यास्पद रहेको बताए।
‘केपी ओली पार्टी सक्ने व्यक्ति हो। झलनाथ खनाल, म, मुकुन्द न्यौपानेलगायतका संस्थापक नेतालाई पार्टीबाट निष्काससन गर्नु अत्यन्तै भत्सर्नायोग्य कदम हो,' उनले भने, ‘उहाँकै कारण कम्युनिष्ट पार्टी बदनाम भयो। यस्तो व्यक्तिलाई पार्टीको नेतृत्व दिनुनै हाम्रो दूर्भाग्य हो। उहाँ रायमाझीको नयाँ अवतार हो।’
नेपाल कम्युनिष्ट पार्टीका पूर्व माहासचिव केशरजंग रायमाझी राजसभा स्थायी समितिका सभापतिसमेत बनेका थिए।कम्युनिष्ट आन्दोलनलाई दरबारमा बुझाउने कोशिस गरेको आरोप रायमाझीमाथि लाग्दै आएको छ।
वरिष्ठ नेता नेपालले ओलीले मार्क्सवादलाई आत्मसाथ समेत गर्न नसकेको आरोप लगाए।
'उहाँलाई लोकतन्त्र, संघीयता, गणतन्त्र केही पनि मन परेको छैन। उहाँ फासीवादी, अहंकारी स्वभावको व्यक्ति हो। उहाँमा देशभक्तिको भावनासमेत छैन,' उनले भने, ‘हामीले संवlधानको रक्षाका लागि संघर्ष गरेको, प्रतिगमनको विरोध गरेको उहाँलाई सह्य भएको छैन। उहाँलाई आलोचना, सुझाव केही मन पर्दैन। आफ्ना गफलाई सुनेर ताली बजाउने जमात चाहिएको छ।’
आफूहरू ओलीको कदमबिरूद्ध कानुनी र राजनीतिक लडाईँमा लागिरहने उनले बताए। लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुन जरूरि रहेको समेत उनको भनाई छ।
यस्तै पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन्।
'आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्। यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो।म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौ समेत हल्लिएको छैन’, उनले भने, ‘ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।'
वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि बिदाइ गर्नुपर्ने बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै खनालले प्रधानमन्त्री ओलीले जनताको लासमाथि राजनीति गरेको समेत आरोप लगाए।
यस्तै नेकपा (एमाले) बाट निश्कासनमा परेका अर्का नेता भीम रावलले आफूहरुलाई गरेको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन्।
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’ उनले भनेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।
बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो।
यस्तै आजको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
स्पष्टीकरण मागिनेमा एमाले उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा सांसद्हरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, मेटमणि चौधरी, यज्ञ सुनुवार, भवानी प्रसाद खापुङ, दिपक प्रकाश भट्ट र नारायण खतिवडा छन् ।