आगामी ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ। निर्वाचनमा गृह मन्त्रीसमेत रहेका एमालेका उम्मेद्ववार रामबहादुर थापा बादल र कांग्रेस-माओवादी समर्थनमा उम्मेदवार बनेका खिमलाल देवकोटा प्रमुख प्रतिसपर्धी हुन्।
निर्वाचनमा वागमती प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत हाल्न पाउनेछन्। एमालेसँग भएको गणितलाई आधार मान्ने हो भने बादलले सहजै चुनाव जित्नेछन्। तर एमालेको गणित एमालेको पक्षमा मात्रै छैन। किनकि, कांग्रेस-माओवादी समर्थनमा उम्मेद्वावार बनेका देवकोटालाई एमाले वरिष्ठ नेता झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल पक्षको समर्थन छ। नेता नेपालकै आग्रहमा कांग्रेस-माओवादीले देवकोटालाई साथ दिएका हुन्।
राष्ट्रिय सभा निर्वाचनमा एक प्रदेश सांसदको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुकको समान १८\१८ मतभार हुन्छ।
सबैभन्दा बलियो मानिएको एमालेको मतभार ५ हजार १ सय ३० छ। कांग्रेसको २ हजार २ सय ८० छ भने माओवादी केन्द्रको १ हजार ६ सय ९८ हुन्छ। तर आफूहरूसँग १ हजार ७ सय ४ मतभार रहेको खनाल-नेपाल पक्षको दावी छ। त्यसैले एमालेको मत विभाजित छ। यसमा केही तलमाथि भए पनि देवकोटाले सहजै निर्वाचन जित्ने उनीहरूको दावी छ।
खिमलालको हकमा आफ्ना पक्षका मतदाता तलमाथि नहुने खनाल-नेपाल पक्षीय एक प्रदेश सांसदले सेतोपाटीलाई बताए।
‘खिमलालजी स्थानीय तहकै क्षेत्रमा काम गरेको व्यक्ति हो। उहाँ वागमती प्रदेश सरकारको योजना आयोग उपाध्यक्षसमेत भइसक्नुभएको छ। त्यसैले हाम्रो मत तलमाथि हुँदैन,’ ती सांसदले भने, ‘पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले सामुहिक रूपमा हस्ताक्षर गरेर निर्णय गरे भने मात्रै हाम्रो निर्णय परिवर्तन हुनसक्छ। तर अब त त्यो सम्भावना देखिदैन। किनकि, परिस्थिति धेरै अघि बढिसकेको छ।’
२०७५ जेठ २ मा जान आफू तयार भएको भनेर ओलीले पार्टी बैठक बोलाइदिएको भए सबै कुरा मिलिसक्ने भन्दै ती प्रदेश सांसदले कार्यदलले समेत काम गर्न सक्नेमा आशंका व्यक्त गरे।
‘अब त केपी ओली र माधव नेपालले भनेर मात्रै पनि हुने अवस्था छैन। तलसम्म विवाद पुगिसकेको छ। त्यसका लागि पार्टीमा काम भएको प्रत्याभूति हामीलाई हुनुपर्छ,’ अर्का सांसदले भने, ‘अहिले त माधव नेपाल र केपी ओली छलफल मात्रै गरेको हो। कुरा मिलिसकेको त होइन नि।’
ओलीले पछिल्लो समय पार्टी एकताका लागि गरेको प्रयास बादल जिताउने रणनीति मात्रै भएको खनाल-नेपाल पक्षधर वागमती प्रदेश सांसदको आशंका छ। आफूहरूलाई अहिले पनि ओलीले दाउपेच गरेको जस्तै लागेकाले दाउपेचको शिकार नहुने उनीहरूले चेतावनीसमेत दिएका छन्।
‘खिमलालजी हाम्रो उमेदवार हो भन्ने घामजस्तै छर्लङ्ग छ। हामीले त सांगठनिक रूपमा बादललाई चिनेको पनि छैन। तर खिमलाललजीले सबै मतदालाई चिन्नुभएको छ उनीहरूले पनि चिनेका छन्’, खनाल-नेपाल निकट अर्का एक जनप्रतिनिधिले सेतोपाटीसँग भने, ‘केपी ओलीले एक मिनेटमा गर्न सक्ने कामलाई अनेक गरेर अलमल्याएका छन्। अब त्यसको परिणाम पनि विस्तारै भोग्दै जान्छन्। सधैंभरि उपभोगको राजनीति चल्दैन।’
निर्वाचनका लागि सहयोग माग्न बादल आज मात्रै नेपाल निवास कोटेश्वर पुगेका थिए। तर नेपालले खिमलाललाई यसअघिनै आफूले सहयोग गर्ने बचन दिइसकेको बताएका थिए।
बादललाई वागमती प्रदेशमा १ सय ३२ मतभार रहेको राप्रपाले समेत सहयोग गर्ने भनेको छ। १ सय ३२ नै मतभार रहेको नेमकिपाले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ। १ सय ४४ मतभार रहेको विवेकशील साझा पार्टीले कुनै निर्णय गरेको छैन। ६६ मतभार रहको जसपा बादलको विपक्षमा छ।
एमाले महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले बादललाई मत दिन आफ्ना प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष\उपाध्यक्षलाई ह्वीप जारी गरेका छन्। उनले बादललाई राखेर ओली पक्षधर जनप्रतिनिधिसँग छलफलसमेत गरेका थिए।
वागमती प्रदेशकी सांसद रचना खड्काले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले कुनै किसिमको ह्वीप जारी नगरेको दाबी गरिन्।
अर्का सांसद लक्ष्मण लम्सालले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षले बादललाई उम्मेदवार बनाएको र वरिष्ठ नेता नेपाल पक्षले खिमलाललाई उमेदवार बनाएको प्रतिक्रिया दिए।
‘कमरेड बादल पनि एमाले उम्मेदवार होइन र खिमलला पनि होइनन्’, उनले भने, ‘दुवै उम्मेदवार आफूहरूका लागि उस्तै हो।’
बादल २०७४ सालमा बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। एमाले-माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादलको कार्यकाल ६ वर्षको थियो। तर २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादी एकता भंग गरिदिएसँगै बादल एमाले प्रवेश गरेका हुन्। बादल एमाले बनेपछि उनको पूर्व पार्टी माओवादीले कारबाही गरेको हो।