एमाले वरिष्ठ नेता माधव नेपालनिकट केन्द्रीय सदस्यहरूले २०७५ जेठ २ बाट पछि हटेर सहमति नगर्न सुझाव दिएका छन्।
नेपाल निकट केन्द्रीय सदस्यहरूको जुम बैठकमा सहभागीहरूले पार्टी एकता जरुरी भए पनि आफ्नो अडान छोड्न नहुनेसमेत बताएका थिए।
शुक्रबारको बैठकमा २० जना भन्दाबढी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
‘केन्द्रीय सदस्यहरूले पार्टीलाई २०७५ जेठ २ को संगठनात्मक ढाचामा लैजानुपर्नेमा स्पष्ट कुरा राख्नुभएको छ। पार्टी एकता जरुरी छ तर ओलीको जालमा भने पर्नु हुँदैन भन्ने धारणा आएको छ,’ केन्द्रीय सदस्य निरज आचार्यले सेतोपाटीसँग भने, ‘आफूलाई चाहिएको बेलामा प्रयोग गर्ने अलमल्याउने अनि नचाहिएको बेलामा किनारा लगाउने ओली प्रवृत्तिसँग सचेत रहन जरुरी छ।’
बैठकमा वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बिहीबारको भेटबारे ‘ब्रिफिङ’ गरेका थिए।
जेठ २ मा फर्किन अध्यक्ष ओली तयार भएको र सहमतिका लागि कार्यदल गठन गरिने जानकारी नेपालले गराएको समेत आचार्यले बताए।
केन्द्रीय सदस्यहरूको जुम बैठक शनिबार पनि बस्नेछ।