प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ मा फर्किन तयार भएका छन्।
बिहिबार भएको छलफलमा ओली ७५, जेठ २ मा फर्कन तयार भएको र आफूले राखेको प्रस्तावमा सकारात्मक देखिएको वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।
‘मैले फागुन २८ गतेबाट पछि हट्ने कि, नहट्ने, जेठ २ मा पुग्नेकि, नपुग्ने भनेर भनेको छु। उहाँले मैले पनि त्यही गर्न चाहेको छु भनेर सकारात्मक जवाफ दिनुभएको छ,’ नेपालको भनाई उद्धृत गर्दै एक नेताले सेतोपाटीसँग भने, ‘ओलीजीले फागुन २८ को कदम फिर्ता लिएर जेठ २ मा कसरी फर्कने विषयमा कर्यदल बनाउने प्रस्ताव गर्नुभएको छ। उहाँले जेठ २ मा जानै मिल्दैन भन्नेमा म छैन भनेर समेत भन्नुभएको छ।’
नेपाल निकट ती नेताका अनुसार अब दुई पक्षका बिचमा कार्यदल बन्नेछ। कार्यदलले कसरी पार्टीभित्रको विवाद अन्त्य गर्ने भनेर निर्णय गर्नेछ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको संरचनामा लैजानुपर्ने अडान राख्दै आएको छ।
उनीहरूले त्यतीबेलैको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो अनि केन्द्रीय कमिटी हुनुपर्ने माग राखेका छन्। जिल्ला कमिटीहरू र जनवर्गीय संगठनसमेत नवौं महाधिवेशन अनुसारकै हुनुपर्ने अडान नेपाल पक्षको छ। तर प्रधानमन्त्री केपी ओलीले भने नेपाल पक्षलाई सहभागि नगराई सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाएका छन्।
दुई नेताबीच बुढानिलकण्ठ, चपलीस्थित ब्यापारी रामेश्वर थापाको घरमा बैठक भएपछि वरिष्ठ नेता नेपालले वार्ता सकारातमक भएकाले आज दिने भनिएको सांसदहरूको राजीनामा रोकिएको प्रतिक्रिया दिएका थिए।
नेपाल पक्षले सहमतिका लागि ओली तयार नभए आज सांसद पदबाट राजीनामा दिने चेतावनी ओलीलाई दिएका थिए।
‘अब पनि केपी ओली सुध्रिएनन् भने विश्वास गर्न सकिँदैन भन्ने हुन्छ। उनले ढाट्छन् मात्रै भन्ने भावना बढ्छ,’ नेपालको भनाई उदृत गर्दै नेपाल निकट ती नेताले भने, ‘आज मात्रै राजीनामा रोकिएको हो। ओली सहमत भएनन् भने भोलिको निम्ति राजीनामा तयार नै छ।’
वरिष्ठ नेता नेपालले वैशाख २६ गते मध्यरातमा ओलीलाई लेखेको ६ बुँदे प्रस्ताव सहितको पत्रसमेत बुझाएका छन्। नेपाल आफैंले पत्र पढेर हस्ताक्षर गरेर सो पत्र बुझाएका थिए।
ओलीलाई नेपालले ढाँटको निम्ति खाइ पत्याउनु जस्तो नहोस् भनेर समेत सचेत गराएका थिए।