आन्तरिक विवाद उत्कर्षमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू र बरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल सकिएको छ।
नेपालसँग छलफल गर्न ओली पक्षीय नेता बिष्णु पौडेललगायत बिहीबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए।
कोटेश्वरमा भएको छलफलमा पौडेलले नेता नेपालसँग २०७५ जेठ ३ अघिको एमालेको स्थायी कमिटी बैठक बसेर बाँकी विषयमा छलफल गर्न प्रस्ताव गरेको स्रोतले जानकारी दियो।
पौडेलको प्रस्तावमा नेता नेपालले त्यसपछि जिल्ला/प्रदेशमा बनाइएका नयाँ कमिटीबारे के गर्ने त? भनेर प्रश्न गरेका थिए।
जवाफमा पौडेलले त्यसका लागि कार्यदल बनाउन सकिने बताएका थिए।
त्यसपछि नेपालले 'यो तपाईंहरूको अलमल्याउने बाटोमात्रै हो' भनेको स्रोतले बतायो।
दुई पक्षबीच कुरा नमिलेपछि छलफल सकिएको छ।
एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।
नेपालसँगको छलफल सकिएपछि ओली पक्षीय स्थायी कमिटीको बैठक बालुवाटारमा बसेको छ।
यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।
प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज (बिहीबार) राति ९ बजेसम्मको समय दिएकी थिइन्।
उक्त समय सकिने दिन ओली पक्षीय नेताहरू छलफलका लागि नेता नेपालको निवासमा पुगेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसेको संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।
ओलीलाई त्यसरी प्रधानमन्त्री हुन नदिन नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने चर्चा चलिरहेको छ।