प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग दोस्रो दिन वार्ता गरेका एमाले नेता माधवकुमार नेपालले वार्तामा कुनै प्रगति नभएको बताएका छन्।
बिहीबार दिउँसो वार्ता सकेर मेरियट होटलबाट बाहिरिएपछि सेतोपाटीसँग कुरा गर्दै नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको बताए।
'कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो,’ नेपालले भने।
आजको वार्तामा पनि नेता नेपालले अध्यक्ष ओलीसँग उनले २०७७ फागुन २८ गते गरेका निर्णय फिर्ता गर्दै पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा लैजानु पर्ने बताएका थिए।
ओली भने उनको मागमा सहमत भएनन्।
बैठकमा ओलीले १० गतेको केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गरेका थिए। बैठकमा आएमा निलम्बन फुकुवा गर्ने ओलीको प्रस्तावलाई नेपालले अस्वीकार गरेका थिए।
वार्ता सकेर प्रधानमन्त्री ओली होटलबाट बाहिरिएपछि उनका आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेता नेपालसँग छलफल गरेका थिए।
दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भइरहेको दाबी गरे।
'उहाँहरूबीच वार्ता सकारात्मक भइरहेको छ किनकी दुबै नेता पार्टी फुटाउन चाहनुहुन्न,’ दुगडले संवाददाताहरूसँग भने।
दुगड बुधबार पनि ओली-नेपाल वार्ता हुँदा मेरियट होटलमै थिए।
'तपाईं यो वार्ताको सहजकर्ता हो?' भन्ने प्रश्नमा उनले आफू दर्शकदीर्घामा बस्नमात्र आएको प्रतिक्रिया दिए।