आफ्ना समूहका नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न थालेपछि नेपाल समूहले समानान्तर कमिटी गठन गर्ने योजना बनाएको छ।
एमाले अध्यक्ष ओलीले सोमबार वरिष्ठ नेता माधव नेपाल र नेता भीम रावललाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका छन्।
यसअघि ओलीले नेपाल र रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधेका थिए।
नेपाल निकट नेता रघुजी पन्तका अनुसार ओलीको पछिल्लो कदमले पार्टी झन विभाजित र अन्यौल बनाएको भन्दै विधान विपरित आयोजक कमिटी बनाएको समेत बताए।
अदालतको फैसला अनुसार पार्टी २०७५ जेठ २ को अवस्थामा पुगेको भन्दै अब त्यही अनुसार पुनर्गठन गर्नुपर्ने उनको दाबी छ।
‘पार्टीको विधान विपरित समानान्तर कमिटी गठन भएको छ। केन्द्रीय कमिटीको विघटन र आयोजक कमिटी गठन अवैधानिक छ,’ उनले सेतोपाटीसँग भने, ‘अब हामी वडा तहसम्मै कमिटी बनाउँछौ। विगतका केन्द्रीय कमिटी, जिल्ला कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन्।’
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरणसदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि सेतोपाटीसँग कुरा गर्दै नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन। कुन पार्टीबाट?, ओलीको पार्टीबाट?’, उनले भने, ‘एमालेबाट निलम्बन गर्ने कुनै अधिकार उहाँसँग छैन। उहाँ एमालेको अध्यक्षनै होइन।’
नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए।
उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी गर्दै भने, ‘उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो। एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यसकारण यो कारवाही वा निलम्बनको कुनै अर्थ छैन।’