नेकपा एमालेले स्पष्टिकरण सोधेका सोही पार्टीका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतालाई स्पष्टिकरण सोधेर बाँकी नेताहरुलाई धम्क्याएको बताएका छन्।
'यो दुर्भाग्यपूर्ण काम भयो', सेतोपाटीसँगको कुराकानीमा भुसालले भने, 'रोममा दासहरुले विद्रोह गरेका थिए। विद्रोह गर्नेलाई त्यहाँका शासककले झुण्ड्याएर अरु दासहरुलाई तर्साउन गरेका थिए। अहिले हाम्रो पार्टीमा चार जनालाई तर्साएर अरुलाई धम्क्याउने काम भएको छ।'
उनले प्रधानमन्त्री ओलीको धरातल खस्किदैँ गएको बताए।
'उहाँ पार्टीको नेता चुनिनु भयो, सबैले मान्यौ', भुसालले भने, 'उहाँको धरातल खुम्चिदैँ चार जनाले स्पष्टिकरण दिनुपर्ने ठाउँमा पुगेको छ।'
उनले आफूले ओलीको मागेको कुरा दिन नसकेका कारण स्पष्टिकरण सोधिएको टिप्पणी गरे।
'उहाँले जे माग्नुभयो त्यो मैले कहिल्यै पनि दिन सकिनँ', भुसालले भने, 'उहाँले आफूलाई महान्, सक्षम, प्रजातान्त्रिक आदर्शवान नेता मानेर मलाई गुटको सदस्य बनाउन चाहनुभएको थियो। त्यो म भइनँ। त्यो मान्न सकिनँ।'
उनले पार्टीगत हिसाबमा स्पष्टिकरणलाई नलिएको बताए। 'पार्टीले गरेको काम भनेर हामीले यसलाई लिएका छैनौँ', भुसालले भने, 'पार्टीका नेता क्रमशः गुटको नेता बन्नुभयो। गुट पनि सामूहिक छैन। अझ उहाँ त्यो गुटको पनि गिरोहको सरकार प्रमुख जस्तो बन्नुभएको अवस्था छ।'
एमालेका चार नेतामाथि सोधिएको स्पष्टिकरणलाई भुसालले 'गिरोहको स्टेटमेन्ट' को संज्ञा दिए। 'उहाँले अझै धेरै भत्काउनुहुन्छ। परिणाम के हुन्छ भने यसबाट उहाँको अन्तिम दिन सुरु हुन्छ', भुसालले भने, 'वास्तवमा यो ओली व्यक्तित्वको विघटन भइरहेको छ।'
नेकपा एमालेको चैत ७ गते बसेको केन्द्रीय समिति बैठकले वरिष्ट नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।