झलनाथ खनाल र माधव नेपाल समूहले केपी ओलीको एकलौटी निर्णय नमान्ने भएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीले एकतर्फी, एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर उक्त निर्णय गरेका हुन्।
बानेश्वरस्थित होटल अर्यालमा बसेको बैठकले विधान विपरीत आएको ओलीको निर्णय मान्न नसकिने भन्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निश्कर्ष निकालेको हो।
‘केपी ओलीको एकतर्फी निर्णय मान्न सकिन्नँ,’ एक स्थायी कमिटी सदस्यले बैठकमा भएका निर्णय सुनाउँदै भने, ‘विधान र कानुन विपरीत केपी ओलीले गरेको एकतर्फी निर्णय मान्ने कुरै छैन। अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी पुनः छलफल गरेर निर्णय गर्छौं।’
ओलीको निर्णय पार्टी नियमावली र विधि अनुसार नभएको भन्दै विधि र कानुन विपरीत बसेको बैठकको कुनै वैधानिकता नभएको नेता रघुजी पन्तले बताए।
उनले भने, ‘यसलाई हामी अवैध मान्छौं। यो तरिकाको बैठक पार्टी विधान विपरीत छ। हामी स्वीकार्दैनौं, यो बैठकले पार्टीलाई विभाजनमा लैजान्छ।’
ओलीको यो निर्णय आलोचनायोग्य भएको भन्दै पन्तले थप भने, ‘जसरी बैठकको कुरा बाहिर आएको छ, यो विधान विपरीत छ। छलफल हुँदैछ, मूलत: हामी यसमै केन्द्रित छौं। प्रतिशोध साँध्ने हिसाबले गरिएको कारवाही विधि विधान विपरीत छ। केन्द्रीय कमिटी बैठक नै बसेको छैन। यस्तो अवस्थामा ओलीको निर्णय अमान्य छ। हामी यसको प्रतिकार गर्छौं।’
आजको बैठकले ओलीको कदमलाई प्रतिवाद गरेर अघि जाने निष्कर्ष निकालिएको नेता भीम रावलले जानकारी दिए।
उनले नेकपा एमालेमा दशकौं रगत पसिना बगाएका देशभरिका सम्पूर्ण कार्यकर्ताहरूलाई केपी ओलीको स्वेच्छाचारी कामको विरोध गर्न आह्वानसमेत गरेको बताए। ‘हामीले यो अनाधिकृत, गुटगत, स्वेच्छाचारी र विधानविपरीत काम अस्वीकार गर्छौं। नयाँ ढंगबाट अघि बढ्ने हिसाबले छलफल गरेका छौं,’ रावलले भने।
रावलले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न ओली लागिपरेको आरोप लगाउँदै ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी गर्न खोजेको बताए।
उनले ओलीले पार्टीमा निर्लज्ज र अनैतिक मान्छेहरू हुलेको भन्दै आक्रोशसमेत पोखेका थिए। नेता रावलले ओलीले पार्टीमा आफूहरूलाई बाइपास गरेर गएपछि नेपाली कम्युनिस्ट आन्दोलन बचाउन आन्दोलन थाल्ने जानकारी दिए ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शुक्रबार नवौं केन्द्रीय बैठक राखेर पुनर्गठन गरेका थिए। ओलीले एकलौटी प्रदेश इन्चार्च तोक्दै अध्यक्ष र सचिवसमेत चयन गरेपछि झलनाथ-माधव समूह आक्रोशित छ।