जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले तीन वर्षमा कुर्सीको खेलबाहेक केही नगरेको आरोप लगाएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै जसपा वरिष्ठ नेता महतोले दुई तिहाइको जनमतले आफूहरूका माग पुरा गर्न चासो नदेखाएकाले विश्वास गर्ने आधार नभएको बताए। उनले आफ्नो पार्टीले अब जसलाई समर्थन गरे पनि उधारो सहमतिमा नगर्ने स्पष्ट पारे।
कसैलाई समर्थन गर्ने नाउमा पार्टी विभाजन नहुनेसमेत उनको भनाई छ।
'हाम्रो प्राथमिकता सत्ताभन्दा एजेण्डा हो भन्नेमा हाम्रो पार्टीमा एकमत छ। वैकल्पिक शक्तिको लागि यो पार्टी बनेको हो। गोलचक्करमा फस्न बनेको होइन,' उनले भने, 'केपी र प्रचण्डका लागि झगडा गरेर पार्टी फुटाउन थोडी पार्टी जोड्या हो। विभिन्न पार्टीमा विद्रोह गरेर पार्टी बनाएको हो। फुट्न होइन जुट्नका लागि पार्टी बनाएका हौं।'
सरकार निर्माणमा कसलाई समर्थन गर्ने, सत्ता साझेदारी गर्दा पार्टीमा एकमत हुन्छ कि, हुँदैन भन्ने लगायतका विषयमा सेतोपाटीका लागि सन्जिब बगालेले जसपा वरिष्ठ नेता राजेन्द्र महतोसँग भिडिओ कुराकानी गरेका छन्। यस कुराकानीका मुख्य अंश यस प्रकार छन्।
- सरकारसँग मात्रै होइन हामीले सबै पक्षसँग आफ्ना मुद्दाका बारेमा वार्ता गर्न टोली बनाएको हो। विप्लवलाई छोड्दा हाम्रो सांसद रेशम चौधरीलाई किन नछोडेको भनेका थियौं। त्यही बेलामा प्रधानमन्त्रीले कसरी छोड्ने भनेर छलफल गर्न को-को पठाउने हो पठाउनुस् भनेपछि रेशमको सन्दर्भमा वार्ता गर्न पठाइएका हौ।
- रेशमको मुद्दा हामीले तीन वर्षदेखि उठाएका हौं। आन्दोलन त सबैले गरेका छन्। आन्दोलनमा सरकारबाट मारिन्छन् कहिले आन्दोलनकारीबाट सुरक्षाकर्मी मारिन्छन्। टिकापुरमा त षड्यन्त्र भएको हो। आन्दोलनकारीलाई आन्दोलनकारीकै जस्तो व्यवहार गरिएको छ तर सबैलाई एउटै हुनुपर्छ।
- केपी ओलीले पनि बन्चरोले मान्छे मारेको होइन? अनि प्रचण्डको नेतृत्वमा भएको जनयुद्वमा १७ हजार मारिएको हो नि। विप्लवको आन्दोलनमा पनि मान्छे मरेकै हुन् तर रेशमलाई मात्रै विभेद किन?
- राजपाले तीन वर्षदेखि रेशमको सन्दर्भमा पटक पटक कुरा गरेको छ। पार्टीको हितको लागि २४ घण्टा पञ्चायती गर्नुपर्छ भन्ने होइन। पार्टी एकताका लागि ८ जनाले गरेको हो भनेर महन्थजीले भन्दिनुभएको छ। राम्रो कामको लागि छलफल हुनैपर्छ भन्ने छैन। यो सबै मिडियाले द्वन्द्व गराउन खोजेको हो। पार्टीमा झगडा होस् भनेर चाहनेले गरेको हो।
- वार्ता टोलीले कुरा गर्दा अरू हालचाल त सोध्छ नि। त्यसमाथि संकटमा परेको सरकार छ। त्यही भएर यस्ता कुरा भइहाल्छन्।
- रेशमको रिहाइ, जेलमा रहेका साथीहरू छुटाउनुपर्यो मुद्दा फिर्ता लिनुपर्यो संविधान संशोधनको सवालमा सम्बोधन हुनुपर्यो। हाम्रो सम्बोधन हुने अवस्थामा सहयोग गर्ने हो।
- यी पार्टी र नेतालाई हामीले चिनेका छौ। संविधान बनाउने अनुहार देखेका छौं। हामीलाई गोली ताकी ताकी हानेर रक्त रञ्जित संविधान बनाउने यिनै हुन्। म गर्छु भनेर मात्रै हुँदैन। केपी ओली र प्रचण्डको सरकारले खोइ रेशमको मुद्दा फिर्ता लिएको? यीनको अनुहार देखेको छैन। दुई तिहाइको कम्युनिष्ट सरकारले केही गर्ने सक्यो त?
- -जसले काम गर्छ, जसले समस्या समाधान गर्छ त्यसलाई हामीले मान्ने हो। सरकारले नै हाम्रो माग पुरा गर्ने हो, तर सरकारले गरेन।
हेर्नुहोस् भिडिओ