जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको साथ लिएर एमालेसँग सत्ता साझेदारको लागि प्रयास गरेका छन्।
सत्ता साझेदारीका लागि ठाकुरले पूर्व समाजवादी र राजपाकै केही नेतालाईसमेत जानकारी नगराइ कार्यदल बनाएको खुलेको छ।
जसपाको तर्फबाट कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल र सांसद लक्ष्मणलाल कर्ण छन्। शुक्ल ठाकुर निकट हुन् भने कर्ण महतो निकट हुन्।
'केही दिनअघि ठाकुरजीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नुभएको थियो। त्यहीँ बेला कार्यदल बनाउनुभएको हो,’ जसपाका एक नेताले सेतोपाटीसँग भने, ‘यसबारेमा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई जानकारी छैन। पूर्व राजपाकै पनि कतिपय नेतालाई थाहा दिइएको छैन।’
जसपाभित्र सत्ता गठबन्धनका लागि दुई धार देखिएको छ। भट्टराई र यादवले वर्तमान प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले सहकार्य गर्नै नहुने अडान लिएका छन्। तर ठाकुर र महतो भने ओलीसँग सहकार्य गर्ने विषयमा खुला छन्।
समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो। तर यी दुई दलको संसदीय दलका नेता फरक-फरक छन्।
केपी शर्मा ओलीलाई बहुमत पुर्याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्।
सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।
यो पनि हेर्नुहोस्