जनता समाजवादी पार्टीको संसदीय दल बैठक मंगलबार बस्दैछ।
सिंहदरबारमा अपरान्ह १ बजे बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल हुने जसपा सांसद एवम् पार्टी नेता मोहम्मद इस्तियाक राईले सेतोपाटीलाई बताए।
'अहिलेको अवस्थामा सांसदहरूको के राय छ भनेर बुझ्न लागिएको हो,’ उनले भने, ‘सरकारमा कुन पार्टीसँग सहकार्य गर्ने भन्नेमा अहिले निर्णय हुँदैन। यो निर्णय पार्टीले गर्छ।’
जसपाका नेता केशव झाले पार्टीका एजेण्डासँग सहमति गर्नेसँग सहकार्य हुनसक्ने बताए।
'संसदीय दलमा धेरै विषयमा छलफल हुँदैन। सरकारमा जाने\नजाने अहिले नै निर्णय हुँदैन,’ उनले भने, ‘एजेन्डाका आधारमा कोसँग सहमति गर्ने भनेर हामी निर्णय गर्छौ।’
राष्ट्रिय जनता पार्टी र जनता समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बीच एकता भएको थियो। दुबै पार्टीका १७\१७ सांसद थिए। तत्कालीन राजपा र समाजवादी पार्टीका एक-एक सांसद निलम्बनमा परेकाले अहिले जसपामा ३२ जना सांसद कायम छन्।
सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने भन्नेमा जसपामा दुई धार देखिएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री ओलीइतरको गठबन्धनका पक्षमा खुलेर उभिएका छन्।
जसपा अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीप्रति पनि सकारात्मक नै रहेको एक जसपा नेताले बताए।
केहीगरी जसपा फुटेर तत्कालीन राजपाका १६ सांसदले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरे भने उनको नेतृत्वको सरकारले संसदमा बहुमत पुर्याउन सक्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आफ्नो पार्टीबाहेक थप १७ जना सांसद चाहिन्छ। समाजवादी पार्टीका सांसद औपचारिक रूपमा एउटै पार्टीको नबनेकाले साबिकको राजपा र समाजवादी पार्टीमध्ये एउटा पार्टीका सांसद र एक जना स्वतन्त्र सांसद भएमा ओलीसँग बहुमत पुग्छ।
संसदमा राप्रपाका राजेन्द्र लिङ्देन, जनमोर्चीकी दुर्गा पौडेल र नेमकिपाका प्रेम सुवाल स्वतन्त्र हैसियतमा छन्।
नेकपा एमालेभित्र १२० सांसद कायम रहे पनि एक जना समानुपातिक सांसदको मृत्यु भएकाले ओलीले तत्कालै अर्को सांसद नियुक्त गरेर १२१ पुर्याउन सक्छन्।
यसरी हेर्दा ओलीलाई सत्तामा टिकिरहन जसपाभित्रको राजपाको निर्णायक भूमिका देखिन्छ।