नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनीतिक आग्रहले प्रेरित भएको निष्कर्ष निकालेको छ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले नेकपा आधिकारीकताको सन्दर्भमा गरेको फैसलामा असहमती राखेको हो। पार्टीले फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने पनि निर्णय गरेको हो।
बैठकमा पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको निर्णयले आफूहरूलाई अफ्ठ्यारो पारेको भन्दै सर्वोच्चको निर्णय कार्यन्वयन गर्ने बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।
ती सदस्यका अनुसार प्रचण्डले सर्वोच्चको आदेशलाई हामी अलग अलग बस्नपर्ने बाध्यता भएको बताएका थिए।
‘सर्वोच्चको निर्णयले बडा अफ्ठ्यारो वातावारण बनायो। बेग्ला बेग्लै जानुपर्ने भयो। ३०० सय भन्दा बढी प्रतिनिधि निर्वाचित भएका छन् तिनीहरूको हैसियत के हुने हो त्यसबारे समिक्षा गर्नुपर्नेछ,’ प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने।
उनले अलग अलग भए पनि विगतका पाठ सिक्दै फेरि एकतालाई अगाडि बढाउन गृहकार्य जारी राख्ने बताए। उनले पुनरावेनमा पनि जाने भन्दै सर्वोच्चले मागै नगरेको कुरा फैसला गरेकोमा आपत्ति जनाएका थिए।
यस्तै माधव नेपालले सर्वोच्चको निर्णयले हामी उता र उता भएको भन्दै अहिलेको समय आफूहरूको लागि अत्यन्त गाह्रो समय भएको प्रतिक्रिय दिएका थिए।
उनले आफुहरू नेकपामै गए पनि ओली प्रवृत्ति र ओलीको स्वेच्छाचारिता विरूद्ध लड्ने बताए।‘अब हामी ओलीलाई हटाउँछौं। जरूरी पनि छ’, उनले भने।
आजको बैठकपछि निर्णय सुनाउदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरेको बताए।
‘फैसला कार्यान्वयनको प्रक्रियामा जाने क्रममा अदालतले भने अनुसार तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले बन्ने नै भयो । यद्यपी हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि जादैँछौ। राजनीति ढंगले त हामिले यसको असहमती र प्रतिवाद गरेकै छौँ । त्यस क्रममा हामिले पार्टी एकताको उदेश्य सही भएको र पार्टी एकताको कार्यपनि सहि भएको कारणले यस प्रक्रियामा अगाडी बढ्न जे सम्भव छ त्यो पहलकदमीलाई जारी राख्छौँ,’ श्रेष्ठले भने।
प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर राजनीतिक फैसलाको रुपमा फैसला गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए। उनले भने, ‘बैठकले सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको माग, दाबीभन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रूपमा लिइएको छ । पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामको बारेमा निष्कर्ष निकाल्नुपर्ने आदेश गर्नुपर्ने यसको उत्तरदायित्व, जिम्मेवारी हुँदाहुँदै त्यो भन्दा बाहिर गएर फैसला गरिएको छ। पार्टीको नामको बारेमा रिट निवेदकको दाबी अनुसार फैसला हुँदा हामीले त्यसलाई स्वागत नै गर्ने थियौं तर रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर कुनै राजनीतिक पार्टीको एकता गर्ने नगर्ने र कुनै एकीकृत पार्टीलाई विभाजन गर्ने जुन फैसला सर्वोच्च अदालतले सुनाएको छ त्यसप्रति हाम्रो गम्भीर असहमति छ। यो अस्वभाविक छ । अनुपयुक्त छ । गलत छ र त्यसैले यो फैसलाप्रति हाम्रो गम्भिर असहमती हामिले राखेका छौँ । सर्वोच्च अदालतको फैसला प्रति हाम्रो गम्भिर असहमती हुदाहुँदै पनि अदालतको फैसला आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने कुरा स्पष्ट नै छ । यस सन्दर्भमा हामीले राजनीतिक रुपमा आफ्नो दृष्टिकोण र विचार राख्ने र त्यसलाई अगाडि बढाउने, कानुनी ढंगले पनि उपयुक्त उपचार खोज्ने, संघर्ष गर्ने प्रक्रिया पनि अगाडी बढाउने छौँ ।’
प्रचण्ड–नेपाल समूहको रूपमा यो अन्तिम बैठक रहेको प्रवक्ता श्रेष्ठले बताए। अब सर्वोच्च अदालतको फैसला अनुसार तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूतिने भएको छ। नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने यस अघि नै प्रतिक्रिया दिइसकेको छ ।