नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नहुने बताएका छन्।
सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरेपछि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले यसअघि सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताअनुसार नै आफूहरू अघि बढ्ने बताए।
यो फैसलाको अर्थ के हो?
हामी सबैको मेहनतले राम्रो भयो। यो फैसला वास्तवमा संविधानको भावना र मर्मअनुसारको फैसला हो। सर्वोच्च अदालतले संविधानको भावना र अक्षरलाई सम्मान गर्ने ढंगले फैसला गरेको छ। त्यसका लागि म उहाँहरूलाई बधाई दिन्छु।
यो नेपाली जनताको जित हो, लोकतन्त्रको जित हो, संविधानवादको जित हो। प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक थियो। त्यसविरूद्ध आन्दोलनमा लागेका सबैप्रति हार्दिक बधाई छ।
अब तपाईंहरूले राजनीति कसरी अगाडि लैजानुहुन्छ?
राजनीति सहमतिको बाटोबाटै अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ। यो कुरा हामीले सार्वजनिक रूपमा पनि भनेका छौं। सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताभन्दा बाहिर हामी जाँदैनौं।
त्यो भनेको तपाईंहरूको पार्टी नेकपाभित्र पनि सहमतिको हुन्छ भन्नुभएको हो?
होइन, होइन, होइन। केपीसँग सहमति हुँदैन। केपीसँग कुनै सहमतिको सम्भावना छैन।