नेपाली कांग्रेस आन्दोलन छाडेर महाधिवेशनमा केन्द्रीत हुने भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सडक आन्दोलनको नेतृत्व गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्न सशक्त आन्दोलन चाहे पनि सभापति शेरबहादुर देउवा मानेनन्।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले तीन चरणमा विरोध तथा सभा गरेको थियो।
वडा र निर्वाचन क्षेत्र र जिल्ला सदरमुकामहरूमा आन्दोलन गरेको कांग्रेसले अब भातृ संस्थाहरूले महाधिवेशनलाई प्रभाव नपार्ने गरी विरोध कार्यक्रम गर्न सक्ने बाटो खुला राखेको छ।
बिहीबार केन्द्रीय समितिबाट १४ औं महाधिवेशन घोषणा गरेको कांग्रेसले प्रतिनिधि सभा विघटनबारे थप आन्दोलन भने जारी गरेको छैन।
कांग्रेसले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चले निरूपण गर्ने भन्दै महाधिवेशनतर्फ ध्यान दिएको हो। सभापति देउवाले ‘अदालतको ढोकामा जुलुस लैजाने पक्षमा कांग्रेस छैन’ भन्दै यो विषय अदालतलाई छाडेका छन्।
कांग्रेसले महाधिवेशन प्रयोजनका लागि सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद पनि थपेको छ।
संविधानको सहारा लिएर विधानमा व्यवस्था गर्ने गरी छ महिना म्याद थप भएको छ। देउवाको कार्यकाल फागुन ७ मा सकिँदै थियो, अब भदौसम्म म्याद रहन्छ।
कांग्रेसले भदौमै महाधिवेशन गर्ने गरी कार्यतालिका पनि प्रकाशित गरेको छ। यसअघि पटकपटक कार्यतालिका बनाए पनि महाधिवेशन भएको थिएन।
भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कांग्रेसको निर्णय छ। जसअनुसार गाउँ, नगर वडा अधिवेशन २०७८ असार ५ गते हुनेछ।
गाउँ/नगरपालिका अधिवेशन २०७८ असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७८ साउन १ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ साउन ३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ साउन ६ गते हुनेछ।
प्रदेश अधिवेशन २०७८ साउन १० र ११ गते र केन्द्रीय महाधिवेशन २०७८ भदौ ७, ८, ९ र १० काठमाडौंमा हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यो मितिमा महाधिवेशन गर्न नसके कांग्रेसमाथि वैधानिकताको प्रश्न उठ्छ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सिध्याउनुपर्ने हुन्छ। तर अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाएको छ। अरू जिल्लामा क्रियाशील वितरण जारी छ। सिन्धुपाल्चोक, बारा र सप्तरीमा समायोजनका काम नसकिएकोले क्रियाशील फारम नै पुगेको छैन।
कांग्रेसले फागुन १५ गतेभित्र यी जिल्लाको समायोजन सक्न निर्देशन दिएको छ। पार्टीभित्रका गुट र विजयकुमार गच्छदार नेतृत्वको पार्टीबाट आएका नेता/कार्यकर्ता कांग्रेसमा समायोजन गर्ने विषयमा केही जिल्लामा विवाद देखिएका छन्।
राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिले समायोजन विवादबारे अध्ययन गरिरहेको छ। विवाद समाधानपछि यी जिल्लामा क्रियाशील फारम पठाइनेछ। क्रियाशील वितरणको काम वडाले गर्ने र समायोजन नभएका ठाउँमा संगठन नै नहुने हुँदा क्रियाशील फारम पठाइएको छैन।
लेखकको संयोजकत्वमा क्रियाशील छानविन समिति

कांग्रेसले क्रियाशील सदस्यताबारे छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा समिति गठन गरेको छ।
कांग्रेस विधानको धारा २५ को ९ अनुसार क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको हो।
आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरूङ र योगेन्द्र चौधरीलाई सभापति देउवाले सदस्य मनोनित गरेका छन्।
यो समितिले क्रियाशील सदस्ता सम्बन्धी विवाद देखिएमा निरूपण गर्नेछ। कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवाद हरेक महाधिवेशनमा उठ्ने गर्छ।