प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आफ्ना केन्द्रीय सदस्यहरुलाई नगारिकतासहित उपस्थित हुन निर्देशन दिएको छ।शुक्रबार १२ बजे पेरिस डाँडामा उपस्थित हुन केन्द्रीय कार्यालयको तर्फबाट मोबाइलमार्फत खबर गरिएको छ।
‘पार्टीबाट १२ बजे उपस्थित हुन खबर आएको छ। तर त्यसको कारण खुलाइएको छैन’, केन्द्रीय सदस्य ठाकुर गैरेले सेतोपाटीलाई बताए।
पार्टीले बोलाएका कारण काठमाडौं बाहिरबाट आजै आएकाले थप जानकारी नभएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए।
स्रोतका अनुसार प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यहरू शुक्रवार निर्वाचन आयोगमा उपस्थित हुँदैछन्।
'भोलि १२ बजे भेला भएर एक बजे निर्वाचन आयोग जाने तयारी छ। हामी श-शरीर उपस्थित छौं। हामी जिउँदा मान्छेको किन गणना भएन भनेर आयोगलाई भन्ने हो,' उनले सेतोपाटीसँग भने, 'नागरिकतासहित बहुमत केन्द्रीय सदस्य आयोग पुगेर किन आधिकारिकतामा ढिलो गरेको भन्ने हो।'
नेकपाभित्रको विवादलाई आयोगले अझै टुंगो लगाइसकेको छैन। गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत केन्द्रीय सदस्यको बैठकले कारबाही गरेको छ।
ओलीको ठाउँमा वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बनेका छन्। विवाद बढेसँगै प्रचण्ड-नेपाल पक्षले ओलीलाई कारबाही गरेको र ओली पक्षले १५ सय १ जनाको केन्द्रीय कमिटी बनाएको पत्र आयोगमा पठाएको थियो।
तर आयोगले माघ ११ गते दुवै पक्षको निर्णयलाई आधिकारिकता नदिने जानकारी गराएको थियो। आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई भने मान्यता दिएको छ।
प्रचण्ड नेपाल पक्षले माघ २० गते निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएका थिए। नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये २ सय ७३ जनाको हस्ताक्षर रहेको प्रचण्ड-नेपाल पक्षधरको दावी छ।
तर आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन।