जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले वैशाखमा निर्वाचन हुँदैन भनेर निर्वाचन आयोगले हात उठाइसकेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै यादवले वैशाखमा निर्वाचन नहुने निष्कर्षमा सबैजसो राजनीतिक दल पुगेको दाबी गरे।
'वैशाखमा चुनाव हुँदैन भनेर सबै स्पष्ट छन्। सबैले महसुस गरिसकेका छन्। निर्वाचन आयोगले पनि हात उठाइसक्यो निर्वाचन हुँदैन भनेर। नहुने निर्वाचनमा हाम फाल्ने कुरा आउँदैन,' उनले भने,'प्रतिगमनलाई सच्याउने हो कि चुनावको प्रचारमा जाने भन्ने हो। एउटा राजनीतिक आन्दोलनकारीका लागि लोकतान्त्रिक अधिकार महत्वपूर्ण हो। यो असंवैधानिक कदमको खारेजी महत्वपूर्ण हो। आज यसमा सिंगो राष्ट्र करिब-करिब एक ठाउँमा छ।'
उनले संयुक्त आन्दोलनबाट प्रतिगमनलाई सच्याउनु पर्ने बताए। त्यसका लागि छलफल भइरहेकोसमेत उनले बताए।
'केही साथीहरूले अदालतले बदर गर्छ भनेर पर्खिनुभएको छ। संयुक्त आन्दोलनका लागि कांग्रेससँग पनि छलफल भइरहेको छ,' उनले भने,'केहीबाहेक,कांग्रेसको ठूलो पंक्ति आन्दोलनकै पक्षमा छ। कांग्रेस सभापति शेरबहादुर देउवा विरोध र समर्थन दुबैमा हुनुहुन्न। तर उहाँले प्रधानमन्त्रीको कदमलाई गलत हो भन्नुभएको छ।'
जसपाको कार्यकारिणीले सर्वसम्मतिबाट प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भनेकाले यसमा कुनै विवाद नरहेको यादवले बताए।
जसपा अध्यक्ष यादवसँग गरिएको भिडिओ कुराकानीका मुख्य अंश:
-प्रतिगमनलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। त्यसविरूद्धमा हामीले देशव्यापी विरोध कार्यक्रम गरेका छौं। अहिले पनि जारी छ। हामीले यो प्रतिगमनलाई स्वीकार्न सक्दैनौं भन्ने स्पष्ट छ।
-सर्वोच्चले चुनावको पक्षमा फैसला गर्दा मुलुकमा झन् द्वन्द्व र अस्थिरता निम्तिन्छ। प्रतिगमन गर्ने प्रधानमन्त्रीले चुनावको घोषणा गर्ने अनि मन्त्रिमण्डल फेर्ने, सरुवा-बढुवा र कल्पनाका विकास बाँड्नुभएको छ। यसले पनि थाहा हुन्छ कि उहाँले चुनाव चाहनुभएको छैन।
-अदालतले संविधानमा टेकेर गर्छ भन्ने छ। अन्यथा भए चुनावको अर्थ हुँदैन। दुई वर्ष बाँकी छ, त्यसपछि निर्वाचन हुनुपर्छ। हामी सबै निर्वाचनबाट आएकोले कोही पनि भाग्दैनौं।
-लोकतन्त्रलाई समाप्त पारेर निरंकुशता लादेर हुने निर्वाचनको के अर्थ हुन्छ? पञ्चायती व्यवस्थामा पनि निर्वाचन भएको थियो। तर कांग्रेस कम्युनिष्टले भाग लिएनन्।
-संसद पुनर्स्थापना भएपछि सरकार बनाउने होडबाजी चल्न सक्छ तर मुलुक ट्रयाकमा हिँड्छ। संविधानवादअनुसार चल्छ।
-पार्टी एकता कोरोनाकै बीचमा भयो। त्यसपछि प्रतिगमन भयो। हामी एकताको काममा लागेका छौं। फुटाउन जति सजिलो हुन्छ जुटाउन कठिन हुने रैछ। धेरै हण्डर खाएर जुटेकाले यताउता गर्ने पक्षमा कोही छैनन्।
-बाबुरामजीले कम्युनिष्ट पार्टी छोडिसक्नुभएको छ। हामीले पनि छोडिसकेका छौं। हाम्रो र प्रचण्डको विचार मिल्दैन।व्यक्तिगत रूपमा उहाँहरूको सम्बन्ध छ। व्यक्तिगत सम्बन्ध बिगार्न जरूरी पनि छैन।
-प्रचण्ड-नेपाल नेतृत्वको नेकपासँग प्रतिगमनका विरूद्ध लोकतन्त्र जोगाउन हाम्रो सहकार्य हुन्छ। हाम्रो पार्टीले नेकपाको नियति भोग्ने कुनै सम्भावना छैन।