नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माडीमा राम जन्मिएको पुष्टि भए सबभन्दा बढी खुसी आफू नै हुने बताएका छन्।
मंगलबार चितवनमा पत्रकारसँगको अन्तर्क्रियामा उनले पहिले पुरातत्व अन्वेषणबाट राम जन्मिएको पुष्टि गरिनु पर्ने बताए।
‘पुरातत्व अन्वेषणबाट त्यो प्रमाणित भयो मेरो निर्वाचन क्षेत्रमा अयोध्या हो, मेरै निर्वाचन क्षेत्रमा राम जन्मिएको हो भन्ने पुष्टि भयो, त्यसलाई स्थापित गर्न सकियो भने नेताहरूमध्ये सबैभन्दा खुसी मेरै भागमा पर्छ नि त। म त्यसको किन विरोध गर्ने?,’ उनले भने, ‘प्रचण्ड सिध्याउन त्यो ल्याएँ भन्ठान्नुभएको छ उहाँ, प्रचण्ड त झन् खुसी हुन्छ नि आफ्नो निर्वाचन क्षेत्रमा अयोध्या र राम जन्मिएको प्रमाणित भएमा।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राम मन्दिरको कुरा राजनीति गर्नका लागि र प्रचण्ड सिध्याउने अभियानका लागिमात्रै गरेको आरोप लगाए।
‘मेरो चुनौती के हो उहाँलाई भने तपाईं त्यस्तो कुरो त बडो ब्लफ दिनुभएको छ, पुरातात्विक अन्वेषण गरेर त्यसलाई स्थापित र प्रमाणित गर्न तपाईंले के गर्नुभो? त्यहाँचाहिँ एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, होहल्लाचाहिँ ठूलो गर्ने?’ प्रचण्डले भने, ‘होहल्ला नगरेर प्रमाणित गर्न लाग्नुस् सबैभन्दा अगाडि बढेर तपाईंलाई सहयोग गर्छु भन्या छु मैले।’
उनले राम मन्दिरको कुरामा राजनीति गरेर प्रचण्ड सिध्याउने अभियान चलाउँछु भन्ठाने ओली आफैं गड्डामा पर्ने बताए।
गत माघ १७ गते चितवनमा गरिएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्यापुरी हो भन्न प्रचण्डलाई कसले रोक्यो भन्ने प्रश्न गरेका थिए। उनले प्रचण्डको चुनाव प्रचारका लागि माडी जाँदा आफूले माडीलाई मणि बनाउने उद्घोष गरे पनि प्रचण्ड नै ‘कुहिएको आलु’ निस्किएपछि आफूले केही गर्न नसकेको बताएका थिए।
त्यसको केही दिनमै ओलीले राम मन्दिरका लागि आफैंले निर्माण गर्न लगाएको राम र सीताको मूर्ति बालुवाटारमा सार्वजनिक गरेका थिए।
यस विषयमा प्रतिक्रिया दिँदै प्रचण्डले माडीलाई मणि बनाउने अभियानमा प्रधानमन्त्रीले साथ नदिएको दाबी गरे।
‘उहाँले भनेको सबै कुराको त म जवाफ दिन चाहन्नँ। उहाँ चितवनको विकास रोक्न बल गर्नुहुन्थ्यो, म ल्याउन बल गर्थें। हामीले जित्यौं, चितवनका जनताले जित्या हो र सिटीहल र ६ लेनको सडक आइपुग्या हो,’ उनले भने, ‘माडीलाई मणि बनाउने कुरा हामीले गरेकै हो। जति गर्नुपर्ने हो त्यो नभएकोमा पनि उहाँ नै मुख्य दोषी हुनुहुन्छ। विकास विरोधी सोचका बाबजुद् पनि माडी विकास भइरहेको छ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले माडीमा बिचल्लीमा रहेका चेपाङलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए।
‘म प्रधानमन्त्री भएको भए तुरुन्तै गर्थें। अहिले तपाईंले गर्नुभएन भनेर महलाई नसोध्नु,’ उनले भने।
उनले सुकुम्बासीको बसोबासको सवालमा धेरै गर्न खोज्दा प्रचण्डले कृषि र भूमिको विषयमा क्रान्ति ल्याउने भयो भन्ने ठानेर आफू निकटका मन्त्रीलाई हटाइदिएको आरोप लगाए।
‘सबैभन्दा इमान्दार मन्त्रीलाई हटाएर आफ्ना मान्छेलाई मन्त्री बनाउनुभयो। अहिले एकलौटी आयोग कब्जा गरेर किसानलाई भ्रम दिन सक्छु भन्ने ठान्नुभएको छ,’ प्रचण्डले भने, ‘यस्तो जालझेल नगरे हुन्थ्यो भन्ने मेरो सुझाव सधैँ रहन्छ।’
प्रचण्डले भरतपुरमा बन्दै गरेको सिटी हल, ६ लेन सडक विस्तारलगायतका कामको अनुगमन गरेका थिए। यी दुई योजनाको गत माघमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए।
पछिल्लो समय नेकपाको ओली र प्रचण्ड-नेपाल समूहका बीच चितवनमा भइरहेको विकासका काममा जस लिने होडबाजी चहिरहेको छ।
निर्वाचन आयोगले सूर्य चिन्ह फ्रिज गर्न मिल्दैन
प्रचण्डले निर्वाचन आयोगले सूर्य चिन्ह फ्रिज गर्न नमिल्ने बताएका छन्। आयोग आफैंले ४४१ सदस्य नै केन्द्रीय कमिटी हो भनिसकेपछि त्यसको बहुमतलाई मान्यता दिनै पर्ने उनले बताए।
‘निर्वाचन आयोग कसैको गोटी होइन, हुन हुँदैन,’ उनले भने, ‘बहुमतलाई मान्यता दिन्छ भन्ने लाग्छ।’
उनले प्रधानमन्त्रीको लोभले आन्दोलनमा लाग्यो भन्ने भ्रममा नपर्ने आग्रह गरे। अहिलेको आन्दोलन राष्ट्र, संविधान र लोकतन्त्रको निम्ति रहेको उनले बताए।
‘अहिलेको संकट समाधानका लागि प्रतिपक्षी पार्टीसँग पनि सहकार्य गर्ने र उहाँहरूको मागलाई सकारात्मक लिने कुरा पनि मैले गरिसकेको हुनाले अब मलाई प्रधानमन्त्री बन्नका लागि हो भनेर सोधिराख्न आवश्यक छैन,’ उनले भने।
उनले अहिले संयुक्त आन्दोलन गर्ने भन्ने प्रयास भइरहेको बताए।
‘शेरबहादुरजी, रामचन्द्रजी र जसपाका नेताहरुसँग कुरा भइरहेको छ केही दिनमा सुरू हुन्छ भन्ने लाग्छ,’ उनले भने।
यही अवस्थामा चुनाव भए देश अराजकताको भूमरीमा पर्छ
संविधानलाई डिरेल गर्न खोजिएकोले त्यसलाई ट्रयाकमा ल्याउन आन्दोलन आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरे।
असंवैधानिक र अलोकतान्त्रिक कदममार्फत् चुनाव भए त्यो पनि असंवैधानिक र अवैधानिक हुने भएकाले त्यस्तो चुनावले पनि देशको समस्याको हल नगर्ने उनले बताए।
‘कोही प्रधानमन्त्री भए उसलाई फेरि संसद विघटन गर्ने अधिकार पहिल्यै हुन्छ। त्यस्तो दुष्कर्म हामीले गर्न हुँदैन त्यसपछि त संविधानवाद भन्ने कुरा सकियो,’ उनले भने, ‘केही दिन भित्रमा फैसला आउँदैछ, पुनर्स्थापना हुन्छ।’
उनले यही अवस्थामा चुनाव भए देश अराजकताको भुमरीमा पर्ने बताए। देशमा दक्षिणपन्थी र वामपन्थी अतिवादी फैलन थाल्ने र देश भुमरीमा पर्ने उनको भनाइ छ।
‘प्रचण्ड त्यसमा त जाँदैन, शान्तिपूर्ण राजनीतिमै रहन्छ तर संविधान मिच्ने काम गरियो भने नेपाली जनता चुप लागेर बस्दैनन् कतै न कतैबाट आन्दोलनको अर्कै रूप सुरू हुन्छ,’ प्रचण्डले भने।
उनले ओली सूमहमै रहेका ९० प्रतिशत सांसद संसद विघटनको पक्षमा नरहेको दाबी गरे।
‘आफू नजिकको नेता भनेर उहाँहरूले ओली गुट छाड्न सक्नुभएको छैन तर उहाँहरूलाई छुट्टाछुट्टै भेटेर सोध्नुहोला विघटनको पक्षमा हुनुहुन्न,’ उनले भने।
प्रचण्डले ओलीले गणतन्त्र र संघीयता माने भन्ठानेर पार्टी एकता गरे पनि तीन वर्षको संगतपछि उनले मानेका रहेनछन् भन्ने बुझेको बताए।