नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले बाध्य भएर बिहीबार आमहड्ताल घोषणा गर्नु परेको बताएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त समूहकी नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थिति आएकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको बताइन्।
'बिहान मिर्मिरेमै संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाएको नाटक भयो। असंवैधानिक रूपमा सुनुवाइ नगरी सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा हो,’ भुसालले भनिन्,‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि देशव्यापी आमहड्तालको आह्वान गरेका छौं।'
उनका अनुसार भोलि अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने छ।
उनले पार्टीले अब प्रतिगमनविरूद्ध जुनसुकै कदम चाल्ने पनि उल्लेख गरिन्।
'हामी अब प्रतिगमनको खारेजीका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुन्छौं। यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेका छौं,' भुसालले भनिन्।
यसअघि नै प्रचण्ड-नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो तर त्यसमा आमहड्तालको कार्यक्रम थिएन।