बृहत नागरिक आन्दोलनमाथि सोमबार बालुवाटारमा भएको प्रहरी दमनको एउटा तस्बिरले धेरैको ध्यान खिच्यो– लाठी बोकेका प्रहरीलाई चुनौती दिँदै निडर भएर सडकमा लम्पसार एक युवकको।
धेरैले त्यो तस्बिर सेयर गर्दै उनको बहादुरीको प्रशंसा गरेका छन्। प्रहरीको लाठी र पानीको फोहरा बेवास्ता गर्ने ती युवक को हुन्? कुन चेतबाट प्रेरित भएर उनी त्यसरी बीच सडकमै लम्पसार परे?
उनी हुन्, विनोद देउवा। २१ वर्षे विनोद त्रिचन्द्र क्याम्पसमा अर्थशास्त्रमा स्नातक गर्दैछन्। उनी भन्छन्, 'शान्तिपूर्ण आन्दोलन भइरहेका बेला प्रहरी आक्रामक बनेर आयो। पार्टीका नेताले आन्दोलन गर्दा सुरक्षा दिइन्छ, नागरिकले लोकतन्त्रका लागि आन्दोलन गर्दा भने पानीको फोहरा र लाठी खानुपर्छ। जे गर्दा पनि हामी नागरिकमाथि दमन भइरहेकै छ, त्यसैले जे गर्छौ गर भन्दै सडकमा लम्पसार परेर मैले प्रहरीलाई आत्मसमर्पण गरेको हो।'
उनी त्यसरी सडकमा पल्टेको प्रहरीले भीड तितरबितर पार्न लाठी चलाएर पानी बर्साएपछि हो।
बालुवाटार गेटसम्म पनि पुग्न नदिई प्रहरीले दमन गरेपछि विनोद र उनका साथीहरू चुप रहन सकेनन्। प्रहरीले उनीहरूलाई त्यहाँबाट परसम्मै लखेटे। त्यसपछि उनीहरूले 'प्रहरी मेरो साथी' भन्ने नारा लगाए। यो सुनेर एकछिन त प्रहरी टक्क अडिए। उनीहरूको आँखामा हेरिरहे।
विनोद प्रतिगमनविरुद्ध आन्दोलनमा जोडिएको यो पहिलोपटक होइन।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि माइतीघरमा सुरू नागरिक आन्दोलनमै उनी जोडिएका थिए। त्यति बेला माइतीघर मण्डलमा विभिन्न रचनात्मक प्रदर्शनहरू गरिए। त्यहाँ थोरै मान्छेको समूह देख्दा आफूजस्ता एक–एक मान्छेको उपस्थितिले महत्व राख्छ भन्ने लागेको उनी बताउँछन्।
'जनतालाई हामी किन सडकमा आइरहेका छौं भन्ने बुझाउनै गाह्रो परिरहेको थियो। संसद विघटनले मान्छेको व्यक्तिगत जीवनमा कसरी असर पुर्याइरहेको छ भन्ने उनीहरूले बुझिरहेका थिएनन्,' त्यस बेलाको स्थिति चित्रण गर्दै विनोदले भने, 'त्यही बुझाउन सचेत नागरिकहरू सडकमा आउन जरुरी थियो।'
उनले अगाडि भने, 'लोकतन्त्र भनेको एकदिन भोट दिने कर्म होइन, मान्छे चुनेर मात्र पुग्दैन। लोकतन्त्र भनेको संविधान रक्षा गर्नु पनि हो। मान्छेले आफ्नो हक स्वतन्त्र रूपले उपभोग गर्न पाउनु पनि हो। प्रगतिशील समाज बनाउन भोट दिएर मात्र पुग्दैन भन्ने मान्छेले बुझ्न जरुरी छ।'
माइतीघर मण्डलको प्रदर्शनदेखि बृहत नागरिक आन्दोलनसम्म सहभागी विनोदले सामाजिक सञ्जालमार्फत् पनि प्रतिगमनबारे बुझाइरहेका छन्। सामाजिक सञ्जालमा केही लेख्दा उनी संविधानमा भएका व्यवस्था उल्लेख गर्छन्। आफूजस्तै युवाहरूसँग कुराकानी गर्दा पनि 'लोकतन्त्र खतरामा पर्नु भनेको आफ्नो भविष्य खतरामा पर्नु हो' भनेर बताउने गरेको उनी बताउँछन्।
राजनीतिप्रति चेत र चासो विनोदलाई सानैदेखि थियो। जनआन्दोलन, क्रान्ति, हिंसा लगायत शब्द सुन्दा उनलाई त्यसको पृष्ठभूमिबारे जान्नबुझ्न मन लाग्थ्यो। पश्चिमको डोटीमा जन्मिएका उनको गाउँमा राजनीति यसै पनि जनचासोको विषय छँदै थियो। राजनीतिक गतिविधिबाट टाढा रहँदा मान्छेहरू कसरी राज्यबाट ठगिन्छन् भन्ने उनले सानैमा अनुभव गरेका थिए। त्यसले पनि राजनीतिप्रति चाख बढाएको उनको भनाइ छ।
'केही गलत भयो भने बोल्नुपर्छ भन्ने मलाई जहिले पनि लागिरहन्थ्यो,' उनले भने।
आफ्नै समवयी साथीहरू धेरैलाई राजनीतिमा चासो नदेख्दा कहिलेकाहीँ विनोदलाई विरक्त लाग्छ। उनकै कतिपय साथीहरू 'मलाई राजनीति मन पर्दैन, बुझ्दिनँ' भन्दै विषयवस्तु पन्छाउन खोज्छन्। विनोदको विचारमा राजनीतिलाई पन्छाउनु भनेको समस्या पन्छाउनु हो, समस्या समाधानको बाटोसमेत पन्छाउनु हो।
'तपाईं संसारको जुनसुकै कुनामा पुगे पनि राजनीति जरूरी छ। त्यसका लागि नेता नै बन्नुपर्छ भन्ने छैन। तपाईं जुन पेसामा भए पनि राजनीति बुझ्नुभयो भने जीवन निर्वाह गर्न सजिलो हुन्छ,' उनले भने, 'यसले समाज सुधार्छ त भन्न सक्दिनँ, तर के गलत भइरहेको छ भन्ने चेत चाहिँ पलाउँछ।'
उनले यो पनि भने, 'हाम्रो दायित्व भोट दिने मात्र होइन। राज्यका हरेक नराम्रा निर्णयमा हामीले हस्तक्षेप र प्रश्न गर्नुपर्छ।'
विनोद यसअघि 'किताबमाथि कर' को विरोधमा सक्रियतापूर्वक लागेका थिए। त्यो बेला उनी र उनको समूहले 'किताबमाथि कर खारेज गर' भन्दै माइतीघर मण्डल, पाटन दरबार स्क्वायरदेखि सिंहदरबारसम्म किताब पढेर शान्तिपूर्ण आन्दोलन गरेका थिए।
त्यसअघि निजगढको आन्दोलनमा पनि उनी सरिक थिए। अहिले कमलपोखरी बचाउ अभियानमा पनि जोडिएका छन्।
बृहत नागरिक आन्दोलन कमलपोखरीमा माटोको टीका लगाउँदै सुरू भएको थियो। केही साताअघि सम्पदा अभियन्ताहरूले 'रानीपोखरीबाट महानगरपालिकालाई पाठ सिकाउन नसकेकोमा लज्जित भएको' भन्दै आफ्नै अनुहारमा माटो दलेका थिए। त्यो बेला विनोदले पनि आफ्नो अनुहारमा माटो दले।
त्यसको केही दिनपछि पुरातत्व विभागले महानगरपालिकालाई पत्राचार गर्दै कमलपोखरीमा भइरहेका सम्पदाविरूद्ध गतिविधि रोक्न पत्र लेख्यो। महानगरले भने त्यसै रात पोखरीमा डोजर हुल्यो। त्यो दिन पाँच जना अभियन्ता डोजर आतंक रोक्न कमलपोखरी पुगेका थिए। तीमध्ये विनोद पनि एक थिए।
उनलाई लाग्छ– कमलपोखरीको लडाइँ वैज्ञानिक, धार्मिक र प्राकृतिक त हो नै, नयाँ पुस्ताको भविष्यको लडाइँ पनि हो।
'काठमाडौंका केटाकेटीको बाल्यकाल खोसिएजस्तो लाग्छ। उनीहरूलाई खेल्न खुला ठाउँ नै छैन,' उनले भने, 'वातावरण नै प्रदूषित भएपछि उचित बसोबास खोज्दै यहाँका मान्छे पछि कहाँ जाँदा हुन्?'
वातावरण, संस्कृति, सम्पदा, राजनीति, समाज लगायत सबै कुरा विनोदको चासोका विषय हुन्। तर यस्ता सार्वजनिक सरोकारका विषयमा राज्यले कुनै सरोकार नदेखाउँदा उनी दिक्दारी पोख्छन्।
'राज्यले संरक्षण गर्नुपर्ने कुरालाई हामीले उल्टै आन्दोलन गरेर माग्नुपरेको छ,' उनले भने।
काठमाडौंमा एक्लै बस्ने विनोद आफ्नै चासोले यस्ता नागरिक आन्दोलनमा पुग्छन्। उनी आन्दोलनमा लाग्दा परिवारलाई भने चिन्ताले सताउँछ। भन्छन् रे, 'किन जानुपर्यो? केही हुन्न आन्दोलनमा गएर।'
उनी परिवारलाई सम्झाइबुझाई गर्छन् र फेरि सडकमा पुगिहाल्छन्। 'आफ्नो हक–अधिकार निम्ति लड्न सडकमा जान जरूरी छ,' उनले भने, 'आन्दोलनबाट परिवर्तन सम्भव छ।'
नागरिक आन्दोलनमा सोमबार भएको प्रहरी दमनपछि लेखक एवं अभियन्ता नारायण वाग्लेले भनेका थिए, 'अब तेस्रो जनआन्दोलन सुरू भयो।'
उनको यो भनाइलाई विनोदले आफ्नै किसिमले बुझेका छन्, 'अर्को आन्दोलन भनेको पहिलाजस्तो सडकमै ओर्लिनुपर्छ, प्रहरीको लाठी नै खानुपर्छ, हुलदंगा गर्नुपर्छ भन्ने होइन। आन्दोलन भनेको व्यक्तिगत चेतना स्तर उकास्नु पनि हो। यो आन्दोलन पहिलाजस्तो द्वन्द्वात्मक हुने छैन।'