‘आलोकजी यता आउनुस् त,’ लेखक तथा नागरिक आन्दोलन अभियन्ता नारायण वाग्लेले सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरलाई बोलाए।
‘ल अब हामीलाई माटोको टीका लगाइदिनुहोस्।’
आलोकले कमलपोखरीको माटो हातमा लिए र वाग्लेसहित नागरिक आन्दोलनका सम्पूर्ण अभियन्ताको निधारमा पालैपालो टीका लगाइदिए।
टीका शुभकार्यको संकेत हो। हामी दसैंमा आफूभन्दा ज्येष्ठको हातबाट टीका लगाएर आशीर्वाद थाप्छौं। पूजा गरेपछि ईश्वरको नाममा टीका लगाउँछौं। सँगसँगै, साइत पारेर घरबाट निस्कँदा यात्रा शुभ रहोस् भनेर पनि टीका लगाउँछौं।
कमलपोखरीको माटोको टीका पनि नयाँ यात्रामा लम्केकाहरूले साइत पारेर लगाएका थिए। यो संविधान र सम्पदामाथि भइरहेको प्रतिगमनविरुद्ध संयुक्त आन्दोलनको थालनी थियो।
संविधान रक्षार्थ आन्दोलित नागरिक अभियन्ता र सम्पदा अतिक्रमणविरुद्ध आन्दोलित अभियन्ताहरूले सोमबार दिउँसो दुई बजे कमलपोखरीमा भेला भएर संयुक्त आन्दोलन ‘बालुवाटार मार्चपास’ को थालनी गरे।
यसमा लेखनकर्मी, रंगकर्मी, नाट्यकर्मी, मानवअधिकारकर्मी, चिकित्साकर्मी लगायत विभिन्न पेसाकर्मीका साथै सम्पदा अभियन्ताहरू सरिक थिए।
कमलपोखरी सम्पदा र संस्कृतिमाथि लामो समयदेखि हुँदै आएको प्रतिगमनको पछिल्लो विम्ब हो, जहाँ काठमाडौं महानगरपालिकाले रातारात डोजर हुलेको थियो। यही ठाउँको माटो टीका लगाएर अभियन्ताहरू बालुवाटारतर्फ बढे, जसलाई उनीहरूले निरंकुशता र प्रतिगमनको विम्ब भनेका छन्।
बाजागाजासहित शान्तिपूर्ण रूपमा बढेको मार्चपासलाई कमलपोखरीदेखि नै प्रहरीले पछ्याउँदै हिँडेको थियो।
वरिपरि प्रहरी घेराबीच बढ्दै गरेको मार्चपास बालुवाटारसम्म पुग्न पाएन। भाटभटेनीभन्दा अलिकति अगाडि प्रहरीको अर्को समूह बाटोमा तारजाली लगाएर कडा सुरक्षा दिएर बसेको थियो। त्यहाँ भीड तितरबितर पार्न पानीको फोहरा छ्याप्ने गाडी पनि तम्तयार थियो।
जसै मार्चपास त्यहाँ पुग्यो, सुरक्षाकर्मीहरूले उनीहरूलाई अगाडि बढ्न दिएनन्। बीच बाटोमा एउटा चौतारो थियो। आन्दोलनकारी अभियन्ताहरूले त्यही चौतारोलाई आफ्नो आवाज बालुवाटारसम्म पुर्याउने मञ्च बनाए।
सबभन्दा पहिला 'पोलिटिकल लिटरेसी फर वुमन' ले प्रतिगमनविरुद्ध कार्यक्रम प्रस्तुत गर्यो। त्यसपछि मानवअधिकारकर्मी मोहना अन्सारीले चौतारीमा उक्लेर आफ्नो मन्तव्य सुरू गरिन्।
‘हामी कमलपोखरीबाट मार्चपास गर्दै आएका थियौं, तर हामीलाई बालुवाटार गेट हेर्ने अनुमति छैन,’ उनले भनिन्, ‘हाम्रा प्रहरी दाजुहरू सँगसँगै हुनुहुन्छ। तपाईंहरूले हामीलाई सुरक्षा दिनुभएको कि बालुवाटारलाई?’
उनले अगाडि भनिन्, ‘हामी संविधान रक्षा गर्न कमलपोखरीबाट हिँडेका थियौं। कमलपोखरी र रानीपोखरीजस्ता सम्पदाको रक्षा होस् भन्ने आवाज बालुवाटरसम्म पुर्याउन आएका थियौं, तर हामीलाई बालुवाटारको गेट हेर्न पनि दिइएन।’
उनले यो पनि भनिन्, ‘हाम्रो कुरा एउटै थियो, २०७२ सालको संविधानको रक्षा होस्। तर रक्षा त तपाईंहरूले बालुवाटार गेटको पो गर्नुभएको रहेछ, हामीलाई रोकेर। हामी यहाँ केही लिन आएका होइनौं, संविधान रक्षा गर्न आएका हौं।’
अन्सारीपछि चौतारीमा उक्लिए डाक्टर गोविन्द केसी।
उनले भने, ‘सडकमै भाषण गरेर २००७ सालमा प्रजातन्त्र आयो, २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो र २०६२/६३ मा गणतन्त्र आयो। त्यो बेला त जनताको आवाज सुनियो भने, यो बेला नसुनिएला र?’
‘संविधान रक्षा गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको कर्तव्य थियो, तर उनी नै संविधानका भक्षक बने,’ उनले भने।
त्यसपछि चौतारीमा उक्लेका लेखक नारायण वाग्लेले प्रधानमन्त्री केपी ओलीको दम्भ बढ्दै गएको बताए।
‘प्रधानमन्त्रीले बालुवाटारलाई श्री ३ जंगबहादुरको निजी निवासजस्तो बनाउनुभयो,' उनले भने, 'प्रतिगमन त्यहीँबाट सुरू भयो।’
आफूमाथि षड्यन्त्र भइरहेको थियो भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति व्यंग्य गर्दै वाग्लेले भने, ‘प्रधानमन्त्रीमाथि षड्यन्त्र भइरहेको थियो रे! के षड्यन्त्र भने, अविश्वास प्रस्ताव आउँदै थियो रे! के अविश्वास प्रस्ताव आउँदैछ भन्ने डरले संसद नै भंग गर्दिने?’
‘प्रधानमन्त्री भन्नुहुन्छ, मलाई त खाली खुट्टा बालकोट हिँडाउनेवाला थिए! अरे बाबा, नेपाली जनताले खाली खुट्टा हातमा चप्पल बोकेर दौडँदै ल्याएको लोकतन्त्र होइन यो? अनि उनले चाहिँ खाली खुट्टा हिँड्न नहुने?’ वाग्लेले प्रश्न गरे।
उनले अगाडि भने, ‘हिजो नारायणहिटीबाट नागार्जुन जान हुने, आज बालुवाटारबाट बालकोट फर्कन नहुने? त्यसैले उनको अहंकारको श्रीपेच फुकालेरै छाड्न यो नागरिक आन्दोलन जुर्मुराएको छ र हामी अगाडि बढेका छौं।’
हिजो मन्दिर बनाउँछु भन्दै हिँड्नेले आज पूजा–आरती गर्दै हिँडेको बताउँदै वाग्लेले भने, ‘आज जो बालुवाटारमा बसेका छन्, यिनले संविधान पढेका छन् कि छैनन्? त्यो संविधानमा के लेखेको छ? त्यो संविधानमा धर्मनिरपेक्षता लेखेको छ। यिनले खलबल्याउन खोजेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वसहितको लोेकतन्त्र नै हो।’
‘उनी मन्दिर मन्दिर जाऊन्, हामी भने सहिदहरूको सम्झना गर्दै अघि बढ्ने छौं,’ उनले भने, ‘यो माघको महिना सहिदहरूको महिना हो। सहिदहरूलाई जहाँ-जहाँ झुन्ड्याइएको थियो, हामी त्यहाँ–त्यहाँ गएर सहिदहरूको सम्झना गर्नेछौं।’
वक्ताहरूको मन्तव्यबीच प्रदीप देवानले गीत प्रस्तुत गरे भने प्रणिका कोयूले कविता वाचन गरिन्। शिल्पी थिएटरको समूहले सडक नाटक प्रदर्शन गर्यो।
कार्यक्रम सकेर शान्तिपूर्ण रूपले बालुवाटार गेटतर्फ बढ्न खोज्दा एकाएक प्रहरीले लाठी प्रहार गर्न थाल्यो। भीडलाई लखेट्दै लठ्ठी हान्दा केही आन्दोलनकारी घाइते भए। प्रहरीले भुइँमा लडेकाहरूलाई पनि छाडेनन्। आन्दोलनकारीले घाइते साथीहरूलाई बाेकेर उपचार निम्ति दौडाएका थिए।
प्रहरीले यसरी शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेपछि आन्दोलनकारीहरू आक्रोशित भएका थिए। यसले केही बेर झडप भएको थियो।
त्यसलगत्तै पहिलेदेखि सडकमा तयार राखेको पानी छ्याप्ने गाडी साइरन बजाउँदै आयो। त्यही बेला सडकको अर्कोतर्फबाट थप सुरक्षाकर्मी परिचालन भए। आन्दोलनकारीहरूलाई सडकमा दुईतिरबाट घेरा हालेर पानीको फोहरा प्रहार गरियो। प्रहरीले सडकमा आन्दोलनकारीलाई ताकी-ताकी पानीको फोहरा हानेको देखिन्थ्यो। कतिपय आन्दोलनकारी भुइँमा ढलेका थिए। केही आन्दोलनकारी बेहोससमेत भए।
लाठी र पानीको फोहराबीच पनि आन्दोलनकारीहरू 'प्रतिगमन मुर्दावाद' भन्ने नारा लगाउँदै थिए।
घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारू, स्वर्णिम सन्देश, रामनरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको विभिन्न अस्पतालमा उपचार भइरहेको बृहत् नागरिक आन्दोलन तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।
गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। जैसीको सोमबार अबेरसम्म होस आएको छैन।
शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेर बर्बरताको परिचय दिएको वाग्लेले टिप्पणी गरेका छन्। प्रहरीको लाठीचार्ज र पानीका फोहराको सिकार उनी पनि भएका थिए।
‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो,’ उनले भने।
घाइतेहरूलाई सरकारले दया देखाएर उपचार खर्च दिनुनपर्ने उनले बताएका छन्। 'राज्यले घाइतेहरूको उपचार गर्नुपर्दैन,' उनले भने, 'हामी आफैं पैसा उठाएर घाइते साथीहरूको उपचार गर्नेछौं।'
नागरिक आन्दोलनमा सहभागी नेकपा नेता रघुजी पन्तले बालुवाटारको प्रहरी दमनलाई 'सरकारको असहिष्णुता र अलोकतान्त्रिक चरित्र' को संज्ञा दिएका छन्।
'नागरिक समाजका निहत्था अगुवाहरूमाथि दमन भयो। लोकतन्त्र भनेको नागरिकको सक्रिय सहभागिता हो। एउटा नागरिकका रूपमा ऐक्यबद्धता जनाउँदा म पनि घाइते भएँ,' उनले भने, '२०६२/६३ मा पनि मैले लाठी खाएको थिएँ। नागरिक समाजको सामान्य विरोध पनि सहन नसक्ने सरकारले लोकतन्त्रको कसरी रक्षा गर्न सक्छ?'
'जसरी नागरिकहरू संसद विघटनको विरोधमा निस्केका छन्, अब हरेक जिल्लाका हरेक सहरमा नागरिक उठ्नुपर्छ। थाप्लोमा लाठी खाएर प्रतिरोधको आवाज देशभर पुर्याउन अब हामी लाग्छौं,' उनले भने।
यो पनि हेर्नुहोस्: