राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनबारे भोलिदेखि सुरू हुने राष्ट्रिय सभा बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने बताएका छन्।
बिहीबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका लागि स्वतन्त्र रहेको बताए।
‘सत्तारूढ पार्टीमा समस्या उत्पन्न भएकाले केही जिज्ञासा उठेका छन्। राष्ट्रिय सभामा जनचासोको विषय उठ्छन्। सरकारलाई खबरदारी र निगरानी हुन्छ,' उनले भने,'प्रतिनिधि सभाको विघटनबारे सांसदहरूले कुरा उठाउँछन्। जनताबाट निर्वाचित प्रतिनिधि हुन्, उनीहरू स्वतन्त्र छन्। जनचासो र देशका समसामयिक विषयमा उठ्छन्। मर्यादित संयमित र शिष्ट तरिकाले उठ्छन्।'
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै अदालतमा विचाराधीन रहेको विषय राष्ट्रिय सभामा उठाउन नपाइने बताएका थिए।
'माननीयहरूले शून्य र विशेष समयमा आफ्ना कुरा राख्न त पाइहाल्नु हुन्छ, तर अदालतमा विचाराधीन विषयमा बोल्नुभयो भने म रूलिङ गर्छु,’ उनले भनेका छन्।
संसदीय दलका नेता शर्माले भने राष्ट्रिय सभाको गरिमा उचो राख्न सबै सचेत हुनुपर्ने भएकाले त्यहीअनुसार जनताका सरोकारका विषय उठ्ने बताए।
नीतिगत रूपमा सरकारलाई सहयोगसमेत राष्ट्रिय सभाले गर्ने शर्माको भनाइ छ। नेकपा औपचारिक रूपमा विभाजन नभइसकेकाले आफ्नो दलका सबै सांसदहरू एकै ठाउमा बस्ने उनको भनाइ छ।
‘दल औपचारिक रूपमा विभाजन भएको छैन। हामी सबै नेकपाका सांसद छौं। निर्वाचन आयोगले घोषणा नगर्दासम्म हामी एउटै दल हो,' उनले भने,'विभाजित भएपछि सांसद कसरी राख्ने भन्ने हो। अहिले हामी विचारमा स्वतन्त्र छौ तर बस्नका लागि एकै ठाउँमा छौं।'
प्रतिनिधि सभा विघटनबारे आफूले पनि शुक्रबारको बैठकमा धारणा राख्ने उनले जानकारी दिए।
जनप्रतिनिधिमूलक संस्था विघटन हुनु दुःखद रहेको उनको भनाइ छ।
‘प्रतिनिधि सभा विघटन गर्ने जुन इतिहास थियो। त्यो लामो परम्परा तोडन लागि त्यो दिशामा जान हुन्न है भनेर हामीले संविधानमा लेखेको हो,' उनले भने,'यतिखेर विघटन हुने काम भएको छ। यो दुःखको विषय हो। यसले पार्टी विभाजनको दिशामा समेत गएको छ। छँदाखाँदाका संस्था विघटन हुनु राम्रो होइन। जे भयो राम्रो भएन भन्ने मलाई लागेको छ।'
शर्मासँग गरिएको भिडिओ कुराकानी