नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापा 'बादल' अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन्।
प्रतिनिधि सभा विघटनको चार दिनसम्म अनिर्णित रहेका बादलले लामो छलफलपछि ओलीलाई रोजेका हुन्।
बादल ओली पक्षमा लागेको बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए। प्रचण्ड-नेपाल पक्षले नै बादल उतै गएको बताएको छ।
‘बादल बालुवाटारका भइसक्नुभयो। हिजो राति उहाँले ओलीलाई साथ दिने निर्णय गर्नुभएको हो,’ बादलनिकट ती केन्द्रीय सदस्यले भने,‘उहाँको कदमलाई कुनै पनि नेताहरूले साथ दिएका छैनन्।’
बादल ओलीतिर जाँदा भने एक्लै गएका छन्। उनका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी 'पथिक'सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन्।
यसअघि बादललाई आफ्नो पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए।
बादल र प्रधानमन्त्री ओलीबीच मंगलबार र बुधबार बालुवाटारमा लामो छलफल भएको थियो।