नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पटक पटक छल, बेइमानी गरेको बताएका छन्।
सोमबार बानेश्वरमा प्रचण्ड-माधव कुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीमा कल्पनै गर्न नसकिने छलकपट भएको बताएका हुन्।
‘उहाँमा(प्रधानमन्त्री) छल, बेइमानी यति धेरै भयो कि कल्पनै गर्न सक्दिनँ’, बैठकमा बोल्दै उनले भने।
संवैधानिक नियुक्ति विषयलाई लिएर प्रधानमन्त्रीले ढाँटेको उनले बताए।
‘उहाँले स्थायी कमिटीमै संवैधानिक नियुक्ति गरेको छैन भन्नु भयो तर उहाँ कमिटी बैठकमा नांगिनु भयो’, उनले भने।
आइतबार बिहान संसद भग्न हुनेबारे आफूलाई जानकारी आएकोबारे सोध्दा पनि त्यसबारे प्रधानमन्त्रीले केही नबताएको उनको दाबी छ।
‘आइतबार बिहान संसद भग्न हुनेबारे मलाई जानकारी आएको थियो। साढे ८ बजे प्रधानमन्त्रीसँग कुरा भयो। केही कदम चाल्ने भए छलफल गरेर चाल्न भनेको थिएँ’, उनले भने, ‘तर आकस्मिक बैठक राखेर यसो गर्नु भयो।’
यसका साथ उनले प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्ने बताए।
‘अब संसदीय दलबाट दलको नेता पर्सि चुन्छौं। अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्छ’, उनले भने,‘पार्टीको निर्देशन ध्यान दिएर संसदीय दलमा निर्णय गर्छौं।’
यो संविधानले संसद विघटनको अधिकार नदिएको भन्दै उनले प्रधानमन्त्रीलाई पनि उक्त अधिकार प्रयोग गर्ने अधिकार नभएको बताए।
‘यो संविधानले संसद विघटनको अधिकार दिएको छैन र प्रधानमन्त्रीलाई कुनै अधिकार छैन’, उनले भने,‘विगतको संविधानले परिकल्पना गरेको भए पनि अहिलेकोले दिएको छैन।’
प्रधानमन्त्री र राष्ट्रपतिबट दुवैबाट संसदको अधिकारको अपहरण भएको समेत उनले बताए।
हुँदै नभएको अधिकार प्रयोग गरेर संसदलाई बली दिने काम भएको उनको भनाइ छ।
उनले संसद विघटनविरूद्ध अहिलेसम्म ९० जना सांसदले हस्ताक्षर गरिसकेको समेत बताए।
संसदको अधिकार अपहरण भएको भन्दै आफूहरू अभिसप्तको सिकार भएको उनले बताए। उनले संसद जीवित नै रहेको बताए।
‘हाम्रो अधिकारको अपहरण भएको छ। हामीलाई मारिएको भनिएको छ। तर हामी ज्यूँदै छौं,’उनले भने,‘प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई मार्यौं भनेका छन् तर अब हामी जीवित छौं भनेर अदालतमा जाँदैछौं। झण्डै २ सय जनाको जुलुस लिएर सर्वोच्च गएपछि मर्यो भन्न मिलेन। सर्वोच्चले त्यो भन्न मिल्दैन।’