नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक मंगलबार बस्ने सम्भावना कम भएको छ।
संसदीय दलको नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीबाट हटाएपछि बैठक सर्ने सम्भावना देखिएको हो।
आफूविरूद्ध पेश भएको अविश्वासको प्रस्ताव लगत्तै दर्ता गरी बैठकसमेत आह्वान गरेपछि प्रमुख सचेतक शाहलाई मुख्यमन्त्री शाहीले कामकारबाही सन्तोषजनक नभएको भन्दै जिम्मेवारीबाट हटाएका थिए। उनको ठाउँमा पूर्वमाओवादीका तर्फबाट सांसद सीता नेपालीलाई नियुक्त गरिएको छ।
नवनियुक्त प्रमुख सचेतक नेपालीले अब बैठक छलफल गरेर पछि बस्ने बताइन्।
‘उहाँ जिम्मेवारीबाटै हटिसकेपछि उहाँले तोकेको बैठक बस्ने कुरा भएन, अब सल्लाह गरेर १५ दिनभित्र बस्छ,’ नेपालीले सेतोपाटीसँग भनिन्।
तत्कालीन प्रमुख सचेतक शाहले मंगलबार दिउँसो १ बजेका लागि अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएका थिए।
मुख्यमन्त्री पक्षधरहरू बैठक ढिलो गर्ने मनस्थितिमा रहेका बेला शाहले प्रस्ताव दर्ता भएलगत्तै बैठक तोकिदिएपछि मुख्यमन्त्री शाहीले उनलाई हटाइदिएका हुन्।
यता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद सुशील थापाले भने बैठक बस्ने जिकिर गरे।
‘उहाँ अविश्वासको प्रस्ताव दर्ता भएपछि दलको नेताबाट निलम्बित भइसक्नुभयो, मुख्यमन्त्रीमात्र हुनुहुन्छ,’ उनले भने, ‘मुख्यमन्त्रीजस्तो जिम्मेवार मान्छेले यस्तो गैरजिम्मेवार काम गर्नु हुँदैन, अन्तिममा उहाँले छडी हान्न खोज्नुभएको छ।’
यद्यपि मुख्यमन्त्री शाहीले आइतबारकै मिति राखेर शाहलाई प्रमुख सचेतकबाट हटाएको पत्र पठाएका छन्। सोमबार मुख्यमन्त्रीको निजी सचिवालयले उक्त पत्र सार्वजनिक गरेको छ।
उनी आइतबार नै पदमुक्त भएको र उनले बोलाएको बैठक वैध नहुने बनाउन खाजेको देखिन्छ।
मुख्यमन्त्रीका आकांक्षी समेत रहेका सांसद यामलाल कँडेलको नेतृत्वमा पूर्वमाओवादीका तीन जना सांसदसहित १८ जना सांसदले आइतबार संसदीय दलका नेता शाहीविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।