पार्टीभित्रको विवादका कारण साउन १३ गतेखि अनिश्चित भएको नेकपा स्थायी कमिटि बैठक आज बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुदैछ।
दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री हुने,अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम गर्ने,पार्टी एकताको काम एक महिनाभित्र सक्ने,महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने रहेको छ।
त्यस्तै मापदण्ड बनाएर संघीय र प्रदेश मन्त्रिमण्डल पुनर्गठन गर्ने, सीमा समस्या सुल्झाउन कुटनीतिक संवाद गर्ने,शान्ति प्रक्रियाका बाँकी काम १ वर्षभित्र सक्ने,एमसीसी परियोजनाको सम्झौता परिमार्जनसहित पारित गर्ने,कोभिड-१९ महामारीको रोकथाम,नियन्त्रण,उपचार र आर्थिक पुनरुत्थान गर्ने लगायत रहेका छन्।
पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा दुई अध्यक्षले राजनीतिक प्रस्ताव तयार परेका हुन्।
गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले भदौं ६ गते २ अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।
भदौं १८ गतेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश भएको थियो। विवादकै कारण असार १० गतेदेखि सुरू भएको स्थायी कमिटि बैठकमा राजनीतिक प्रस्ताव समेत पेश हुन सकेको थिएन।
राजनीतिक प्रस्तावमा दुई अध्यक्षबिच सहमति नभएपछि स्थायी कमिटि बैठकमा छलफलका एजेण्डा पेश भएका थिए।तिनै एजेण्डाका आधारमा अहिलेको राजनीतिक प्रतिवेदन तयार भएको हो।
कोरोना महामारीको प्रकोप भएकाले बैठकलाई धेरै नलम्ब्याउने दुई अध्यक्षको तयारी छ।
'दुई अध्यक्षका बिचमा सहमति भइसकेको छ। त्यसैले विवाद र बहसपनि धेरै हुँदैन होला', श्रोतले भन्यो,'बैठक सकेसम्म १ दिनमा सक्ने भन्ने नै हो। २ दिन भन्दा बढी जाँदैन होला।'