प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममा पाँच दिनभित्र पार्टीको ‘सिनारियो' परिवर्तन हुन्छ भनेका थिए।धेरैले पाँच दिनभित्र नेकपाको विवाद समाधान हुने अड्कल काटेका थिए। कतिले भने प्रधानमन्त्री ओलीको बोलीको भर नहुने तर्क गरेका थिए।
प्रधानमन्त्रीले बोलेको आज सोमबार पाँच दिन पूरा भएको छ। पार्टीको आन्तरिक विवाद हल नै त भएको छैन, तर समाधान उन्मुख भने देखिएको छ।
प्रधानमन्त्री ओलीले भनेको भोलिपल्टै अर्थात् बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग उनको भेटवार्ता भयो। लगत्तै ओली इतर समूहको भेलामा प्रचण्ड सहभागी भएका थिए। काठमाडौंको थापागाउँस्थित एक निजी कलेजमा भएको प्रदेश-५ का केन्द्रीय सदस्यहरूको उक्त भेलामा प्रचण्डले सन्तुलित धारणा राखेका थिए।
दुई अध्यक्षबीच शुक्रबार पनि भेट भयो। त्यही भेटले समस्या समाधानका लागि ६ सदस्यीय कार्यदल बनाउने निर्णय गर्यो।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल छन्। कार्यदल बनाउँदा समेत नेकपाभित्रको त्रिपक्षीय शक्ति सन्तुलन ख्याल गरिएको छ।
वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको रायअनुसार कार्यदललाई सोमबारको सचिवालय बैठकले अनुमोदन गरेको छ।
प्रधानमन्त्री ओलीले भनेजस्तै गरी नेकपाभित्रको ‘सिनारियो' परिवर्तन हुँदै गएको हो त भन्ने प्रश्नमा वरिष्ठ नेता खनालले पार्टीमा सकारात्मक सुरूआत भएको बताए। तर दिन गन्ती गरेर यति दिन, उति दिनमा समाधानमा पुग्न सकिन्छ भन्नु ठिक नभएको उनको भनाइ थियो।
'यति दिन, उति दिन भनेर समय तोक्नु ठिक होइन, तर पार्टीको आन्तरिक समस्या समाधान हुने एउटा प्रक्रियाको सुरूआत भएको छ,’ खनालले भने, ‘सकारात्मक बाटोमा जान्छ भनेर अपेक्षा गर्न सकिन्छ।'
खनालले सोमबारको सचिवालय बैठक सौहार्दपूर्ण तरिकाले सकिएको र कार्यदललाई अनुमोदन गरेकोसमेत बताए।
स्थायी समिति सदस्य एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले भनेको समयमा पार्टीको ‘सिनारियो' परिवर्तन भइसकेको दाबी गरे।
'प्रधानमन्त्रीले पाँच दिनभित्र हेर्नुहोस् भन्नुभएको थियो। यसबीच संवादहिनतामा बसेका अध्यक्षहरू छलफलमा बस्नुभयो। छलफलमा बसेको मात्रै होइन, त्यसको नतिजा आउने ढंगले काम भयो, कार्यदल बन्यो,’ उनले भने।
कार्यदलको म्याण्डेटका विषयमा सुरूमा केही विवादजस्तो देखिए पनि त्यसको हल भएको नेम्बाङले दाबी गरे।
'पार्टीले कार्यदललाई चिन्दैन भन्ने भाषा पनि आयो। अझै कुरा टुंगिएको छैन कि जस्तो पनि देखियो, तर त्यसलाई सचिवालयले सर्वसम्मतिले अनुमोदन गर्यो,’ उनले भने।
कार्यदलले अध्यक्षहरूको 'स्पिरिट'अनुसार काम गर्ने भन्दै नेम्वाङले सकारात्मक रूपमा काम अघि बढेको बताए।
'कार्यदल २४ घन्टे रफ्तारमा गएको छ। गम्भीर ढंगले काम भएको छ। आजभोलि नै टुंगो लगाउन खटिएको छ,’ उनले भने, ‘कार्यदलले समाधानको सूत्र निकाल्छ भनेर विश्वास गर्न सकिन्छ।'
कार्यदलमा रहेका प्रचण्ड-नेपाल पक्षधर एक सदस्यका अनुसार कार्यदलमा छलफल चलिरहेको र सकारात्मक ढंगले अघि बढेको बताए।
उनले पनि प्रधानमन्त्रीले भनेजस्तै नेकपाभित्रको ‘सिनारियो' परिवर्तन हुँदै गएको बताए।
'सिनारियो परिवर्तनबारे तपाईं के भन्नुहुन्छ आफैं भन्नुस्। वादविवाद अलि कम भएको छ,’ उनले भने, ‘समाधान गर्ने ट्युनिङमा कुराकानी भइरहेकाले सिनारियो त अलि बदलिहालेको छ नि!'
ती सदस्यका अनुसार नेकपाभित्रको विवाद समाधानका लागि बाहिर चर्चामा आएका विषयहरूमै केन्द्रित रहेर कार्यदलमा पनि छलफल भइरहेको छ।
नेकपाभित्र बदलिएको सिनारियोलाई लिएर विभिन्न खाले अनुमान पनि गरिएको छ।
यसअघि प्रधानमन्त्री केपी ओली निकट नेताहरूले नेकपाभित्रको समाधान उपाध्यक्ष वामदेव गौतमको प्रस्तावअनुसार हुने बताएका थिए।
साउन १३ गते उपध्यक्ष गौतमले प्रधानमन्त्री केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने र महाधिवेशनसम्म पार्टी अध्यक्ष रहनेसहितका ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए। सँगै उनले प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार दिनुपर्ने, मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक नियुक्तिमा पार्टीमा छलफल लगायत प्रस्ताव राखेका थिए।
स्रोतका अनुसार कार्यदलले पनि कार्यकारी अध्यक्षको कार्यक्षेत्र स्पष्ट पार्ने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, महाधिवशेन तयारीको खाका बनाउने लगायतका विषयकै वरपर रहेर छलफल गरिरहेको छ।
प्रधानमन्त्रीबाहेक दुई वर्ष कार्यकाल पूरा गरेका मन्त्री र मुख्यमन्त्रीहरू परिवर्तन गर्नुपर्ने विषय पनि कार्यदलमा छलफलको एजेन्डा बनेको कार्यदल निकट स्रोतले बतायो। त्यस्तै, राजनीतिक नियुक्तिहरू पार्टीको सिफारिसका आधारमा मात्रै गर्नुपर्ने विषयसमेत छलफलको एजेन्डामा छ।
प्रधानमन्त्री ओली प्रचण्डलाई महाधिवेशन आयोजक कमिटीको संयोजक बनाएर जान तयार रहेको प्रचण्ड-नेपालनिकट स्रोतले सेतोपाटीलाई बतायो।
'आयोजक कमिटी बनाउँदा त्यसले महाधिवेशनसँग सम्बन्धितबाहेक अरू काम गर्न पाइँदैन। त्यसो भएपछि प्रधानमन्त्रीलाई झन् सहज हुन्छ,' स्रोतले भन्यो, 'विधि, नीतिको कुरा गरेकाले त्यसमै रहेर अघि बढ्ने गरी सहमति हुन्छ होला।'
प्रधानमन्त्री निकट स्रोतका अनुसार दुई अध्यक्षबीच एक किसिमको सहमति भइसकेकाले कार्यदलले त्यसलाई थप मूर्तरूप दिन लागेको हो।