नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टीका वरिष्ठ नेता र केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन्।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गरी प्रचण्ड सिधै थापागाउँस्थित एक निजी कलेजमा आयोजित भेलालाई सम्बोधन गर्न गएका थिए।
उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुषाल, स्थायी कमिटी सदस्य गोकर्ण विष्टसहित प्रदेश-५ का दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए।
उनले उक्त कार्यक्रममा पनि बालुवाटार बैठकमा भएका केही कुरा सेयर गरेका थिए। त्यसपछि पार्टीका वरिष्ठ नेताहरूसँग अलग्गै कुराकानी गर्दै बालुवाटार बैठकबारे ब्रिफिङ गरेको प्रचण्डनिकट एक नेताले बताए।
'प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षको हैसियतले पूर्ण रूपमा पार्टी चलाउन मलाई आग्रह गर्नुभएको छ। उहाँलाई प्रधानमन्त्रीमा पाँचै वर्ष सहयोग गर्न पनि प्रस्ताव गर्नुभएको छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने।
अब बस्ने केन्द्रीय समिति बैठकमार्फत् महाधिवेशन आयोजक समिति र अन्य उपसमितिहरू बनाउने प्रस्ताव आएको पनि उनले जानकारी दिए। कतिपय प्रदेशका मुख्यमन्त्री र पार्टीका इन्चार्जहरू फेर्न सकिने प्रस्तावसमेत प्रधानमन्त्री ओलीले राखेको प्रचण्डले ब्रिफिङमा बताएका थिए।
स्रोतअनुसार सहमतिको खाका तयार पार्न भोलि शुक्रबार कार्यदल गठन हुनेछ। भोलिकै बैठकले कार्यदलमा को-को सदस्य रहने निर्धारण गरेर जिम्मेवार तोक्ने सम्भावना छ।
'विष्णु पौडेल र शंकर पोखरेलले ल्यापटपबाट सहमतिका प्रस्ताव पढेर सुनाउनुभएको थियो रे। त्यसमा प्रचण्ड कमरेडले सकारात्मक छ, पछि कुरा गरौंला भनेर आउनुभएको रहेछ,' भेलामा सहभागी अर्का नेताले भने, 'अहिलेसम्म भएका गल्तीको समीक्षा गरेर अघि बढ्नुपर्छ र पार्टी एकताको भावनाअनुसार काम गर्नुपर्छ भन्ने प्रस्ताव रहेको थियो।'
छलफल कुनै निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको भन्दै प्रचण्डले जानकारी गराएको केन्द्रीय सदस्य मेटामणि चौधरीले बताए। अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पनि पार्टीको बैठक गराउने विषयमा छलफल अघि बढ्नु सकारात्मक भएको बताइन्।
भेलामा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनका नाममा गुट चलाएको आरोप लगाएका थिए। प्रधानमन्त्रीले पार्टी फुटाउन खोजेको भन्दै उनले चार नेताको प्रतिबद्धता बदलिन नहुने बताएका थिए।
वरिष्ठ नेता नेपालले पार्टी विधि र पद्धतिका आधारमा चल्नुपर्ने धारणा राखेका थिए। उनले अहिलेको झगडा पदको नभई विधि र पद्धतिको भएको बताएका थिए। विधि र पद्धतिअनुसार पार्टी गएमा ओलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने समेत नेपालले बताएका थिए।
यसअघि बुधबार ओली इतर समूहले त्यही कलेजमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो।