सुर्खेत प्रहरीले सुनजस्तै देखिने गहना बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार राति वीरेन्द्रनगर-३ मा एक जना स्थानीयको घरबाट गहना बरामद गरेको हो।
अन्दाजी २० तोलासम्म गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले सुनजस्तै देखिने गहनामा हिराजस्तो देखिने सामान जडान गरिएको भेटिएको बताए। परीक्षण हुन बाँकी रहेको उनले बताए।
‘सुनजस्तै देखिन्छ, जडान गरिएको हिराजस्तो चिज पनि देखिन्छ,’ डिएसपी घर्तीले भने, ‘परीक्षण हुने बाँकी छ।’
उनले जनप्रतिनिधिको रोहबरमा बरामद भएको गहना राखिएको जानकारी दिए।
‘अहिले जनप्रतिनिधिको रोहबरमा बरामद भएको सामान राखिएको छ, केही समयपछि परीक्षण तथा नापतौल हुन्छ,’ उनले भने।
गहना राखेका मानिसलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीमाथि पनि अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।