सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद झनझन् चुलिँदै गएको छ। एक महिनाअघि सुरू भएको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो विवाद जेलिँदै गएको थियो।
विवाद सल्टाउन पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजेका लागि डाकिएको थियो।
बिहानको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा अनिश्चितकालका लागि स्थगित गरिदिएपछि अहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू बालुवाटार भेला भएका छन्।
उनीहरूले बहुमत स्थायी कमिटी सदस्य सहभागी भएको भन्दै आफूहरूको भेलालाई स्थायी कमिटी बैठक भएको बताएका छन्।
यहीबीचमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीसँग भेटेका छन्।
ओलीसँगको भेटमा प्रचण्डले दुई अध्यक्षबीच सहमति नगरी किन बैठक रोकिएको हो भनेर सोधेका थिए।
‘प्रधानमन्त्रीले तपाईंसँग भेट्ने भनेकै हो। साढे ११ बजेसम्म तपाईंलाई कुरेकै हो। तपाईं आउनु भएन त्यही भएर बैठक रोकियो भन्नुभयो,’ ओली पक्षका एक स्थायी कमिटी सदस्यले सेतोपाटीसँग भने,‘प्रचण्ड कमरेडले सचिवालयको निर्णयअनुसार सहमतिमा बैठकबारे निर्णय गर्नु पर्ने बताउनु भयो। र आफूहरू आज बस्ने जानकारी दिनुभयो।’
जवाफ प्रधानमन्त्री ओलीले ‘तपाईंहरू बस्नुस् तर पार्टीको बैठक नभन्नुस्’ भनेको उनले बताए।
प्रधानमन्त्रीलाई भेटेर आएपछि प्रचण्डले आफ्ना पक्षका स्थायी कमिटी सदस्यहरूलाई पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए।
उनले पार्टी एकतालाई आघात पर्ने कुनै पनि काम गर्न नहुने धारणा राखेका थिए।
‘संवादका लागि प्रयास जारी राखौं, धेरै उत्तेजित नबनौं। पार्टी एकतालाई आघात पर्ने काम नगरौं,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘यो बैठकलाई स्थायी कमिटी बैठक नभनौं बहुमत स्थायी कमिटी सदस्यको बैठक भनौं।’
ओली पक्षका नेताहरूले बालुवाटार भइरहेको ओलीइतर समूहको बैठकमा बहुमत सदस्य नभएको दाबी गर्दै त्यो बैठक नभई खुमलटारमा हुनेजस्तै भेला भएको बताएका थिए।