नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद माने महाधिवेशनबाट एकल अध्यक्ष बनाउने प्रस्ताव गरेको बताएका छन्।
सोमबार बिहान खुमलटारमा आफू पक्षीय स्थायी समिति सदस्यहरूसँग छलफल गर्दै प्रचण्डले जबज मानेर अगाडि बढे अर्ली महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव आएको बताएका हुन्।
'शनिबार राष्ट्रपतिजीसँग भएको छलफलमा मलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्न भनिएको थियो। तर त्यसका लागि जबजलाई स्वीकार्नु पर्ने प्रस्ताव आयो। मैले हुन्न भनेको छु। त्यस्तो भए महाधिवेशनपछि प्रधानमन्त्रीसमेत बनाउने प्रस्ताव थियो,' प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य लीलामणि पोखरेलले भने, 'मंसिरमा महाधिवेशन पनि सम्भव छैन भनेको छु भने जबजलाई इन्कारै गरेको छु।
वैचारिक प्रतिष्ठामाथि हमला गरिएको भन्दै यो प्रस्ताव गलत भएकोसमेत प्रचण्डले बताएका थिए।
युद्धविराम गर्ने, राजीनामा नमाग्ने
छलफलमा सहभागी एक स्थायी समिति सदस्यले पार्टीभित्र युद्धविराम गरेर अगाडि जानु पर्ने निष्कर्ष निस्किएको बताए।
'मेरो बुझाइमा अब पार्टीमा युद्धविराम गरेर जाने भन्ने नै हो। अब स्थायी कमिटीमा बोल्नेहरूले माइल्ड रूपमा प्रस्तुत हुने भनिएको छ,' उनले भने,'राजीनामाको कुरा नउठाउने अब स्थायी कमिटी बैठक टुंगो लगाउने भन्ने बुझेको छु। राजीनामाको विषय पनि ओलीकै कोर्टमा छोड्दिने धारणा आएको मैले पाएँ।'
प्रचण्डले ओली पक्षधरसँग एकता र संघर्षको प्रक्रियाबाट अगाडि बढ्नु पर्ने बताएका थिए। उनले ओली व्यक्ति नभइकन प्रवृत्ति भएको भन्दै संघर्ष र एकता गरेर अगाडि बढ्नु पर्ने बताएका थिए।
बैठकमा ओलीका धेरै रणनीति असफल भएकोसमेत चर्चा चलेको थियो।
'हामीले धक्का दिइसकेका छौं। यो राजनीतिक धक्का हो। यो एजेन्डा भएर आएको होइन। बल ओलीकै कोर्टमा गयो। ओलीको रेस्पोन्स कस्तो गर्छन् त्यसमा अबको रणनीति भर पर्छ,' बैठकमा उठेको धारणाबारे एक नेताले भने,'अध्यादेश, संकटकाल, पार्टी फुटाउने र संसद विघटनजस्ता रणनीति असफल भएका छन्। स्थायी समिति र केन्द्रीय कमिटीमा पनि म अल्पमतमा छु भन्ने उहाँलाई परेको छ।'
स्थायी समिति बैठकमा पदको निम्तिमात्रै झगडा भएको भन्ने नपारी वैचारिक बहस र अन्य विषयमा छलफल गर्नु पर्ने बताएका थिए।
यो पनि पढ्नुस्:
प्रचण्डले पार्टी एकता प्रक्रिया बाँकी रहेकाले पूर्वमाओवदी पक्षधरको छलफल जरूरी रहेकोसमेत बताए थिए।
'तपाईंहरूसँग कुराकानी नभएको धेरै भएको थियो। पार्टी एकताले पूर्णता पाइनसकेकाले यसरी छलफल गर्न जरूरी छ भनेर प्रचण्डले बताउनुभएको थियो,' अर्का एक स्थायी समिति सदस्यले भने,'उहाँसँग नजिक भएकाहरूबाहेक अरूसँग बिरलै भेट हुन्थ्यो, सायद भेटघाटको सुरूवात गर्नुभएको होला।'
यसैबीच आजको बैठकमा पूर्वमाओवादी पक्षधर ३ जना स्थायी समिति सदस्य सहभागी थिएनन्।
गृहमन्त्री रामबहादुर थापा प्राविधिक कारणले आउन नसकेको जानकारी बैठकलाई गराइएको थियो भने उद्योग मन्त्री लेखराज भट्ट प्रधानमन्त्री ओली क्याम्पमा गइसकेका छन्।
अर्का स्थायी समिति जनार्दन शर्मा पनि सहभागि थिएनन्। उनी ढाडको समस्या भएका कारणले नआएको एक स्थायी समिति सदस्यले बताए।