नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागबाट पछि हटेका छन्।
नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड दुवै सकारात्मक रूपमा प्रस्तुत भएका थिए। सचिवालय बैठकलगत्तै ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन्।
राष्ट्रपति निवासमा ओली र प्रचण्डसँगै विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी भएका छन्।
'सहमतिको आधारमा निकास दिउँ भनेर दुवै अध्यक्षले मिले मिले जस्तो गरेर आफूलाई प्रस्तुत गर्नुभएको छ। तै पनि ठोस निष्कर्ष निस्किसकेको स्थिति छैन। छलफल जारी छ,' एक सचिवालय सदस्यले भने, 'हामी समग्रमा प्रस्ताव ल्याउँछौ भनेर दुई अध्यक्षले भन्नुभएको छ।'
यसअघि प्रधानमन्त्रीबाट राजीनामाको माग गर्दै आएका प्रचण्डले शनिबारको बैठकमा भने यसबारे कुरै उठाएका थिएनन्। उनले उक्त अडान छाडेको संकेत दिने गरी आफ्ना धारणा राखेका थिए।
'प्रचण्डजीले सिधै त भन्नुभएको थिएन, तर मैले बुझ्दा उहाँहरूले प्रधानमन्त्रीको राजीनामाको कुरा छाडेजस्तो छ,' ती नेताले भने।
बैठकमा पार्टी एकताको रक्षा गर्दै गुटगत छलफलमा जान नहुने धारणासमेत आएको थियो। पार्टीभित्रको संघर्षबारे छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको ती नेताले बताए।