नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पद बाँडफाँटले मात्रै पार्टीभित्र अहिले देखिएको समस्या समाधान नहुने बताएका छन्।
बिहीबार सेतोपाटीसँग कुराकानी गर्दै रायमाझीले दुई अध्यक्षले सहमति गरेर अरू नेतालाई विश्वासमा लिनुपर्ने बताए।
'यो समस्याको पद बाँडफाँटले मात्रै समाधान हुँदैन। पद हामीसँग सीमित छन्। पार्टी अध्यक्ष र प्रधानमन्त्री मुख्य पद हुन् तर हामी पद प्राप्त गर्न चाहने नेता धेरै छौं। सबैलाई पद पुग्दैन,' उनले भने,'प्रधानमन्त्री पदलाई लिएर जोर-बिजोरको मजाकसमेत चलिरहेको छ। त्यसैले नेताहरूले पदको बाँडफाँटले मात्र समस्याको समाधान हुँदैन भनेर बुझ्नुपर्छ।'
नेकपामा जारी विवाद र स्थायी समिति बैठकका विषयमा केन्द्रीत रहेर रायमाझीसँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।
यस कुराकानीका मुख्य बुदाहरू:
-जनजिविकाको मुद्दा छोडेर हामी पदको बाँडफाँटमा केन्द्रीत भएकोमा मलाई मीठो लागेको छैन। तर पनि समाधान गर्नु पर्ने आवश्यकता छ। छलफल गरेर निष्कर्ष निकाल्न जरूरी छ।
- सहमति गरेर जाने भनेपछि नेताहरूको बीचमा जे सहमति हुन्छ त्यही सहमतिको सुत्र हुन्छ।
- भावना एकता, विश्वास र विचार पद बाँडफाँटभन्दा महत्वपूर्ण हो।
-सहमति भयो भने दुबै पद एउटैले लिए भयो, त्यसलाई बाँडे पनि भयो। तर सहमति नभई अगाडि बढ्न मिल्दैन।
-दुई अध्यक्षको नेतृत्वमा पार्टी एकता भएकाले उनीहरूको सहमति मुख्य हुन्छ। अरु नेताको सहमति र सहकार्य पनि महत्वपूर्ण हो।
-पार्टी बैठकमा प्रधानमन्त्रीको राजीनामा, अध्यक्षको राजीनामा अथवा दुबै पदको राजीनामाजस्ता विभिन्न विचार आउँछन्। त्यसलाई नै निर्णय ठान्न हुँदैन। विचार र बहस भएपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ।
- प्रमुख नेताहरूले सहमति जुटाउनु पर्छ। पार्टी एकता गर्दा सहमतिका साथ अगाडि बढ्ने भनिएको हो। पार्टी फुटाउने हर्कतबाहेकका सबै सहमति हामी मान्न तयार छौं।
- अब धेरै लामो समयसम्म बैठक सार्न हुँदैन, निष्कर्ष निकाल्नु पर्छ।