इन्जिनियर गुरु भट्टराईलाई सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भट्टराईलाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरिएको जानकारी दिए।
अर्थमन्त्री खतिवडाले निर्णय सार्वजनिक गरेको केही बेरमा भट्टराईले ट्वीट गरे- 'मन्त्रिपरिषदले नेपाल रेल्वेको महाप्रबन्धक पदमा मलाई नियुक्त गरेकाले सम्मानीय प्रधानमन्त्री तथा माननीय मन्त्रीज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। सुखी नेपाली समृद्ध नेपालका प्रमको यो अभियानमा एउटा सारथी बन्ने जिम्मेवारी पाएकोमा गौरवान्वित छु। पाएको जिम्मेवारी नि:स्वार्थ ढंगले पूरा वहन गर्ने प्रण गर्दछु। आफूलाई सधैं नागरिक अडिटमा राख्न चाहन्छु। नेपालमा रेल्वे युगको सुरुवात गर्ने प्रम केपी ओलीको सपनाको सारथी बन्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु।'
भट्टराईको नियुक्तिको निर्णय सार्वजनिक भएसँगै उनको योग्यतालाई लिएर प्रश्न उठेको छ। त्योभन्दा ठूलो प्रश्न उनको आचरणलाई लिएर उठेको छ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक रूपमै भक्तिगान गर्ने, पार्टीभित्र र बाहिर ओलीका आलोचक, प्रतिपक्षी दलका नेता तथा आलोचनात्मक दृष्टि राख्ने पत्रकारलाई सामाजिक सञ्जालमा गाली र निन्दा गर्नमा माहिर छन्।
महोत्तरीको बर्दिबासका भट्टराईले ओलीको प्रशंसामा अनलाइन पोर्टलहरूमा धेरैपटक लेख लेखेका छन्।
प्रधानमन्त्री ओलीसँग असहमत हुने वा उनका आलोचकलाई भने तल्लो स्तरका गाली गर्ने, तथानाम भन्ने, हियाउने र अश्लील तस्बिरसमेत सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।
माल्दिभ्सका विभिन्न कम्पनीमा काम गरेर सात महिनाअघि नेपाल फर्किएपछि उनले त्यस्तो निन्दालाई झनै तीव्रता दिएको देखिन्छ। उनको गाली र निन्दाको तारोमा पर्नेमा पत्रकार अग्रपंक्तिमा छन्।
भट्टराईलाई यस्तो सरकारले रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको छ, जसले सामाजिक सञ्जालमा व्यक्तिहरूको मानमर्दन भयो भनेर त्यसलाई नियन्त्रण गर्न सूचना प्रविधि विधेयक संसदमा दर्ता गराएको छ।
सामाजिक सञ्जालमा अर्काको गाली-बेइज्जती गर्ने, होच्याउने, हियाउने र अश्लील सामग्री पोस्ट गर्नेलाई कडा कारबाही हुने प्रस्ताव उक्त कानुनमा छ। प्रधानमन्त्री ओली आफैंले पनि पटक-पटक सामाजिक सञ्जाल अशिष्ट भएको भन्दै भाषण गर्ने गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमा गर्ने गालीगलौज र व्यक्तिगत निन्दाका केही उदाहरण हामीले संकलन गरेका छौं। पहिले पत्रकार र विभिन्न मिडियाका सम्पादकमाथि उनले कुन स्तरको गाली गर्ने गरेका छन्, हेरौं।
केही उदाहरण:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेकपाभित्र भट्टराईले मुख्य रूपमा अध्यक्ष पुष्पकमल दाहाल र नेताहरू माधवकुमार नेपाल तथा भीम रावललाई तल्लो स्तरका गाली गरेर बारम्बार लेख्ने गरेका छन्।
हेरौं केही उदाहरण:
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रतिपक्षी दलका नेताहरूको पनि उनले निन्दा गर्ने गरेका छन्। नेपाली कांग्रेसमा उनले गाली गर्ने खासगरी सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा र सांसद गगन थापालाई हो। उनले देउवाको बोलीलाई लिएर समेत हियाएका छन्।
केही उदाहरण :

.jpg)
.jpg)
.jpg)
.jpg)
कुनै संस्था वा पार्टीमा आबद्ध नभएका तर ओली सरकारप्रति आलोचनात्मक दृष्टि राख्ने नागरिकलाई पनि भट्टराईले छाडेका छैनन्। लेखक खगेन्द्र संग्रौलामाथि उनी बारम्बार खनिने गरेका छन्।
.jpg)


यसरी नेकपाभित्रका नेता, प्रतिपक्षी दलका नेता, पत्रकार र एउटा व्यक्तिमाथि पनि खनिने भट्टराईले प्रधानमन्त्री ओलीको भने गुनगान गाउँदै कैयन लेख लेखेका छन्।
कतिले आफूलाई 'ओलीको हनुमान' भनेकामा आफू खुसी भएको पनि उनले खुल्लमखुल्ला सामाजिक सञ्जालमा लेखेका छन्।
.jpg)
.jpg)
को हुन् भट्टराई?
नेकपाभित्र थोरै मात्र मानिसले भट्टराईलाई चिन्छन्। न त नेपालभित्रका इन्जिनियर र व्यावसायिक मानिसले नै उनलाई चिन्छन्।
उनले फेसबुक र लिङ्क्डइनको आफ्नो प्रोफाइलमा पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ पास गरेको उल्लेख गरेका छन्।
लिङ्क्डइन र फेसबुकमा उनले लेखेका कतिपय कुरा मिल्दैनन्। फेसबुकमा उनले पढाइ सकेपछि पुल्चोक क्याम्पसको इन्जिनियरिङ विभागमा काम गरेको उल्लेख गरेका छन् भने लिङक्डइनमा कसमस इन्जिनियरिङमा सन् १९९८ देखि २००३ सम्म काम गरेको लेखेका छन्।
इन्जिनियरिङ एसोसिएसनका नेकपानिकट एक पदाधिकारीले पुल्चोक क्याम्पसमा उनले काम गरेको आफूलाई थाहा नभएको बताए।
‘नेपालको इन्जिनियरिङ क्षेत्रले उहाँलाई चिन्दैन,’ उनले भने।
लिङ्क्डइनको प्रोफाइलमा उनले आफूले सन् २००३ देखि २००८ सम्म एसबिई कम्पनीमा काम गरेको उल्लेख गरेका छन्। त्यो कहाँको कस्तो कम्पनी हो खुलेको छैन।
त्यसपछि माल्दिभ्सको होटल तथा रिसोर्ट बनाउने कम्पनीमा झन्डै चार वर्ष काम गरेको उल्लेख छ। सन् २०१४ देखि पछिल्लो छ वर्ष माल्दिभ्सकै इस्ट इन्भेष्ट प्रालिमा कन्स्ट्रक्सन म्यानेजरका रूपमा काम गरेको उनले लेखेका छन्।
फेसबुकको परिचयमा भने उनले वोन फ्री प्रालि र टाटा हाउजिङमा पनि काम गरेको उल्लेख गरेका छन्।
इस्ट इन्भेष्ट प्रालि र वोन फ्री प्रालिको फेसबुक पेज खोल्दा त्यसमा 'लोकल कम्पनी’ भनिएको छ, तर कम्पनीबारे कुनै सूचना देखिन्न। गुगलमा पनि यी दुई कम्पनीबारे खासै सूचना छैन। वोन फ्री आयात गर्ने कम्पनी भएको र पछिल्ला दुई वर्षमा यसले आयात गर्ने काम खासै नभएको देखिन्छ।
यसरी उनले नेपालबाहिर विशेषगरी माल्दिभ्समा केही निर्माण र अन्य खालका कम्पनीमा काम गरेको देखिन्छ। तर, ती कुन स्तरका कम्पनी हुन् र उनले कुन स्तरको काम गरेका हुन स्पष्ट छैन।
भट्टराईसँग कुरा गर्न हामीले सेतोपाटीबाट शुक्रबार दुईपटक उनलाई फोन गर्यौं। एकपटक म्यासेज पठायौं। तर उनले फोन उठाएनन्। म्यासेजको उत्तर पठाएनन्। पछि उनले फोन नै 'स्विच अफ’ गरे।
भौतिक योजना तथा निर्माण मन्त्रालयको प्रशासन महाशाखाका एक अधिकारीका अनुसार, भट्टराईले स्नातक पास गरेको र विदेशमा काम गरेको बायोडाटा पेस गरेका छन्। त्यो बायोडाटामा के लेखिएको छ भनेर उनले बताउन चाहेनन्।
*शीर्षक परिवर्तन गरिएको