सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अन्तरकलहको अवस्था छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको झगडा युद्धविरामको अवस्थामा छ।
तीन नेतामध्ये दुई जना जता उभियो त्यतै पल्ला भारी हुने अवस्था छ। एक साताअघि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णयबाट प्रचण्ड र नेता नेपाल पछि हटेका छन्।
नेकपाको कलहको अहिलेको अवस्थाबारे सेतोपाटीका मनोज सत्यालले नेकपा स्थायी समिति सदस्य रघुजी पन्तसँग कुराकानी गरेका छन् -
- प्रधानमन्त्रीलाई बिगारेको उहाँको संकीर्णता, अहंकार, उहाँको हठ र उहाँको असहिष्णुताले हो। मन्त्री र सल्लाहकारहरूको बेठीक सल्लाह र व्यवहारले हो। यसले उहाँलाई गतल दिशामा लगिराखेको छ।
- प्रधानमन्त्री स्वयमले म छोड्छु, फलानोलाई प्रधानमन्त्री बनाउँछु भनेपछि आफू प्रधानमन्त्रीमा बस्ने अवस्था र औचित्यमा उहाँ स्वयमले प्रश्न उठाउनुभयो। उहाँले वामदेवलाई प्रस्ताव गर्नुभयो। त्यसैले मैले ठट्टा गरेर भन्ने गरेको छु - अहिले भैराखेको प्रधानमन्त्री केपी ओली 'केयर टेकर प्राइममिनिस्टर', वामदेव गौतम 'वेटिङ प्राइममिनिस्टर।'
- प्रधानमन्त्री पदमा बस्दैमा कोही सर्वज्ञाता हुँदैन। कोरोनाको विषयमा यसो गरेर खाऊ, यसो गर भनेर उपदेश दिने डाक्टर होइन।
- प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ भन्ने र कन्भिन्स गर्ने पार्टी अध्यक्ष प्रचण्ड सचिवालय बैठकमा किन ब्याक हुनुभयो। प्रधानमन्त्रीले दुईमध्ये एउटा पद छाड्नुपर्ने स्ट्याण्ड किन राख्न सक्नु भएन? यी प्रश्न स्थायी समिति बैठकमा उठ्छन्।
- अंहकार, हठ, गुटमोह, संकीर्णता र आफूसँग फरक मत राख्नेहरूलाई कागती निचोरे जस्तो निचोरेर राख्ने तरिका प्रधानमन्त्रीको अलोकप्रियताको एउटा कारण हो। ममात्रै होइन मजस्ता हजारौं कार्यकर्ताहरूलाई उहाँले घाँटीसम्म पुर्नु भएको छ।
- डेढ दुई हप्तामा हाम्रो पार्टीमा देखिएको घटनाले ६ रेक्टर स्केलको भूकम्प उत्पन्न गर्यो। प्रधानमन्त्री र नेताहरूले बुद्धि पुर्याउनु भएन भने झन् ठूलो कम्पन पार्टीभित्र उत्पन्न हुनसक्छ।
नेकपाको आन्तरिक कलहको अहिलेको अवस्था युद्धविराम हो कि माधव नेपालको हार हो?
अहिलेको अवस्थामा कसैले जितेको पनि होइन, कसैले हार व्यहोरेको पनि होइन। करिब करिब युद्धविरामको अवस्थामा छ। यो युद्धविरामको अवस्था चिन्ताजनक लागिरहेको छ।
हाम्रो प्रधानमन्त्री मात्र होइन सरकार पनि लोकप्रिय हुन सकेको छैन। पार्टी गतिहीन भएको छ। सरकार र पार्टी दुबैबारेमा गम्भीर भएर चिन्तन गरेर कसरी सरकारलाई गतिशील बनाएर देशको समस्या समाधान गर्ने हो भन्नेतिर लाग्नुपर्छ।
भ्रष्टाचार अन्त्य गर्ने र विकास निर्माणको काममा कसरी जनतालाई नेतृत्व गर्ने भनेर चिन्ता गर्नुपर्ने अवस्थामा हामी पार्टीको आन्तरिक द्वन्द्वमा फसेका छौं।
नेपाली जनतासँग अर्कोपटक मत माग्न जाँदा तिमीहरूलाई पर्याप्त मत दिँदादिँदै पनि तिमीहरू किन बेलाबेला सत्ताको झगडामा फस्यौ भन्ने प्रश्नको सामना गर्नुपर्ने अप्ठयारो अवस्थामा आइपुगेका छौं।
त्यस्तै पार्टी म्युजियममा राखिएको डाइनोसरको स्ट्रक्चर जस्तो हुने अवस्थामा छ।
देशको सबभन्दा ठूलो पार्टीको सदस्य संख्या कसैलाई थाहा छैन। जिल्लामा कति कार्यकर्ता छन् थाहा छैन। पार्टी कमिटीमा कति सदस्य छन् भन्न सकिने अवस्थामा छैन।
हामीले यी सबै व्याप्त बेथिति समाप्त गर्न, जसरी सरकार भ्रष्टाचारको काण्डमा फस्दै आएको छ, त्यसबाट यो सरकारलाई मुक्त गर्न, विकास निर्माणको नेतृत्व गर्ने विषयमा खराखरी छलफल गर्नुपर्छ। सधैं यो समस्यालाई ढाकछोप गरेर यसको समाधान निस्कँदैन। हामीले स्थायी समितिको बैठक मागेका छौं। त्यसमा सबै विषयमा छलफल हुनुपर्छ।
अहिले यो अवस्थाको चिन्तन र समाधान गर्नुपर्ने प्रमुख नेता पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली हुन्। तर उहाँमा यो चिन्ता र चिन्तनको गम्भीरता मैले अझै पाउन सकेको छैन। स्थायी समितिमा हुने छलफलका विषयको समाधानमा उहाँले कत्तिको जागरूक हुनुहुन्छ म भन्न सक्दिनँ।
उहाँले गम्भीरता देखाउनु भएन र राम्रोसँग चिन्तन गर्नुभएन र पार्टीलाई एकतावद्ध बनाएर नेतृत्व गर्नेतर्फ लाग्नुभएन र आफूले राम्रोसँग प्रधानमन्त्री कसरी चलाउने विषयमा सोच विचार गर्नु भएन भने समस्या समाधान हुँदैन।
उहाँको यो चिन्तनहीनता र आफू वरपरका मान्छेका मात्र कुरा सुन्ने र पार्टीमा फरक विचार राख्नेलाई पेलेर भित्तैमा पुर्याउने र सरकारमा पनि त्यसै गर्न खोज्ने प्रवृत्तिले पार्टी र सरकारलाई द्वन्द्व र अस्थिरतातर्फ लैजाने हो कि भन्ने चिन्ताले पिरोलेको छ।
तपाईंले नेतृत्वकर्ताका रूपमा प्रधानमन्त्रीको यति धेरै असक्षमता देखाउनुभयो। तर नेकपामा माधव नेपाल र प्रचण्ड एक ठाउँमा भएको अवस्था एकाएक परिवर्तन भयो। यो अवस्था कसरी आयो? जबकी दुबै जनाले नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले सत्ता पनि छाड्नुपर्ने अध्यक्ष पनि छाड्नुपर्ने बताएका थिए। तर एकाएक प्रचण्डले माधव नेपालको साथ छाडेका छन्। यो अवस्था किन आयो?
म प्रधानमन्त्री केपीलाई असक्षम भन्दिनँ। उहाँ असक्षम नेता होइन। तर उहाँलाई बिगारेको उहाँको संकीर्णता, अहंकार, उहाँको हठ र उहाँको असहिष्णुताले हो। मन्त्री र सल्लाहकारहरूको बेठिक सल्लाह र व्यवहारले हो। यसले उहाँलाई गलत दिशामा लगिराखेको छ।
उहाँले जसरी सरकार र पार्टीको गाडी हाँकी राख्नुभएको छ, यो कुनै पनि मोडमा पुगेर दुर्घटना हुने हो कि भन्ने चिन्ताले पार्टीका नेता कार्यकर्तालाई पिरोलेको छ। किनभने यो गाडीमा हामी सबै बसेका छौं। दुर्घटना भए चोट सबैलाई लाग्छ। यो कुरामा प्रधानामन्त्रीको र पार्टी अध्यक्ष केपी कमरेडको ध्यान गएको देखिराखेको छैन।
अर्को कुरा मानिसको शरीरको सक्रियताको सीमा हुन्छ। उहाँ युवा उमेरमा पनि हुनुहुन्न, दोस्रो पटक उहाँले मिर्गौला प्रत्यारोपण गर्नु भएको छ। म सार्वजनिक रूपमा भन्छु उहाँ हाम्रो प्रिय नेता मध्येकै हो।
उहाँको दीर्घायुको कामना गर्छु। लामो समय बाँच्नुहोस्। तर पनि उहाँको स्वास्थ्यको कारण उहाँको सक्रियताको सीमितता छ। जति चाहे पनि यो अवस्थामा उहाँले पार्टी अध्यक्षका रूपमा क्रियाशील हुन सकिराख्नु भएको छैन।
अर्को गलत ट्रेण्ड के बसिराखेको छ भने उहाँले सरकार सिंहदरबारबाट भन्दा धेरै बालुवाटारबाट चलाइराख्नु भएको छ। नजीरका दृष्टिले पनि यो गलत हो। बालुवाटार निवास हो। शासन सिंहदरबारबाट चल्नुपर्छ।
तर यो कुरा जोड दिएर किन भन्न मिल्दैन भने उहाँ शारीरिक कारणले पनि अहिले डाक्टरहरूले दिएको सल्लाहको सीमाभित्र रहनुपर्ने हुन्छ। त्यसैले बारम्बार मैले भन्दै आएको छु। हाम्रो पार्टीले बहुमत पाएको हो।
व्यक्ति कसैले वा प्रचण्ड जी, केपी जी वा माधव जीले होइन। सिंगल व्यक्तिको योगदान होइन। लाखौं नेकपाका कार्यकर्ताको रगत पसिनाको परिणाम हो। हामीले पाएको बहुमत व्यक्ति कसैले म एक्लैले ल्याएको भन्नु बेकारको कुरा हो। त्यो अहंकारको कुनै अर्थ छैन। उहाँले के बुझ्नुपर्यो भने यत्रो ठूलो अपेक्षा कार्यकर्ता र जनताको छ यो सरकारप्रति।
आफ्नो स्वास्थ्य अवस्थाको जटिलतालाई पनि ध्यान दिनुपर्यो भने पनि त्यस्तो छ भने आफ्ना नेता र समकालीनलाई पनि विश्वास गर्नुपर्यो। त्यसैले मैले सार्वजनिक रूपमा भन्दै आएको छु-उहाँले सरकार राम्रोसँग चलाउनुहोस्। उहाँबाट अहिले पार्टी पनि राम्ररी चलेन, सरकार पनि राम्रोसँग चलेन। यी दुईमध्ये के चलाउने हो एउटा नचलाए हुन्छ। उहाँलाई छनोट गर्न दिए हुन्छ। मैले अरू नेताहरूलाई भेटघाटमा पनि यही कुरा भन्दै आएको छु।
तर केही समयअघि राजीनामाको प्रसंग आयो। हामी २० जना स्थायी समिति सदस्यहरूले बैठक मागेको हो। हाम्रो पत्रमा राजीनामाको प्रसंग छैन। उहाँको राजीनामाको माग सचिवालयका नेताहरूबाट आएको हो।
सचिवालयका नेताहरूले सार्वजनिक गर्नु भएको हो। त्यो मागलाई सबभन्दा पहिला प्रधानमन्त्री समक्ष राख्ने नेता उपाध्यक्ष वामदेव गौतम हुनुहुन्छ। त्यसपछि सचिवालयका अरू सदस्यले राजीनामा माग गर्नु भएको भन्ने छ। सचिवालयका शीर्ष नेताहरूबाट राजीनामाको माग आएपछि त्यसको तरंग, झिल्का छिटा तलतल जाने भए।
मेरो भनाइ के हो भने उहाँले आफ्नो स्वास्थ्य, पार्टी सरकार सबैलाई ध्यान दिएर प्रभावकारी ढंगले चलाउन सबैको सहयोग लिनुपर्छ र अरू नेताहरूलाई विश्वास गरेर दुईमध्ये एक पद छाड्नुपर्छ।
मलाई लाग्छ सरकार उहाँले चलाए हुन्छ, पार्टी अध्यक्ष छाडे हुन्छ। अथवा जे छाड्न मन छ सरसल्लाह गरेर छाडे हुन्छ।
तर परिस्थिति जसरी उहाँको राजीनामा माग्नेमा सचिवालयका नेता पुग्नुभयो, अहिले त्यो बहुमतको संख्या घट्यो होला। तर परिस्थिति उस्तै छ। अस्ति सचिवालयमा उहाँहरूले निर्णय गर्नुभयो। त्यो कसरी कार्यान्वयन हुन्छ? त्यसको औचित्यमाथि पनि कतिपय प्रश्न उठेको छ। त्यो निर्णयप्रति ठीक ढंगले कार्यान्वयन भए त ठीकै छ। तर त्यो निर्णयमाथि प्रधानमन्त्री केपी ओली कति इमान्दार हुनुहुन्छ थाहा छैन।
वामदेवजीलाई प्रतिनिधि सभामा ल्याउने निर्णयलाई के भन्नुहुन्छ?
वामदेवजीलाई प्रतिनिधि सभामा ल्याउने निर्णयलाई मैले गम्भीरतापूर्वक लिएको छैन। किनभने न समय तोकिएको छ न चुनाव क्षेत्र। अनि कहाँबाट ल्याउने? मलाई विश्वास लागेको छैन।
यत्रो जनादेश पाएर प्रचण्ड बहुमत पाएको पार्टीले यो बीचमा प्रधानमन्त्री पदको किचलो निकाल्ने अवस्था किन आयो? यसले पो पिरोलेको छ। त्यसको जिम्मेवारी प्रधानमन्त्रीकहाँ जाँदैन? अनि प्रधानमन्त्री स्वयमले म छोड्छु, फलानोलाई प्रधानमन्त्री बनाउँछु भनेपछि आफू प्रधानमन्त्रीमा बस्ने अवस्था र औचित्यमा उहाँ स्वयमले प्रश्न उठाउनुभयो। उहाँले वामदेवलाई प्रस्ताव गर्नुभयो।
त्यसैले मैले ठट्टा गरेर भन्ने गरेको छु - अहिले भैराखेको प्रधानमन्त्री केपी ओली 'केयर टेकर प्राइममिनिस्टर', वामदेव गौतम 'वेटिङ प्राइममिनिस्टर।' तर त्यो वेटिङ कहिलेसम्म हो र कुन मितिसम्म कसैलाई थाहा छैन। यत्रो बहुमत दिएको पार्टीले यस्तो केटाकेटी काम गर्ने हो? यस्तो परिस्थिति निम्त्याउने हो? यस्तो निर्णय गर्ने हो? यस्तो निर्णय गर्ने अधिकार उहाँहरूलाई छ?
प्रधानमन्त्री पद केपी कमरेडलाई छाड्न मन लाग्यो भने प्रधानमन्त्री पदको निर्णय उहाँले गर्ने हो र? त्यो त पार्टीको स्थायी समितिले निर्णय गर्ला, केन्द्रीय कमिटीमा छलफल होला, नेकपाको संसदीय दलमा छलफल भएर भावी प्रधानमन्त्रीको निर्णय होला नि। प्रतिनिधि सभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछु भन्दा कसैले पत्याउला? यो त राजनीतिक तमासा भयो।
संसदीय दलको प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुने परिकल्पना अहिलेको संविधानले गरेको छैन। अनि त्यस्तो प्रस्ताव स्वीकारेर सिंगै सचिवालयलाई पनि हाँस्यास्पद बनाउने काम सचिवालय सदस्यहरूले पनि गर्नुभयो। त्यस्तै प्रधानमन्त्रीले पनि गर्नुभयो।
आम नागरिक अगाडि औचित्य स्थापित गर्न नमिल्ने निर्णय प्रधानमन्त्रीले पनि गर्न मिल्दैन। सचिवालयमा प्रधानमन्त्री भैसकेकै तीन जना हुनुहुन्छ। प्रचण्ड स्वयम् हुनुहुन्छ, माधव, झलनाथ हुनुहुन्छ।
तपाईंलाई छाड्न मन लाग्छ भने हामी यहाँ तीन जना कसैलाई प्रस्तावित गर्नुहोस्। अथवा हामी तीन जनामध्ये पनि को हुने भन्ने निर्णय दलको बैठकबाट पार्टीबाट निर्णय गरौं र दलमा जाऔं भन्नुपर्दैन सचिवालयमा? यस्तो प्रस्ताव मानेर जग हँसाउने हाम्रो पार्टीको शीर्ष नेताहरू रहेको सचिवालयले गरेको देख्दा मलाई त लाज लागिरहेको छ।
सरकार यति सजिलै त कसले छाड्ला र! मैले कुरा गर्न चाहेको विषय माधव नेपाल र प्रचण्डबीचको जुन साझेदारीको सहमति थियो, त्यो लभको रिलेसन हेटमा परिणत भएको हो? किनभने प्रचण्डले युटर्न भएर नेकपाको सचिवालय बैठकमा धारणा राख्नुभयो। अब प्रचण्ड र माधव नेपालको सम्बन्ध कस्तो छ?
माधव नेपालले उठाएको विधि र पद्धतिअनुसार पार्टी चल्नुपर्छ, गुटबन्दीको अवस्था रहनुहुन्न, कुनै पनि नेता कार्यकर्तालाई लाखापाखा लगाउनुहुन्न भन्ने मान्यतालाई प्रचण्डले साथ दिएको हो।
यो माधव नेपाल व्यक्तिलाई मात्र साथ दिएको होइन। माधव नेपालले अगाडि सारेको विषयहरूलाई साथ दिएको हो। यो लडाइँ हामीले हिजो प्रचण्ड र केपी जी मिलेर हामीलाई पेलिरहँदा पनि लडिराखेको हो।
त्यसैले यो लडाइँ मूल्य मान्यता र विधि स्थापित गर्ने लडाइँ हो। अरूले छाडे पनि म यो विषयमा एक्लै लड्छु। किनभने राजनीतिक क्षमता राख्ने मान्छेले आफ्नो ठाउँ खोज्छ। सक्रिय हुने ठाउँ खोज्छ। वर्षौंदेखि मेरो त्यो सक्रिय हुने ठाउँ र अवसरहरू केपी ओलीले पूर्वाग्रह राखेर मबाट खोस्नु भएको छ।
राजनीतिक रूपमा भन्ने हो भने मेरो टाउको चलाउने अवस्था छ। अर्थात् मेरो चेतना, मुख र जिब्रो चल्ने अवस्थामा छ। तर मैले काम गर्न र सक्रिय हुन पाएको छैन।
लाखौं नेकपाका कार्यकर्ताले काम गर्न पाएका छैनन्, जिम्मेवारी पाएका छैनन्। त्यसो त हाम्रो प्रधानमन्त्रीको पनि विशेषता धेरै टाउको मात्र चलाउने हो। घाँटीभन्दा माथि बहुत राम्रोसँग चलाउन सक्नुहुन्छ। त्यो क्षमता पनि धेरै छ। घाँटीभन्दा तल उहिले पनि चल्थेन र अहिले पनि चल्दैन। एउटा राजनीतिक नेताको घाँटीभन्दा माथि जति चल्ने हो घाँटीभन्दा तल त्यतिकै चल्नुपर्छ। अनि पो पार्टी चल्छ।
सम्पूर्ण पार्टीको शरीर राम्ररी चले न पार्टी चल्ने हो। तर अहिले त उहाँलाई शारीरिक रूपले सक्रिय हुन भएन भनेर दोष लगाउने ठाउँ छैन। सक्रिय हुने अवस्थामा उहाँको स्वास्थ्य छैन। यो दुवै जोडिएन भने यो पूर्ण हुँदैन। त्यसैले आज पार्टी निष्क्रिय अवस्थामा छ।
एउटा छलफलमा मैले उठेर के प्रस्ताव राखें भने सचिवालयमा वामदेव कमरेड र तपाईंहरूले प्रधानमन्त्री पदबाट पनि अध्यक्ष पदबाट पनि राजीनामा माग्नु भएको छ। त्यो मलाई ठीक लागेको छैन। त्यो दुवै पदबाट नमागौं।
त्यसले जनतामा सन्देश पनि राम्रो जान्छ जस्तो लाग्दैन। र यो बेला पनि राम्रो होइन। नीति तथा कार्यक्रम आउने समय छ। बजेट आउने समय छ। यस्तो बेलामा केपी कमरेडलाई दुवै ठाउँ राम्रोसँग नचलेकाले जे छनोट गरेर चलाउने हो चलाउनुहोस् भनौं।
प्रधानमन्त्री चलाउनुहुन्छ चलाउनुहोस् वा अध्यक्ष हुन्छु भन्नुहुन्छ भने त्यही राम्रोसँग चलाउनुहोस्। त्यसमा सहयोग गरौं। दुवै ठाउँबाट राजीनामा माग्ने कुरा तर्कपूर्ण हुँदैन भनेर मैले भनें।
त्यसमा साथीहरूको चित्त बुझेन। तर त्यो छलफलमा प्रचण्डजीले ‘रघुजीले भनेको कुरा ठीक हो यो दुबै ठाउँबाट राजीनामा नमागौं। त्यसैले एउटाको राजीनामा माग्दा प्रधानमन्त्रीबाट मागौं। किनभने सरकारमा उहाँले राम्रो काम गर्न नसक्दा सिंगो पार्टीलाई समेत हानी भैराखेको छ’ भनेपछि सबै साथीहरूले प्रचण्डको प्रस्तावमा समर्थन गर्नुभयो।
माधवजी र अन्य साथीहरूले पनि त्यो प्रस्तावको समर्थन गर्नुभयो। त्यसपछि मैले पनि सबैको सहमति हो भने मेरो पनि समर्थन छ भनें।
त्यहीबेला वामदेव र विष्णुजीले पोजिसन बदल्नुभयो भन्ने हामीले सुनेका थियौं। हामीले सचिवालयको अल्पमत र बहुमतमा चिन्ता नगर्नुस्।
यो सिद्धान्त, नीति र विचारको लडाइँ भएकाले अल्पमत र बहुमतको विषयमात्र नबनाउनुहोस् यसलाई सचिवालयमा राम्रोसँग राख्नुहोस्। हामी साथ दिन्छौं र पार्टी फुट्न नदिइकन तर्कपूर्ण समाधान खोज्नुपर्छ भनेर भनेका थियौँ।
सचिवालयका ६ जना सदस्य प्रधानमन्त्री र पार्टी अध्यक्ष फेर्नेमा पुग्नु भएको हो। अनि प्रधानमन्त्री ओलीलाई भेटेर तपाईंले दुबै पदबाट राजीनामा दिनुपर्छ भनेर मागेको वामदेवले होइन? अनि पार्टीको यो विवाद झोसेर उहाँ किन ब्याक हुनुभयो? यति छिट्टै उहाँले विचार किन फेर्नु भएको हो? त्यसैले यस्ता प्रस्ताव गर्दा देश, जनता र पार्टीमा के असर पर्छ भन्ने ध्यान दिनु पर्दैन?
हाम्रो पार्टीले एउटा स्वर्णिम अवसर पाएको थियो। त्यो अवसर हाम्रो नेताहरूले पाउनु भएको थियो। तर अवसरलाई सदुपयोग गर्ने हाम्रो योग्यता देखिएन।
देशको संकट व्यवस्थापन गरेर विकास निर्माणमार्फत् समुन्नतिको बाटोमा अगाडि बढाउनुपर्ने नेतृत्व आफूभित्रको संकटलाई व्यवस्थापन गर्न नसकेको मात्र होइन बरु उल्टै आफ्ना व्यवहारहरूले संकट उत्पन्न गरिरहेको छ।
यो नेतृत्वको असफलता हो। त्यसैले सचिवालयको योग्यतामाथि पनि आज प्रश्न उठेको छ। आजको पार्टीको विवाद तलका कार्यकर्ताहरूले होइन। स्थायी समिति सदस्यहरूले होइन। सचिवालयमा बसेका मूल नेतृत्व र केही नेता महानुभावबाट समस्या उत्पन्न भएको छ।
हामी प्रधानमन्त्रीलाई मात्र होइन सचिवालय सदस्यहरूलाई पनि स्थायी समिति बैठकमा प्रश्न गर्नेछौं। छिनछिनमा विचार फेर्ने र कहिले यता र कहिले उता गरेर संकटमा पार्टीलाई फसाउन पाइँदैन।
अर्को कुरा जब प्रचण्डजीले मैले राखेको भन्दा फरक प्रस्ताव राखेपछि मैले ठीक छ भनेको हो। किनभने उहाँ मेरो पनि अध्यक्ष हो।
प्रधानमन्त्रीको राजीनामामा सहमति भएपछि गएको सचिवालय बैठकमा खुसुक्क सबैकुरा कसरी मिल्यो? उहाँले किन प्रधानमन्त्रीको राजीनामाको माग छाड्नुभयो?
हामीलाई प्रधानमन्त्रीको राजीनामा भनेर कन्भिन्स गर्ने नेताहरूले किन स्ट्याण्ड बदल्नुभयो? कमसेकम कमरेड प्रचण्ड र माधव नेपालले ‘राजीनामा दिनुपर्छ’ भन्ने आफ्नो मागमा किन अड्न सक्नुभएन? हामी यो कुरा बैठकमा उठाउँछौं र उहाँहरूले पनि हाम्रो चित्त बुझाउनुपर्छ।
मेरो भनाइ के हो भने नेताहरूको गोप्य सहमति हामीलाई चाहिएन। उहाँहरूको राजनीतिक लेनदेन चाहिएन। हामीलाई सरकार राम्रोसँग चल्नुपर्यो। पार्टी राम्रोसँग चल्नुपर्यो। अहिले देखिएका समस्याहरूको समाधान हुनुपर्छ। मेरो त मान्यता छ - केपी कमरेडले आफ्नो स्वास्थ्यको कारण दुई मध्ये एउटा पद चलाउनु हुँदैन। अब छलफल कसरी अगाडि बढ्छ स्थायी कमिटीमा मलाई थाहा छैन।
झलनाथ खनालले त प्रधानमन्त्रीको राजीनामाको च्याप्टर क्लोज भयो भनेर भन्नु भएको छ सचिवालयको बैठक लगत्तै। प्रश्न के हो भने -तपाईंहरूले प्रधानमन्त्रीले अध्यादेश जारी गरेलगत्तै फिर्ता लिएको विषय त्यसपछि उहाँको अहंकार र निर्णय प्रक्रियामा सामेल नगराइएको, एक व्यक्ति एक पद नभएको भनेर नैतिक प्रश्न उठाउनुभयो। तर अन्त्यमा प्रधानमन्त्रीमै वा सत्तामै पुगेर कुरा टुंगियो?
मैले भनें नि - स्थायी कमिटीको सदस्यले उठाएका थिएनौं। प्रधानमन्त्री फेर्ने प्रस्ताव हामीले उठाएका थिएनौं। जे जे भन्नुपर्ने हो बैठकमै भन्छौं। राजीनामा माग्न पनि सक्छौं, नमाग्न पनि सक्छौं। आ-आफ्नो विचार अनुसार बोलिन्छ। उठाएको सचिवालय सदस्यहरूले हो - सक्नुभएन भनेर। सक्नुभएन भन्नेहरूले च्याप्टर क्लोज भयो भनेर भन्नुभयो। त्यसैले उहाँहरूले त्यो च्याप्टर कसरी ओपन भयो र कसरी क्लोज भयो भनेर हामीलाई बताउनुपर्यो।
तपाईंले प्रश्न प्रचण्डतिर पनि तेर्स्याउनुभयो। त्यसपछि पनि माधव नेपाल र प्रचण्डबीच छलफल भएका छन्। तपाईं पनि सहभागी हुनुहुन्थ्यो भनियो।
मेरो कमरेड प्रचण्डसँग कुरा हुन पाएको छैन। माधव नेपाल कमरेडसँग मैले थोरै कुरा गरें। यो कुनै गुटबन्दी होइन। पार्टी विधिविधान अनुसार चलाउनका लागि मेरो संघर्ष हो।
यसमा प्रचण्डजीसँग जे समझदारी बनेको छ। त्यो कायमै छ। तपाईंहरूले अन्यथा नसोच्नुस् भनेर भन्नुभयो। तर मलाई चित्त बुझेको छैन। म व्यक्तिगत भेट हुँदा पनि, स्थायी समिति बैठकमा पनि यो कुरा उठाउँछु। मेरो संशय उठाउँछु।
प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ भन्ने र कन्भिन्स गर्ने पार्टी अध्यक्ष प्रचण्ड सचिवालय बैठकमा किन ब्याक हुनुभयो। उहाँहरू चारै जनाले हामी तपाईंले दुईमध्ये एउटा पद छाड्नुपर्ने स्ट्याण्ड किन राख्न सक्नु भएन? राख्न नसक्ने हो भने त्यो कुरा हामीलाई किन भनेको? यस्ता प्रश्न उठ्छन्।
हामी र हाम्रो राजनीतिक अडानमाथि कसैले खेलबाड गर्न पाउँदैन। हामी हाम्रा मान्यता स्थायी कमिटीमा राख्छौं। अल्पमतमा परिएछ भने बहुमतको निर्णय मानिन्छ। त्यसमा अन्यथा मानिँदैन। तर हामी आफ्ना कुरा खुलेर राख्छौं।
मूल्य मान्यताको कुरा तपाईंले गर्नुभयो। सरकारकै केही मन्त्री फेर्ने वा मुख्यमन्त्री फेर्ने कुरा आइरहेका छन्। त्यस्ता विषयमा केही छलफल भैरहेका छन्?
यस्ता कुरा वार्ताका क्रममा पनि आएका थिए। हामीले त्यसलाई सुरूमै रिजेक्ट गरेका हौं। किनभने यी विषय सरकारका पार्टीका नियमित कुरा हुन्। भोलि जहिले पनि फेरबदल गर्न सकिन्छ।
अहिलेको लडाइँ कसलाई मन्त्री वा मुख्यमन्त्री बनाउने भन्ने होइन। मुख्य कुरा पार्टीको शीर्ष नेतृत्व पंक्तिमा एकता भएन। त्यहाँ अविश्वास बढ्यो,द्वन्द्व बढ्यो। त्यहाँ एकले अर्काको राजीनामा माग्ने परिस्थिति कसरी उत्पन्न भयो? छिनोफानो हुनुपर्छ। त्यो टुंगिएपछि अन्य कुराको छिनोफानो हुन्छ।
म सबै नेतालाई आग्रह गर्न चाहन्छु यतिबेला खेल्ने बेला होइन। हामीसँग वार्ता गर्न आउँदा पूर्वएमाले मिलौं, हामीले यत्रो संघर्ष गरेर यहाँ ल्यायौं भनेर भन्ने।
अनि त्यहीँ हामीसँग वार्ता गर्ने साथीहरू प्रचण्ड कमरेड कहाँ पुगेर यो एकता प्रक्रिया त केपी र प्रचण्डले गरेको हो। त्यसैले अरूलाई छाड्नुहोस्। तपाईंहरू दुई जना मिले हुन्छ हामी मान्छौं भनेर प्रस्ताव लिएर जाने। यो भनेको प्रचण्ड र माधवलाई फुटाउने दाउ हो।
हिजो केपी र प्रचण्ड मिलेर जसरी माधव नेपाल र उहाँसँग नजिक रहेकाहरूलाई पार्टीमा कुना लगाइयो। के त्यही काम दोहोर्याएर पार्टी चल्छ?
त्यसैले हामीले के भन्यौं भने - आज प्रचण्ड र माधवजी जे बुझाइमा आउनु भएको छ त्यसमा केपी कमरेड थपिनुहोस्। शीर्ष नेता थपिनुहोस्। तर फेरि प्रचण्ड र केपी मिलेर माधवलाई तह लगाउने कुरा पनि दोहोरिनु हुँदैन। माधव र प्रचण्ड मिलेर केपीलाई तह लगाउने कुरा पनि हुँदैन।
ठेगान लगाइदिने, देखाइदिने बेला यो होइन। एकले अर्कालाई देखाइदिने चरण राजनीतिमा गयो। त्यही देखाइदिने प्रवृत्तिले हाम्रो दुर्दशा भएको होइन र?
मलाई त छटपटी हुन्छ - नेपाली जनतालाई के जवाफ दिने? स्थिरताको नारामा समृद्धिको नारामा प्रचण्ड बहुमत दिएर पठाए। हाम्रो गति यस्तो छ। ती जनतालाई सम्झनु पर्दैन प्रधानमन्त्रीले?
बालुवाटारको कैदी बनेर बसेर हुन्छ? आफ्ना सीमित सल्लाहकारहरूको धारणामात्र ठीक छ भनेर हुन्छ? व्यापक रूपमा बुद्धिजीवीहरूमा जानुपर्छ। तिनका सुझाव सुन्नुपर्छ, आलोचना सुन्नुपर्छ। पत्रकारले आलोचना गरे भने पत्रकारकै आलोचना गरेको छ। बुद्धिजीवीले आलोचना गरे बुद्धिजीवीकै आलोचना गरेको छ। सत्तामा बस्ने, नेतृत्वमा बस्ने, सरकारमा बस्नेमा त आलोचना सुन्ने धैर्य हुनुपर्छ।
प्रधानमन्त्री पदमा बस्दैमा कोही सर्वज्ञाता हुँदैन। कोरोनाको विषयमा यसो गरेर खाउ यसो गर भनेर उपदेश दिने डाक्टर होइन। प्रधानमन्त्री रोगका विषयमा संगीतका विषयमा के गर्नुपर्छ भन्ने ज्ञाता पनि प्रधानमन्त्री हुन सक्दैन। प्रधानमन्त्री सुशासन दिनेमा पो केन्द्रित हुनुपर्छ। देशको राजनीति र शासन राम्ररी सञ्चालन गर्ने काममा पो केन्द्रित हुनुपर्छ। त्यसका लागि कस्ता मान्छे चाहिन्छ, देशमा कस्ता मान्छे छन् विना पूर्वाग्रह खोजेर चलाउने हो।
सियोदेखि सागरसम्म, बाँसुरीदेखि पियानोसम्म, रूघाखोकीदेखि कोरोनाबारेसम्म भाषण दिएर शासन राम्ररी चल्छ र भन्या! प्रधानमन्त्रीले त बोल्ने कम सुन्ने धेरै गर्नुपर्छ।
प्रधानमन्त्री पदमा बस्नेले त काम गरेर देखाउने हो। गनगन गर्ने होइन। प्रधानमन्त्रीलाई गुनासो सुनाऊँ, सुझाव दिऊँ भन्नेहरूले भोटै पाउँदैनन्। पाए पनि आफ्ना सुझाव र कुरा राख्ने भन्दा उल्टो प्रधानमन्त्रीकै गुनासो पो सुन्नुपर्यो भन्छन्। न समयको व्यवस्थापन छ न विचार, काम, नीति र व्यवहारको संयोजन छ। अनि कसरी आउँछ सुशासन?
अकबरको पालामा उनको दरबारमा एकसे एक ज्ञानी र विद्वान थिए। नवरत्न थिए। तानसेनदेखि वीरबलसम्म थिए। उनको दरबारमा जसका सल्लाहमा उनी जनतालाई सुशासन दिन सफल भएका थिए।
किनभने सरकार चलाउनेलाई संगीत सुनाउनेदेखि मन्त्री भएर चलाउने मान्छे पनि चाहिन्छ। यो कुरा केपी जत्तिको मान्छेले नबुझ्ने त होइन। बुझेर राम्रोसँग कुरा राख्ने क्षमता पनि भएको नेता हो। लिटरेरी टेस्ट पनि भएको मान्छे हो। ह्युमर सेन्स भएको मान्छे पनि हो। क्वालिटीको कुरा गर्ने हो भने आफ्ना प्रकारका क्वालिटी भएको मान्छे हो। तर त्यो सबै कुरालाई एउटा दुर्गुणले छोप्यो।
एउटा दुर्गुणले ९९ वटा सद्गुणलाई छोप्छ। उहाँको अंहकार, हठ, गुटमोह, संकीर्णता र आफूसँग फरक मत राख्नेहरूलाई कागती निचोरे जस्तो निचोरेर राख्ने तरिका उहाँको अलोकप्रियताको एउटा कारण हो।
ममात्रै होइन म जस्ता हजारौं कार्यकर्ताहरूलाई उहाँले घाँटीसम्म पुर्नु भएको छ। मेरो त घाँटीभन्दा माथि बाँकी छ। त्यो घाँटीभन्दा माथि रहेको टाउकोमा रहेको दिमागमा चेतना छ र मुख र जिब्रो छ। मुख र जिब्रोले जति दबाए पनि बोल्न छाडिँदैन। ओखलमा टाउको हालेपछि मुसलसँग किन डराउनु? जे पर्छ व्यहोरुँला।
अन्त्यमा, अब नेकपाको स्थायी समिति बैठक पनि बस्दैछ। प्रधानमन्त्रीको राजीनामा मागिने वा दुईमध्ये एक पद छाड्नेमध्ये राजीनामा पहिला भनियो। तर नेताहरूले राजीनामाको च्याप्टर क्लोज भयो भन्नु भएको छ। अब उहाँलाई अध्यक्षबाट हटाउने वा अध्यक्षका अधिकार घटाउने कुरा हुन्छ?
उहाँले प्रधानमन्त्री भएर देशको शासन सफलतासाथ गरेकै राम्रो हुन्छ। तर उहाँका व्यवहार पहिलकै रह्यो भने प्रधानमन्त्रीको च्याप्टर क्लोज भयो भनेर उहाँको राजीनामाको कुरा उठ्दैन भन्ने नठान्नुहोस्।
यही स्थायी समिति बैठकमा त्यो जोडदार रूपमा उठ्न सक्छ। उहाँले स्थायी समिति बैठकलाई कसरी सन्तुष्ट पार्नुहुन्छ त्यसमा भर पर्छ।
मैले एक व्यक्ति एक पदको कुरा गर्दै आएको छु। स्थायी समिति बैठकमा उठाउने कुरा थुप्रै छन्। सचिवालय बैठकपछि यो डेढ दुई हप्तामा हाम्रो पार्टीमा देखिएको घटनाले ६ रेक्टर स्केलको भूकम्प उत्पन्न गर्यो।
प्रधानमन्त्री र नेताहरूले बुद्धि पुर्याउनु भएन भने झन् ठूलो कम्पन पार्टीभित्र उत्पन्न हुनसक्छ।
आफूले हाँकेको गाडीको अगाडिको चुनौती, मोड र घुम्तीहरूलाई राम्रोसँग देखेर ठीक ढंगले ड्राइभ गर्नुभएन भने कुनै पनि बेला सरकारको गाडी दुर्घटना हुन सक्छ।
पार्टी पनि दुर्घटना हुन सक्छ। दुर्घटना हुनबाट रोक्ने, सरकार, पार्टी र मुलुकमा अस्थिरता उत्पन्न हुनबाट जोगाउने दायित्व कमरेड केपी ओलीको हो। उहाँको भूमिकामा हाम्रो पार्टी र हाम्रो भविष्यका धेरै कुरा निर्भर हुन्छ।
केही नेताको अस्थिरता र यताउता गर्ने प्रवृत्तिले त जुनबेला जे कुरा पनि उठ्न सक्ने अवस्था देखियो। यस्तो अवस्थामा पार्टी रहनु हुँदैन। पार्टीलाई एकताबद्ध बनाउने काममा आवश्यकता अनुसार त्याग गर्न केपी ओली कमरेड तयार हुनुपर्छ।