नेकपा सचिवालयको शनिबार बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न दिएको निर्देशनमा प्रधानमन्त्री केपी ओलीको समर्थन भए/नभएकोबारे आशंका उठेका छन्।
प्रधानमन्त्री ओली मिर्गौला डायलासिस गरेर आराम गरिरहेको भन्दै शनिबार सचिवालय बैठकमा उपस्थित थिएनन्।
शनिबारको बैठकको टुंगो शुक्रबार मात्रै प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले बसेर लगाएका थिए। तर, दिउँसो प्रधानमन्त्रीले आफू आराम गरेर बसेकाले सचिवालय बैठकमा उपस्थित हुन नसक्ने खबर महासचिवमार्फत् पठाएका थिए।
बालुवाटरमै राखिएको महत्वपूर्ण बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने भएपछि उनी आराम गरिरहेको ठाँउमा प्रचण्डले गएर भेटेका थिए।
‘प्रधानमन्त्रीले आफू तल बैठकमा आउन नसके पनि पहिलेको सहमतिअनुसार निर्णय गर्न भनेपछि हामीले शिवमायासँग राजीनामा माग्ने निर्णय गरेका हौं,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।
प्रधानमन्त्री निकट स्रोतले भने डायलासिस गर्ने जानकारी हुँदाँहुदै बोलाइएको उक्त बैठकमा प्रधानमन्त्री उपस्थित नभएको दाबी गरेको छ। तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने सचिवालयको निर्णयमा पनि प्रधानमन्त्रीको समर्थन नरहेको स्रोतको दाबी छ।
सचिवालयको निर्णयविपरीत तुम्बाहाङ्फेले राजीनामा नदिने सार्वजनिक रूपमै बताएपछि उनीसँग अहिले नै राजीनामा माग्नेमा प्रधानमन्त्रीको सहमति थिएन भन्ने कुरालाई बल पुगेको छ।
प्रचण्डनिकट एक नेताले पनि बालुवाटारमा पहिले नै तय भएको बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि केही आशंका जन्मिएको बताए। 'तुम्बाहाङ्फेले पनि म राजीनामा दिन्नँ भनेपछि त्यो आशंकाले बल पाएको छ,’ उनले भने।
उपसभामुखलाई राजीनामा गराउन लगाउने निर्णय भने सचिवालयले एक मतले गरेको उनले जिकिर गरे।
‘त्यहाँ उपस्थित महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिवमायालाई राजीनामा गराउने विषयमा असहमति जनाउनुभएन,’ उनले भने।
प्रधानमन्त्रीनिकट एक नेताले सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन भनेर निर्देशन दिन नसक्ने जिकिर गरे।
'बलात्कार अभियोग लागेका कृष्णबहादुर महरालाई त पार्टीले राजीनामा गर भन्न सकेन,' ती नेताले भने, 'उपसभामुखलाई राजीनामा गर भनेर पार्टीले भन्न सक्दैन, सुझाव मात्रै दिने हो। राजीनामा गर्ने-नगर्ने उहाँकै स्वतन्त्रता हो।'
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेमा अझै सहमति जुटिसकेको छैन। प्रधानमन्त्री सुवासचन्द्र नेम्वाङ र प्रचण्ड अग्नि सापकोटाको पक्षमा उभिएका छन्।
सापकोटलाई बनाउनुभन्दा बरू तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन प्रधानमन्त्रीले चाहेको हो कि भन्ने आशंका पूर्वमाओवादीहरूलाई भएको छ।