सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
रिक्त सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा मागिएको उनले बताए।
‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने।’
उनकाअनुसार सभामुख कसलाई बनाउने भन्नेबारे तय भएको छैन।
सभामुख उम्मेदवार को भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यो आउँछ नि! पहिला उपसभामुखको राजीनामा आउनुपर्यो।’
उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन्।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन्।
तर अध्यक्षद्वय ओली र प्रचण्डका पनि आफ्नै उम्मेदवार छन्।
ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका छन्।
पम्फा भुसालको नाम पनि चर्चामा छ।
आइतबार प्रतिनिधिसभा बैठक डाकिएको छ।
यो पनि:
दुई अध्यक्षले उपसभामुखको राजीनामा मागे, शिवमायाले मानिनन्
ओली र प्रचण्डले गरे उपसभामुखसँग छलफल
दुई अध्यक्षले सल्टाउन नसके सभामुखको विषय सचिवालयले टुंग्याउछ: झलनाथ खनाल