सन् २०१९ को अन्तिम दिन नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्विटरमा आफ्ना केही तस्बिरहरू सार्वजनिक गरिन्।
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न यान्छीले तस्बिरहरू राखेकी थिइन्। कुनै अभिनेत्रीले फोटोसुट गरेजस्तै ललितपुरको पाटनमा खिचिएका उनका तस्बिरले निकै चर्चा पाए।
दुई दिनपछि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि भन्दै आफ्ना तस्बिरहरू ट्वीटरमा राखे। उनले एक महिनासम्म दूतावासको सामाजिक सञ्जालबाट पर्यटन वर्षको प्रवर्द्धन गर्ने घोषणा गरे।
नेपालमा भएका २६ देशका आवासीय राजदूतमध्ये यान्छी र बेरी कूटनीतिमा मात्र होइन सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन्। अमेरिकी दूतावास यो मामिलामा निकै पहिलादेखि सक्रिय थियो भने आफ्नो देशमा चलाउन नपाइने ट्वीटरमा चिनियाँ राजदूत केही महिनाअघिमात्र छिरेकी हुन्।
नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर मनाइरहेको भ्रमण वर्ष २०२० का उपलक्ष्य दुई राजदूतले लगालग ट्वीटरमा तस्बिरहरू राखेपछि धेरैले भने- यी दुई शक्ति राष्ट्रका राजदूत कूटनीतिमा मात्र होइन सामाजिक सञ्जालमा पनि प्रतिष्पर्धामा छन्।
साँच्चै हो त?
यो प्रश्न हामीले चिनियाँ राजदूत यान्छीलाई सोध्यौं।
नयाँ वर्षको अवसर पारेर शुक्रबार बिहान उनले बालुवाटारस्थित राजदूतावासमा पत्रकार सम्मेलन गरेकी थिइन्।
पत्रकार सम्मेलनको सुरूमा उनले गत वर्ष नेपाल-चीन सम्बन्धमा भएका उपलब्धिको व्याख्या गरिन्।
‘गत वर्ष नेपाल-चीन सम्बन्ध राजनीतिक, आर्थिक, व्यापार र नागरिकस्तरमा एकदमै राम्रो भयो,’ यान्छीले भनिन्,‘११४ मिलियन अमेरिकी डलर चिनियाँ लगानी नेपाल आयो। १० महिनामा नेपाल-चीनबीच १.२ अर्ब डलरको व्यापार भयो।’
गत वर्ष दुबै देशका राष्ट्रप्रमुखले नेपाल र चीनको राजकीय भ्रमण गरेका थिए। अप्रिलमा राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङ गएकी थिइन्। उनी बेल्ट एन्ड रोड इनिसिएटिभको सम्मेलनमा पनि सहभागी भइन्।
अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आए। पछिल्लो २३ वर्षमा काठमाडौं उत्रिने सी पहिलो चिनियाँ राष्ट्रपति हुन्।
‘राष्ट्रपति सीको भ्रमणपछि मलाई काम अलि हलुको हुन्छ होला भन्ठानेकी थिएँ तर त्यसपछि पनि चीनबाट दुई दर्जन बढी डेलिगेसन आएका छन्,’ यान्छीले भनिन्,‘मलाई आशा छ सन् २०२०मा नेपाल र चीनले पारस्परिक हित, आपसी सहयोग र दुबै देशका नागरिकको राम्रो जीवनस्तरका लागि हातेमालो गर्नेछन्।’
नेपालका पर्यटन, नागरिक उड्डयन, रेल, सडक, जलविद्युतमा चिनियाँ सहयोगको चर्चा गरिसकेपछि राजदूत यान्छीले पछिल्लो सात दशकमा चीनले प्राप्त गरेका उपलब्धिबारे सुनाइन्।
७० वर्ष दशकअघि कम्युनिष्ट पार्टीले चीनमा साम्यवादी व्यवस्था स्थापना गरेको थियो। चिनियाँ समाजको वस्तुस्थितिका लागि कम्युनिष्ट पार्टीको साम्यवादी व्यवस्था एकदमै उपयुक्त भएको यान्छीले दाबी गरिन्।
उनले ७० वर्षमा चीनले आन्तरिक पूर्वाधार, अन्तर्राष्ट्रिय व्यापार, विश्वअर्थतन्त्रको वृद्धि गरेको योगदान र अन्य देशमा गरेको लगानीका डाटा पनि सुनाइन्।
‘तर केही पश्चिमा देशले चीनमा समृद्धि र स्थायित्व भएको चाहँदैनन् त्यसैले उनीहरू हङकङ र सिनजियाङको मुद्दा उठाउँछन् त्यो पनि दोहोरो मापदण्ड अपनाएर,’ यान्छीले भनिन्,‘संसारमा अन्य देशमा हिंसा भए उनीहरू त्यसको विरोध गर्छन् तर हङकङ र सिनजियाङमा भएका हिंसालाई अधिकारको आन्दोलन भन्छन्।’
यान्छीले हङकङका प्रदर्शनकारीले कसरी एक देश दुई व्यवस्थाको लक्ष्मण रेखा पार गरे र सिनजियाङमा अतिवादी र पृथकतावादीले सार्वजनिक र नागरिक सम्पत्तिमा क्षति पुर्याए भन्ने व्याख्या गरिन्।
प्रश्न उत्तरका क्रममा उनले नेपालमा पक्राउ परेका १२० चिनियाँ नागरिक तत्काल चीन फिर्ता नहुने संकेत गरिन्।
‘हामी नेपालमा ती चिनियाँ नागरिक रक्षा गर्छौं जो वैधानिक काम गरिरहेका छन्। पर्यटक भिसामा नेपाल आएर साइबर अपराध कर्ममा लाग्नेहरूको हामीले रक्षा गर्दैनौं,’ यान्छीले भनिन्,‘यहाँ आएकाको अपराधले चीनमा पनि नागरिकले दु:ख पाएपछि आफूसँग भएको सूचना नेपाली पक्षलाई दिएका हौं। पक्राउ परेकामाथि नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूलाई के गर्ने भन्ने अनुसन्धान सकिएपछि थाहा हुन्छ।’
अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयोग लिने/नलिनेबारे नेपाल सरकारले निर्णय गर्नु उपयुक्त हुने यान्छीको धारणा छ।
‘अति कम विकसित मुलुक भएकाले नेपालमा अन्तर्राष्ट्रिय लगानी र सहयोग चाहिन्छ तर त्यो सहयोग आर्थिक विषयमा मात्र केन्द्रित हुनुपर्छ,’ यान्छीले भनिन्,‘एमसिसीबारे पनि नेपाल सरकारले स्वतन्त्र निर्णय लिनुपर्छ। आर्थिक क्षेत्रमा मात्र हुने भए उक्त लगानी स्वागतयोग्य नै हो।’
औपचारिक प्रश्नोत्तर सकिएपछि पत्रकारले उनको केही दिनअघिको फोटोसुटबारे जिज्ञासा राखे।
उनी मुसुक्क हाँसिन्। पाटनमा गरिएको उक्त फोटोसुटका पछि उनकी दिदीको हात रैछ।
‘हामी दिदीबहिनी पाटन दरबार स्क्वायरमा घुम्न गएका थियौं। दिदीको फोटो खिच्ने सोख छ। त्यहीबेला मेरो फोटो पनि खिचिदिनु भएको हो,’ यान्छीले भनिन्,‘राम्रो लागेपछि मैले ट्वीटरमा राखें। सबैजनाको राम्रो प्रतिक्रियाले खुसी बनाएको छ।’
त्यसो भए फोटोसुटको जस उनकी दिदीलाई जान्छ?
‘अँ, मेरी दिदी अनि फोटोसपलाई जान्छ,’ उनले भनिन्।
तपाईंको फोटोसुटपछि अमेरिकी राजदूत बेरीले पनि ट्वीटरमा भ्रमण वर्षका लागि तस्बिर हाल्नुभयो नि?
‘होइन उहाँले पोस्ट गरेको दुई दिनपछिमात्र बेरीले राख्नुभएको हो,’ छेउमा उभिएका दूतावासका एक अधिकारीले भने,‘लेडिज फस्ट!’
त्यसपछि राजदूत यान्छीले अमेरिकी राजदूत बेरीसँगको आफ्नो मित्रताबारे सुनाइन्।
‘भेरी-बबई डाइभर्सनको टनेलको उद्घाटन गर्न गएको बेला हाम्रो मित्रता गहिरिएको हो,’ उनले भनिन्।
राजदूत यान्छीले व्याख्या गरिन्: वास्तवमा त्यो त्रिदेशीय सहकार्यको राम्रो उदाहरण हो-चिनियाँ ठेकेदार, नेपाली पैसा र अमेरिकी मेसिन।
यस्तै खालको त्रिदेशीय सहकार्य चीन, भारत र नेपालबीचको टु प्लस वान मोडलमा पनि हुनुपर्ने उनको भनाइ थियो।
यान्छीले बेलाबेलामा राजदूत बेरीसँग आफ्नो कुराकानी भइरहने बताइन्।
‘हामी दुई जना दुई फरक देशका हितको रक्षाका लागि यहाँ छौं तर हामी मिल्ने साथी हौं, बेलाबेलामा कुराकानी भइरहन्छ,’ उनले भनिन्।
त्यसो भए तपाईंहरू दुई जना सामाजिक सञ्जालमा पनि प्रतिष्पर्धा होइन सहकार्य गर्नुहुन्छ?
उनले कूटनीतिक जवाफ दिइन्- प्रतिष्पर्धा होइन, सहकार्यमा पनि होइन हामी सहअस्तित्वमा छौं।’