प्रदेश नम्बर ३ ले एक साताभित्र स्थायी नाम र राजधानी पाउने भएको छ।
मुख्यमन्त्री डोरमणि पौडेलले पुस २० गतेभित्रै नाम र राजधानी टुंगो लाग्ने जानकारी दिए।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको छ।
‘अब प्रदेश ३ ले स्थायी राजधानी पाउने भएको छ,’ एक सचिवालय सदस्यले भने, ‘हेटौंडालाई स्थायी राजधानी र प्रदेशको नाम बागमती राख्ने गरी अघि बढ्न हामीले प्रदेश कमिटीलाई निर्देशन दिएका छौं।’
पार्टी सचिवालयले नाम र राजधानीबारे निर्णय गरेको जानकारी आफूले पाएको मुख्यमन्त्री पौडेलले सेतोपाटीलाई बताए।
‘नाम बागमती र राजधानी हेटौंडा राख्ने भन्नेछ,’ पौडेलले भने, ‘पार्टीले मात्रै निर्यण गरेर पुग्दैन। संसद बैठक बसेर यसलाई वैधानिकता दिनुपर्छ।’
पौडेलका अनुसार अबको एक साताभित्र प्रदेशको नाम र राजधानी टुंगो लगाइने छ।
‘पुस २० गते अघि नै संसद बस्छ। संसदबाटै नाम र राजधानी टुंगो लगाउँछौं,’ उनले सेतोपाटीसँग भने, ‘अब ढिला हुँदैन।’
प्रदेश ३ मा नेकपाको २ तिहाइ नेतृत्वको सरकार छ। १ सय १० सदस्यीय प्रतिनिधि सभामा नेकपाका ८० कांग्रेसका २२ र अन्य दलका ८ जना सांसद छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो। त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो। प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपर्युक्त हुने निष्कर्ष निकालेको हो।
सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन्। प्रदेश १, २, ३ र ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्।