नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङको एउटा मौलिक शैली छ।
कसैले दिएका आश्वासन सम्झाउन पर्यो वा कसैले पहिलाका कुरा फेर्यो भने सार्वजनिक रूपमा उनी भन्ने गर्छन्- कसैले यसो भनेको थियो, मलाई उहाँको अनुहार पनि झल्झली याद आएको छ तर नामै सम्झिन सकिनँ।
पाँच पटक सभामुख र संविधान सभा अध्यक्ष बनिसकेका नेम्वाङ कसैलाई पनि बिझाउने गरी बोल्दैनन, सार्वजनिक रूपमा आलोचना गर्दैनन्, आरोप पनि लगाउँदैनन्। वरिष्ठ अधिवक्ता समेत रहेका उनले कसैबारे सार्वजनिक टिप्पणी गरी हाले भने पनि आफ्नै शैलीमा गर्छन्: मलाई उहाँको अनुहार पनि झलझली याद आइरहेको छ, भनेको प्रसंग पनि याद छ, भनेको कुरा पनि याद छ तर के भयो के भयो अनुहार सम्झिन खोज्छु तर बिर्सिहाल्छु।
अचेल नेम्वाङको यही शैली पत्रकारले पछ्याउन थालेका छन्। नेम्वाङको कार्यकक्षमा पुगेका पत्रकारले उनलाई व्यंग्य कस्छन्-सभामुख हुने व्यक्तिबारे जानकारी भइसक्यो, अनुहार पनि झल्झली याद आएको छ तर नाम ठम्याउनै सकिएन।
आफ्नै शैलीको व्यंग्य पत्रकारबाट सुनेपछि नेम्वाङ हाँसेर टारिदिन्छन्।
संसद सचिवालयकी एक कर्मचारीलाई करणी प्रयास गरेको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएकै दिनदेखि धेरैले अब नेम्वाङ सभामुख बन्छन् भन्ने अड्कल गरेका थिए। नेम्वाङले भने आफू अब सभामुख नबन्ने जवाफ फर्काएका थिए।
हिजोआज भने सभामुखबारे नेम्वाङको बोली फेरिएको छ। मौलिक शैलीमा उनी भन्न थालेका छन्- सभामुख बनाउने पार्टीले हो, व्यक्तिले चाहना राखेरमात्रै हुँदैन।
नेकपाले अहिलेसम्म सभामुख कसलाई बनाउने औपचारिक छलफल गरेको छैन।
सोमबार आफ्नै कार्यकक्षमा सेतोपाटीसँग कुरा गर्दै नेम्वाङले सभामुख कसलाई बनाउने भन्नेबारे पार्टीले निर्णय गर्ने र त्यसको पहल दुई अध्यक्षले गर्ने बताए।
पुस ३ गतेदेखि संसदको हिउँदे अधिवशेन सुरू भएको छ। अर्को बैठक पुस ११ गते बोलाइएको छ। त्योभन्दा पहिला नै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने र जेष्ठ सदस्यले अध्यक्षता गरेको संसद बैठकमा जानकारी गराउने नेम्वाङले बताए।
‘मेरो विचारमा ११ गतेभन्दा अगावै उपसभामुखले राजीनामा गर्ने र उहाँको राजीनामा संसदमा जेष्ठ सदस्यले अध्यक्षता गरेर सुनाउने भन्ने हुन्छ होला। त्यसपछि उपसभामुख पद पनि रिक्त रहन्छ,’ नेम्वाङले भने,‘त्यसपछि सभामुख र उपसभामुख दुबै पदको निर्वाचन गर्नेतर्फ हामी अगाडि बढ्नु पर्ने हुन्छ। ११ गतेपछि सभामुख र उपसभामुख निर्वाचनको मिति तय हुन्छ होला।’
नेकपाले नै सभामुख पद लिने स्पष्ट संकेत देखिएकाले उपसभामुखको राजीनामा आएपछि मात्रै सभामुख चयनको प्रक्रिया सुरू हुने उनले बताए।
सभामुखका लागि अहिलेसम्म उपसभामुख तुम्बाहाङफेले मात्रै औपचारिक दाबी प्रस्तुत गरेकी छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दिएको स्रोतको दाबी छ।
पूर्वमाओवादी पक्षधर नेताहरूले अग्नि सापकोटालाई अगाडि सारेका छन भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा नेम्वाङ परेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखका लागि पूर्वमाओवादी र पूर्वएमाले भनेर बहस गर्न नहुने धारणा राख्ने गरेको उनीनिकट स्रोतको भनाइ छ। पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि प्रचण्ड सन्तुलित बन्न खोजेका छन्।
शक्ति बाँडफाँटका बेला सभामुख तत्कालीन माओवादी केन्द्रलाई परेकाले अहिले पनि आफूहरूकै भागमा रहनु पर्ने पूर्वमाओवादी नेताहरूको तर्क छ। नेम्वाङ भने अब यस्ता तर्कलाई आधार मान्न नसकिने बताउँछन्।
‘सभामुखमा पार्टीले जसलाई पनि निर्णय गर्न सक्छ। अहिलेकै उपसभामुख पनि सभामुख हुन सक्नुहुन्छ,’ उनले भने,‘पार्टीमा अब एमाले र माओवादी समूह भन्ने छैन। यो व्यक्तिगत दाबी र आग्रहभन्दा पनि दल र संसदले आवश्यकताअनुसार निष्कर्षमा पुग्नुपर्ने कुरा हो।’
नेम्वाङ एकता भएदेखि नै आफूले कसैलाई पूर्वएमाले र पूर्वमाओवादीको रूपमा नचिन्ने धारणा राख्दै आएका छन्।
‘भर्खरै हामी स्थायी कमिटी बैठकबाट उठेका छौं। बैठकबाट पारित भएको राजनीतिक प्रतिवेदनले पनि अब हामी ऐतिहासिक एकताको अन्त्यमा पुगेका छौं। एउटा ठूलो सफलता हासिल गरेका छौं,’ नेम्वाङले भने,‘एमाले र माओवादी भनेको हिजोको गौरवपूर्ण इतिहास हो, नेकपा आजको यथार्थ हो। त्यसैले आज पनि को एमाले थियो को माओवादीमा थियो भनेर निर्णय गर्ने हो भने पार्टी एकता गर्यौं भनेर गर्व गर्नुको अर्थै हुँदैन।’
कुन समूहले पाउने भन्नेतर्फ नलागी सम्बन्धित पदको आवश्यकता र त्यसको औचित्यलगायत सन्दर्भमा को व्यक्ति उपयुक्त छ भनेर दलले निर्णय गर्नुपर्ने नेम्वाङको तर्क छ।
शितल निवास, बालुवाटार र खुमलटारका छुट्टाछुट्टै उम्मेदवार रहेको पनि चर्चा छ नि भन्ने प्रश्नमा नेम्वाङले सिधा जवाफ दिएनन् बरू यो विषयमा बालुवाटार, खुमलटार र शितल निवासले आग्रह राखेर कसैको पक्षमा उभिए होलान् भन्ने विश्वास नलागेको दाबी गरे।
आफूले सुरूमा सभामुख बन्दिनँ भनेर सार्वजनिक रूपमा भनेपछि सबै पक्षबाट यसबारे कुनै प्रतिक्रिया नदिन सुझाव आएको उनले बताए।
‘मलाई धेरैले, साह्रै धेरैले तपाईं व्यक्तिगत रूपमा नबोल्दिनुस् भने, त्यसपछि यसो सोचें र मैले भनिरहेको छु र भन्ने गरेको छु, यो व्यक्तिगत आग्रह र टिप्पणीभन्दा पनि दल र संसदले आजको आवश्यकताअनुसार सोच्ने र निष्कर्षमा पुग्ने कुरा हो,’ नेम्वाङले भने,‘त्यति बेला तपाईं व्यक्तिगत रूपमा यसरी नबोल्नुस भन्नेमा तपाईंले नाम लिएका सबै क्षेत्र पर्छ।’
पार्टीले आवश्यक ठान्यो भने तपाईं सभामुख बन्न तयार हुनुहुन्छ भन्ने अर्को प्रश्नमा नेम्वाङले मौलिक शैली दोहोर्याए-अब पार्टीले निर्णय गर्यो भनेदेखि त्यतिबेला म तपाईंहरूसँग समेत सल्लाह गरेर निर्णय गरौंला न, त्यो बेलामा।