भारतको असाममा सरकारी जागिर खानुछ भने सन्तान जन्माउँदा विचार पुर्याउनुपर्ने भएको छ। यहाँ दुईभन्दा बढी सन्तान भए सरकारी जागिर खान नपाउने नियम सरकारले ल्याएको छ।
असाममा भारतीय जनता पार्टीको सरकारले यो कानुन ल्याएको हो। मुख्यमन्त्री सर्वानन्द सोनोवालको संसदले गत सोमबार यो निर्णय गरेको बिबिसीले जनाएको छ।
नयाँ कानुनअनुसार सन् २०२१, जनवरी १ पछि दुईभन्दा बढी बच्चा भएका कसैले पनि सरकारी जागिरमा आवेदन नै दिन पाउने छैनन्। यसका साथै हाल भएका सरकारी कर्मचारीहरूले पनि यो नियम कडाइका साथ पालना गर्नुपर्नेछ।
सानो परिवार प्रोत्साहन गर्न यो नीति ल्याइएको बताइएको छ।
तर कसैको दोस्रो बच्चा जुम्ल्याहा भयो र तीन सन्तान भएमा उसले सरकारी जागिर खान पाउने वा नपाउने विषयमा असाम सरकारले कुनै प्रस्ट नीति ल्याएको छैन। त्यसैले यो कानुनमा धेरैले असहमति पनि जनाएका छन्। कतिले यसलाई राजनीतिक फाइदाका निम्ति ल्याइएको पनि बताएका छन्।