इस्लामिक स्टेट (आइसिस) का आतंकवादीहरूले लुकाएको करिब तीन अर्ब रूपैयाँ बराबरको धन इराकी मरूभूमिमा फेला परेको छ।
'द मिरर'का अनुसार आइसिस प्रमुख प्रमुख अबु बकर अल–बग्दादीनिकट व्यक्तिले लुकाइएको धनबारे जानकारी दिएका हुन्। पछि भेडा गोठालाहरूले मरूभूमिमा उक्त धन भेटेका छन्।
शनिबार साँझ बग्दादी मारिएपछि उनका नातेदार तथा सन् २०१५ देखि नै आइसिसका सदस्य रहेका मोहम्मद अली साजेतले लुकाएर राखिएको धनबारे जानकारी दिएका थिए। साजेतलाई एक महिनाअघि नै बग्दाद नजिकैबाट इराकी अधिकारीहरूले पक्राउ गरेका थिए।
अल अरेबिया अखबारलाई अन्तर्वार्ता दिने क्रममा इराकी हिरासतमा रहेका साजेतले बग्दादी र आफूहरू मिलेर पैसा तथा सुनचाँदी अल-अनवर मरूभूमिमा गाड्ने गरेको बताएका थिए। उनले अन्तर्वार्तामा त्यो धन हराएको बताए पनि पछि गोठालाहरूले फेला पारेका हुन्।
साजेतले नै बग्दादी सिरियामा लुकेर बसेको र बग्दादीसँग काम गरिरहेका खबरवाहकका बारेमा जानकारी दिएका अनुमान छ। तर साजेतले अन्तर्वार्तामा बग्दादी यसरी भेटिएलान् भन्ने आफूले अनुमान नगरेको बताएका छन्।
उनका अनुसार बग्दादीको लुक्ने ठाउँहरू अति नै सुरक्षित र गोप्य थिए। बग्दादीले आफू लुक्न आठ मिटर लामो र पाँच-छ मिटर चौडा सुरूङ बनाएको पनि साजेतले जनाएका छन्।
'सुरूङमा धार्मिक किताबहरूको सानोतिनो पुस्तकालय, कुरान र केही सामान थिए,' साजेतले भनेका छन्,'भित्र बत्ती र चाहिने सामग्री थिए। लुक्नका निम्ति राम्रो ठाउँ थियो।'
साजेतले बताएको सुरूङ नै शनिबार बग्दादी मारिएको सुरूङ हो भन्ने अनुमान भए पनि यकिन छैन। बग्दादी अमेरिकी सेनाले घेरिएपछि तीन जना केटाकेटीसहित सुरूङमा छिरेका थिए। उक्त सुरूङ एकतर्फी थियो। उनले सुसाइड (बमजडित) भेस्ट लगाएकाले सेना भित्र जान डराए र सैन्य कुकुरहरूलाई पछिपछि पठाइदिए। भाग्ने अवस्था नभएपछि बग्दादीले बम पड्काएका थिए। साजेतले पनि आफूले देखेको सुरूङ सुरक्षित भएको र त्यहाँ बग्दादी मारिन सक्ने अनुमान नगरेको बताएका छन्।
इराकी अधिकारीका अनुसार पक्राउ परेपछि अनुसन्धानक्रममा साजेतले नै बग्दादीका श्रीमती र खबरवाहकबारे जानकारी दिएका थिए। साजेतको सूचनाकै आधारमा उनीहरूले खोज थालेका हुन्। बग्दादीका खबरवाहक कारवाहीमा मारिए पनि उनकी श्रीमतीले इराकी अधिकारीहरूलाई थप सूचना दिएका थिइन्। यी सबै जानकारी इराकीहरूले अमेरिकीहरूलाई दिएका स्रोतले जनाएको छ।
साजेतका अनुसार बग्दादी ठाउँ सर्ने योजना बनाइरहेका थिए। 'तर कसरी भन्ने समाधान निस्किरहेको थिएन। उनीहरू सधैं यो विषयमा छलफल गरिरहन्थे,' साजेतले भनेका छन्।
आइसिस प्रमुख बग्दादी संसारकै 'मोस्ट वान्टेड' व्यक्ति थिए। सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समय आतंकवादी गतिविधि चलाउँदै आएको थियो। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दस करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।
ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकायदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकायदा प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ। बग्दादी पनि सुरूमा सन् २०१० मा इराकमा अलकायदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए।
धेरै वर्षसम्म लुकेर बसेका बग्दादीलाई खोज्न अमेरिकाले निकै लामो तयारी गरेको थियो। लुकेको ठाउँ पत्ता लागिसकेपछि सिआइएले उनको चालचलनमा जासुसी गर्न इराकी र कुर्दिस एजेन्सीहरूसँग सहकार्य गर्यो। अमेरिकीहरूले बताएअनुसार कुर्दिसहरूले बग्दादीमाथि नजर राख्दै सिआइएलाई सूचना दिइरह्यो।
एक जना सिरियन इञ्जिनियरका अनुसार बग्दादी अर्को उग्रवादी समूह 'हुर्रास अल-दीन' का कमान्डर अबु मोहम्मद सलामाको घरमा बसेका थिए। ती कमान्डरको बग्दादीसँग के सम्बन्ध थियो भन्ने खुलेको छैन। बग्दादीलाई उक्त घरमा हमला गर्दा ती कमान्डर थिए, थिएनन् वा उनको अवस्था के छ भन्ने पनि प्रष्ट छैन।
अमेरिकी सेनाहरूले उनलाई पक्रने-मार्ने योजना बनाए पनि उनीहरूले सोचेजस्तो सहज भएन। बग्दादी अलकायदाले घेरेको गाउँको बीचमा लुकेका थिए जुन गाउँको आकाश सिरिया र रसियाको नियन्त्रणमा छ। धेरै प्रयास गर्दा पनि सफल हुने छाँट नदेखिएपछि सेनाहरूले दुईपटक हात झिकेका थिए।
अघिल्लो साता मात्र उनीहरूले फेरि बग्दादीमाथि आक्रमणको योजना बनाए। बग्दादी उक्त ठाउँबाट निस्केको भए नयाँ ठेगाना पत्ता लगाउन मुश्किल हुने थियो।
गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेशन गर्न निर्देशन दिएपछि कमान्डोहरू बग्दादी लुकेको गाउँमा हमला गर्न पुगेका थिए। शुक्रबार मध्यरातमा आठवटा हेलिकप्टर इराकको इर्बिल नजिकैको अमेरिकी सैन्य क्याम्पबाट उडे। अरूको ध्यान नखिचिओस् भनेर तलतल तर चाँडो उडेका हेलिकप्टर सिरियाको आकाशभरि ७० मिनेटसम्म उडेका थिए। यो उनीहरूका लागि जोखिमपूर्ण थियो।
पश्चिमी सिरियाको बरिशा क्षेत्रमा (बग्दादी लुकेको गाउँ) पुगेपछि ल्यान्ड गर्नुअघि नै कमान्डोहरूले हेलिकप्टरबाटै तल जमिनमा गोली चलाए। सेना र कुकुरहरूहरू बग्दादी बसेको घरमा सुरक्षित जान सकून् भनेर उनीहरूले कभर दिए।
ट्रम्पले पत्रकार सम्मेलनमा बताएअनुसार हेलिकप्टरबाट गोली चलेपछि कमान्डोहरू बग्दादी बसेको घरको मूलढोकामा पुगे। उनीहरूलाई त्यो पासो मात्रै थापिएको हो कि भन्ने लागिरहेको थियो। कतै जान सक्ने अवस्था थिएन।
जसै त्यहाँको पर्खाल भत्कियो र कमान्डोहरू अगाडि बढे, आइसिसका लडाकूहरूसँग उनीहरूको आमनासामना भयो। यी सबै घटना सैन्य विमानमा भएका क्यामराले रेकर्ड गरिरहेको थियो। राष्ट्रपति ट्रम्पले आफू र अरू अधिकारीहरूले ह्वाइट हाउसमा बसेर सबै विवरण हेरेको बताएका छन्।
घरभित्र पसेका कमान्डोहरूले चलाएको गोलीले केही मान्छे मारिए। उनीहरू अगाडि बढेपछि एक जना अरेबियन व्यक्तिले त्यहाँ भएका केटाकेटी, केही महिला र पुरूषलाई कसरी भाग्ने भनेर सुझाइरहेको देखे। ती व्यक्तिहरू लडाकू थिएनन्। बग्दादी त्यहीँ थिए जसले ११ जना केटाकेटी आफ्नो बचाउका लागि राखेको ट्रम्पले बताएका छन्। कमान्डोहरूलाई देखेपछि बग्दादी अन्डरग्राउन्ड सुरूङभित्र छिरेका थिए।
अमेरिकी रक्षामन्त्री मार्क टि इस्परले दुई घन्टासम्म चलेको हमलाबारे जानकारी दिँदै भने, 'बग्दादीले आफ्नो बचाउका लागि धेरै केटाकेटी र महिलाहरू राखेका थिए। हाम्रो विशेष टोली उनीहरूलाई बाहिर निकाल्न सफल भयो। राष्ट्रपति ट्रम्पले भनेझैं बग्दादीले केही साना केटाकेटी आफूसँगै लिएर गए र मारिए।'
वासिङटनको समयअनुसार शनिबार राति ७ः१५ मा बग्दादी मारिएको खबर कमान्डोहरूले दिएका थिए। घटनामा अरू पनि केही 'दुश्मन' मारिएको राष्ट्रपति कार्यालयले बताएको छ। राष्ट्रपति कार्यालयका अनुसार घटनामा दुई अमेरिकी सेना सामान्य घाइते भएका थिए जो अहिले काममा फर्किसकेका छन्। बग्दादीले गरेको विस्फोटमा अमेरिकी सैन्य कुकुर घाइते भएको थियो।
(यो पनिः बग्दादीलाई खोज्न र मार्न प्रयोग भएको अमेरिकी सैन्य कुकुर)
बग्दादी मारिएपछि ती ११ जना केटाकेटी स्थानीय एक महिलालाई सुम्पिएको छ। त्यसपछि सेनाले हमला क्षेत्र ध्वस्त पार्ने आदेश दिएका थियो। घटनासँग जानकारका अनुसार बग्दादी मारिएको ठाउँ जस्ताको त्यस्तै छाडिए आइसिसपछिका सदस्यहरूले यसलाई आफ्ना प्रमुख मारिएको विशेष ठाउँका रूपमा लिन सक्नेछन्। यसैले घरको नामनिसान मेटाइएको हो।
आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले 'ल्याब' नै बोकेर गएको बताइएको छ। धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन। सही पहिचान गर्न अमेरिकी सेनाले बग्दादीको डिएनए घटनास्थलमै लिएर गएको थियो। बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरियो। यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका हुन्।
सबै काम सकिएपछि अमेरिकीहरू आफ्नो हेलिकप्टरमा चढेर इराक फर्किएका थिए।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)