अल–कायदा प्रमुख ओसामा बिन लादेन लुकेर बसेको ठाउँ पत्ता लगाउन मद्दत गरेको भन्दै ‘देशद्रोह’ को आरोप खेपेका एक पाकिस्तानी डाक्टरको मुद्दामा अझै सुनुवाइ सुरू भएको छैन।
पक्राउ गरिएको आठ वर्षपछि उनलाई बुधबार पहिलोपटक पेशावर उच्च अदालतमा पेस गरिँदैछ।
शाकिल अफ्रिदी पाकिस्तानको खैबर–पख्तुन–ख्वा क्षेत्रका एक उच्च मेडिकल अधिकारी थिए। अमेरिकाको सहयोगमा सञ्चालित खोपलगायत अन्य विभिन्न स्वास्थ्य कार्यक्रमको रेखदेख उनकै जिम्मा थियो।
सरकारी स्वास्थ्य कर्मचारीका रूपमा उनले खैबर क्षेत्रका विभिन्न ठाउँमा हेपाटाइटिस–बी विरुद्ध खोप सञ्चालन गर्दै आएका थिए। एबोटाबाद उनको कार्यक्रम क्षेत्रभित्रै पर्थ्यो, जहाँ पाकिस्तानी सेनाको नाकैमुनि अल–कायदा प्रमुख ओसामा बिन लादेन लुकेर बसेका थिए।
अमेरिकी खुफिया योजनाअनुसार शाकिल अफ्रिदीको स्वास्थ्य टिमले एबोटाबादका विभिन्न घरबाट केटाकेटीको रगत संकलन गर्यो। यस क्रममा बिन लादेन लुकेर बसेको भनी शंका गरिएको घरबाट पनि केटाकेटीको रगत संकलन गरिएको थियो। ती केटाकेटीको डिएनए परीक्षण गर्दा बिन लादेनसँग मिल्न गयो।
यही अभियानबाट लादेन लुकेर बसेको ठाउँ पत्ता लागेको हो कि अमेरिकीले पहिल्यै उक्त ठाउँ पत्ता लगाएर पुष्टि गर्न मात्र रगतको डिएनए परीक्षण गरेको हो भन्ने प्रस्ट छैन। तर, जब अमेरिकी सेनाले एबोटाबादको उक्त घरभित्र घुसेर बिन लादेनको हत्या गर्यो, त्यसको २० दिनपछि सन् २०११ मे २३ मा डा. अफ्रिदी पक्राउ परे।
पक्राउ पर्दा करिब ५० वर्ष उमेर पुगेका अफ्रिदीको व्यक्तिगत जीवनबारे खासै जानकारी छैन। उनले सन् १९९० मा खैबर मेडिकल कलेजबाट डाक्टरी पढेका थिए। पक्राउ परेपछि अल–कायदाबाट हमला हुनसक्ने भयले उनको परिवार लुकेर बसेको छ। उनकी पत्नी एबोटबादकै एक स्कुलकी प्रधानाध्यापिका थिइन्। उनीहरूका तीन सन्तान थिए, दुई जना छोरा, एक छोरी। यीमध्ये कम्तीमा दुई जना वयस्क भइसकेका छन्।
करिब आठ महिनापछि सन् २०१२ जनवरीमा अमेरिकी अधिकारीहरूले डा. अफ्रिदी अमेरिकी खुफिया एजेन्सीको निम्ति कार्यरत रहेको सार्वजनिक रूपमा पुष्टि गरे। अमेरिकी खुफिया एजेन्सी ‘सिआइए’ मा उनको भूमिका के थियो भन्ने खुलेको छैन।
पाकिस्तानको अनुसन्धानअनुसार डा. अफ्रिदीलाई आफू कुन मिसनमा खटिएका छन् भन्ने थाहा थिएन। उनी जुन घरको रेकी गर्दै थिए, त्यहाँ कसको खोजी भइरहेको छ भन्नेमा पनि अञ्जान रहेको पाकिस्तानी अनुसन्धान अधिकारीहरू बताउँछन्।
उनलाई सुरूमा ‘देशद्रोह’ को आरोप लगाइएको थियो। पछि उनीमाथि लगाइएको आरोप परिवर्तन भयो। सन् २०१२ मे महिनामा उनलाई प्रतिबन्धित आतंकवादी समूह ‘लश्कर–ए–इस्लाम’ लाई आर्थिक सहायता गरेको आरोपमा जेल हालियो।
जिल्ला अदालतले उनलाई आतंकवादी समूहसँग साँठगाँठ गरेको भन्दै ३३ वर्ष जेल सजाय तोकेको थियो। पछि घटाएर २३ वर्ष कायम गरियो।
डा. अफ्रिदीमाथि आतंकवादी लडाकूहरूलाई आकस्मिक औषधिहरू उपलब्ध गराउनुका साथै आतंकवादी समूहलाई आफू मातहतको सरकारी अस्पतालमा गोप्य बैठक गर्न ठाउँ उपलब्ध गराएको आरोपसमेत छ।
उनले सन् २०१२ मा जेलबाटै अमेरिकी सञ्चार संस्था ‘फक्स न्यूज’ लाई दिएको अन्तर्वार्तामा पाकिस्तानी गुप्तचरहरूले आफ्नो अपहरण गरेको र चरम यातना दिएको बताएका थिए। त्यसको एक वर्षपछि आफ्नो वकिललाई गोप्य चिठी लेखेर आफूलाई न्यायबाट वञ्चित गरिएको बताए।
बिन लादेन लुकेको ठाउँ पत्ता लगाउन अमेरिकी गुप्तचर संस्थालाई सहयोग गरेको भन्दै आरोपित डा. अफ्रिदीलाई पाकिस्तानले औपचारिक रूपमा कहिल्यै यो मुद्दासँग जोडेन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को चुनावी अभियान क्रममा आफू निर्वाचित भए ‘दुई मिनेटमै’ अफ्रिदीलाई मुक्त गर्ने दाबी गरेका थिए। उनको यो दाबी कहिल्यै पूरा भएन।
डा. अफ्रिदी अमेरिकाको नजरमा बिन लादेनसम्म पुग्ने मुख्य कडी थिए। उनलाई अमेरिकामा ‘नायक’ का रूपमा हेरिन्छ, जबकि पाकिस्तानको निम्ति उनी ‘देशद्रोही’ भए।