कालिकोटमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहभागी कार्यक्रमस्थल नजिकै बम विष्फोट गराइएको छ।
कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका मुख्यमन्त्री शाही त्यहाँ गएका थिए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले उक्त बम विष्फोट गराएको बताइएको छ।
मुख्यमन्त्री शाही बुधबार वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थलनजिकै बम विष्फोट भएको हो।
गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर माथिको जंगलमा बम विष्फोट भएको हो।
यता, जिल्ला प्रहरी कार्यालय कालिकोटले भने बम विष्फोटबारे जानकारी नआएको बताएको छ।
कालिकोट मुख्यमन्त्री शाहीको गृह जिल्ला हो। अहिले उनी एक साता लामो जिल्ला भ्रमणका लागि कालिकोट गएका छन्।
विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव भएको क्षेत्र पनि कालिकोट नै हो। पूर्वमन्त्री तथा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा पनि कालिकोटकै हुन्।