आर्थिक वर्ष ०७५/७६ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ४ जनालाई रंगेहात पक्राउ गरेको छ।
एक जना प्रहरी अधिकृत, दुई जना वनका कर्मचारी र एक जना शिक्षाका कर्मचारीलाई कार्यालयले रंगेहात पक्राउ गरेको हो।
२०७५ असोज २८ गते ईलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ १५ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका थिए।
उनी ट्याक्टर चालकबाट घूस लिँदै गर्दा पक्राउ परेका थिए।
२०७६ वैशाख २६ गते चौफा सवडिभिजन वन कार्यालय चौरजहारी (रुकुम पश्चिम)मा कार्यरत फरेष्टर महेन्द्र बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले रंगेहात पक्राउ गर्यो। उनी ७ हजार रुपैयाँ घूससहित पक्राउ परेको कार्यालयले जनाएको छ।
यस्तै, २०७६ असार १० गते शिक्षा विकास तथा समन्वय इकाई सल्यानमा कार्यरत शाखा अधिकृत धनबहादुर वली रंगेहात पक्राउ परे। उनी २५ हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ परेका थिए।
२०७६ असार २७ गते डिभिजन वन कार्यालय वीरेन्द्रनगरमा कार्यरत प्राविधिकतर्फका उपसचिव भक्तबहादुर लामालाई अख्तियारले रंगेहात पक्राउ गर्यो।
उनलाई चार लाख रुपैयाँ घूस लिँदै गर्दा पक्राउ गरिएको हो। अख्तियार सुर्खेत कार्यालयको कार्यक्षेत्र भएको क्षेत्रको हकमा ठूलो परिमाणको घूस रकमसहित पक्राउ गरिएको यो नै पहिलो घटना हो।
आर्थिक वर्ष ०७५/७६ मा रंगेहात पक्राउ परेकाबाट जम्मा ४ लाख ४७ हजार रुपैयाँ बरामद गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए।
२२ लाख विगो असुल
आर्थिक वर्ष ०७५/७६ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दायर भएका आरोपपत्र अनुसारको २२ लाख २२ हजार ५२५ रुपैयाँ विगो असुल गरिएको छ।
कुल ३१ लाख ९२ हजार १५६ रुपैयाँ विगो दाबी भएकोमा ९ लाख ६९ हजार ६३१ रुपैयाँ असुल गर्न बाँकी रहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा ११ जनाविरूद्ध आरोपपत्र दायर भएको थियो। जसमा ३७ जना आरोपित रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।
७८३ उजुरी दर्ता
गत आर्थिक वर्षभित्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा ७८३ उजुरी दर्ता भएका छन्। तीमध्ये ४७९ उजुरी फर्छ्यौट भइसकेका छन् भने ३०४ बाँकी रहेका छन्।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/७५ बाट १८० मुद्दा ०७५/७६ का लागि जिम्मेवारी सरेर आएका थिए।
जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल ९६३ उजुरीमध्ये अघिल्लो आर्थिक वर्षमा ५५२ उजुरी फर्छ्यौट गरिएको कार्यालयले जनाएको छ। तीमध्ये फर्छ्यौट हुन बाँकी ४११ उजुरी चालू आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आउनेछन्।
अख्तियारमा परेका गत आर्थिक वर्षका उजुरीमध्ये सबभन्दा धेरै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए। उक्त मन्त्रालयसँग सम्बन्धित ३११ उजुरी दर्ता भएको उनले बताए।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित २६३, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित १०५, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित ५७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित ४८, भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित ४२, खानेपानी मन्त्रालयसँग सम्बन्धित ३६ उजुरी अघिल्लो आर्थिक वर्षमा कार्यालयमा रहेको जनाइएको छ ।
जिल्लागत रूपमा हेर्दा कर्णाली प्रदेशका १० जिल्लामध्ये सबभन्दा धेरै उजुरी सुर्खेतबाट दर्ता हुने गरेको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ।
उजुरी आउने जिल्लामध्ये दैलेख दोस्रोमा, जाजरकोट तेस्रो कालिकोट चौथोमा पर्ने कार्यालयले जनाएको छ।
०७५/७६ मा अख्तियारको कार्यालय सुर्खेतमा दर्ता भएका उजुरीमध्ये ९२७ चिठीपत्र, १५ इमेल, पत्रपत्रिकामार्फत् १८, फ्याक्समार्फत् १ र फेसबुकमार्फत् २ वटा आएका थिए ।
अघिल्लो आर्थिक वर्षसम्म कर्णाली प्रदेशका जिल्लासहित रुकुम पूर्व पनि कार्यक्षेत्र रहेको सुर्खेत कार्यालयको चालू आर्थिक वर्षदेखि भने प्रदेशका १० वटा जिल्लामा मात्र रहने प्रमुख सुवेदीले जानकारी दिए।
उनले अब नयाँ प्रविधिको प्रयोग गरेर तथ्यांक राख्ने, सार्वजनिक गर्ने, उजुरी दर्ता गर्नेलगायतका कार्य गर्ने तयारी कार्यालयको रहेको जानकारी दिए।