प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै कांग्रेसले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो।
बजेटजस्तो महत्वपूर्ण छलफलका क्रममा प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने क्रममा मुख्यमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए।
‘संवेदनशील विषयमा छलफल गर्दा मुख्यमन्त्री उपस्थित नहुनु गम्भीर विषय हो,’ शाहीले भने, ‘संसदमा मुख्यमन्त्रीको उपस्थिति नहुँदासम्म बैठक सञ्चालन हुन दिदैनौँ।’ असार १ गते प्रस्तुत भएको बजेटमाथि शुक्रबारदेखि छलफल गर्ने भनिए पनि विना कारण बैठक स्थगित गरिएको उनले आरोप लगाए।
‘निष्ठा, सत्यता र संसदीय मर्यादाका लागि संसद अवरोध गरेका हौं’ शाहीले भने। कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।