'वीर विक्रम-२' भन्ने नेपाली फिल्मको व्यंग्यात्मक भिडियो समीक्षा गरेका प्रनेश गौतमलाई प्रहरीले हिरासतमा लिएपछि यो विषय चर्चामा छ।
सामाजिक सञ्जालमा राख्न बनाइएको व्यंग्यात्मक 'ट्रोल' मा गौतमले फिल्मका राम्रा/नराम्रा पक्ष केलाउँदै नहेर्न सुझाएका छन्। यहीँ झोँकमा निर्देशक मिलन चाम्लिङले गौतमविरूद्ध जेठ १० मा जाहेरी दिए।
त्यसपछि प्रहरीले जिल्ला अदालतको आदेशमा पाँच दिनअघि गौतमलाई पक्राउ गरेको हो। अदालतले थप दुई दिन हिरासतमा राख्न बुधबार आदेश दिएको छ।
उनले 'मीम नेपाल' नामक हास्य व्यंग्यात्मक सामग्री प्रसाण गर्ने युट्युब च्यानलमा उक्त भिडिओ सार्वजनिक गरेका हुन्। चाम्लिङले दबाब दिएपछि 'मीम नेपाल' को पेजबाट उक्त भिडियो हटाइएको छ।
यतिले नपुगेर 'विद्युतीय माध्यमबाट कलाकारको बेइज्जत गरेको र सिने उद्योगलाई धराशयी बनाउन खोजेको' जिकिर गर्दै प्रनेशलाई पक्राउ गरिएको हो।
प्रनेशलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको छ, जुन विद्युतीय उत्पादन वा अभिलेख नियमनका लागि ल्याइएको हो। यो फौजदारी कानुन हो। नेपाल प्रहरीले यो कानुनको गलत प्रयोग गरेको भन्दै धेरैले विरोध गरेका छन्।
महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सहकुल थापा भने अदालतको आदेशबमोजिम गौतमलाई पक्राउ गरिएको बताउँछन्।
उनका अनुसार जिल्ला न्यायाधीशले नै यो मुद्दामा विद्युतीय कारोबार ऐन आकर्षित हुने भन्दै पक्राउ पुर्जी जारी गरेका थिए।
‘जाहेरी परेपछि हामी अदालत गयौं, न्यायाधीशलाई भिडिओ देखायौं। भिडिओ हेरेपछि न्यायाधीशले यो विद्युतीय कारोबार ऐन आकर्षित हुने मुद्दा रहेछ भनेर पक्राउ पुर्जी जारी गर्नुभयो,’ उनले भने।
प्रहरीले यो मुद्दा आफूकहाँ आउनेबित्तिकै राम्ररी केलाएर नहेरेको देखिन्छ। गौतमलाई तुरून्त पक्राउ गर्नुपर्ने खालको गम्भीर अपराध हो कि अनुसन्धान मात्र अघि बढाउने हो भन्नेबारे प्रहरीले आफैं निर्णय गर्न सक्थ्यो।
यहाँ सिने जगतका धेरै निर्देशकका साथमा चाम्लिङ जाहेरी दिन गएकाले प्रहरी त्यसैको दबाबमा परेको देखिन्छ।
गौतमले आफ्नो भिडिओमा फिल्मका राम्रा-नराम्रा पाटा केलाउनु र त्यसलाई व्यंग्यात्मक शैलीमै प्रस्तुत गर्नु अपराध हो त?
फिल्म, नाटक, कृति वा अन्य कुनै सार्वजनिक सिर्जनाबारे दर्शकले आफ्नो प्रतिक्रिया राख्नु स्वाभाविक हो। कुनै पनि विषयमा आफ्नो धारणा राख्न पाउनु संविधानप्रदत्त मौलिक हक पनि हो।
फिल्मको नराम्रो पक्ष केलाएकै निहुँमा प्रनेशलाई पक्राउ गर्ने प्रहरी भने सार्वजनिक विरोधपछि रक्षात्मक बनेको छ। उसले गौतमको भिडिओमा भएका त्रुटि बल्ल केलाउन थालेको छ। ती त्रुटिलाई कानुनी रूपमा अर्थ्याउन पनि उसको कोशिस देखिन्छ।
‘तपाईंले भिडिओ हेर्नुभयो? त्यसमा चक्कु देखाएर मान्छे तर्साएको छ। अश्लील बोलेको छ। … भन्ने शब्द सुन्नुभएन? त्यो शब्द अश्लील होइन? न्यायाधीशले नै त्यो सुनेर पक्राउ पुर्जी जारी गर्नुभएको हो,’ एसएसपी थापाले भने।
सेतोपाटीसँगको कुराकानीमा एसएसपी थापाले 'अश्लील' भनिएको त्यो शब्द सजिलै प्रयोग गरे।
'तपाईंले महिला पत्रकारसँगको कुराकानीमा त सहजै बोल्न सक्ने शब्द एउटा व्यंग्यात्मक भिडिओमा प्रयोग गर्दा गौतम कसरी पक्राउ पर्छन्?' हामीले सोध्यौं।
एसएसपी थापाले यो प्रश्नको जवाफ दिएनन्। त्यो शब्द 'अश्लील' भएको जिकिर मात्र गरे।
त्यो भिडिओमा गौतमले दर्शकलाई 'तँ' भनेर सम्बोधन गरेको पनि उनले बताए।
'तँ' भन्दैमा, व्यंग्यात्मक तरिकाले आम बोलिचालीको शब्द प्रयोग गरेर फिल्म समीक्षा गर्दैमा कसैलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने प्रकृतिको अपराध हुन्छ?
जवाफमा एसएसपी थापाले भने, 'हेर्नुस् कानुनी रूपमा म गलत छैन। विद्युतीय अपराधसम्बन्धी दफा ४७ को व्यवस्थाअनुसार गौतममाथि अनुसन्धान अघि बढाइएको हो।'
उक्त दफामा लेखिएको छ, ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलिन कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वैष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्न वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।’
गौतमले भिडिओमा बोलेका 'अश्लील' शब्द र छुरी देखाउनेजस्ता काम सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्ध भएको प्रहरीको तर्क छ। जबकि, उक्त भिडिओ सार्वजनिक नैतिकता र शिष्टाचार नै खलबल्याउनेजस्तो देखिन्न।
प्रनेश गौतमको समर्थनमा बुधबार माइतीघर मण्डलमा गरिएको प्रदर्शन। तस्बिर: हिमा बिष्टको ट्वीटरउनको भिडियो समीक्षा अरूजस्तो साधारण शैलीको छैन। उनले त्यसमा व्यंग्य शैली प्रयोग गरेका छन्।
उनले प्रयोग गरेको भाषा र हाउभाउ नेपाली समाजले पचाउने अरू सिनेमा, सिरियल र स्ट्याण्डअप कमेडीको जस्तै भएको उनका समर्थकको जिकिर छ। सामाजिक सञ्जालमा उनको पक्राउविरूद्ध बोल्नेहरूको तर्क पनि यही छ।
नेपाली फिल्ममा त लैंगिक तथा जातीय रूपले असंवेदनशील शब्द र विषयवस्तुको भरमार हुन्छ। यही 'वीर विक्रम २' सहित पछिल्ला थुप्रै नेपाली फिल्ममा 'अश्लील' भनिएका र द्विअर्थी शब्द प्रयोग भएका छन्।
'हिट' भनिएका केही नेपाली फिल्मले महिलालाई होच्याएर प्रस्तुत गरेको भनी आलोचना भएको थियो। त्यस्ता शब्द वा विषयवस्तु प्रयोग गर्नु सही होइन। तर, त्यसो गरेकै भरमा नेपाली फिल्म निर्माता वा निर्देशकलाई थुनामा हाल्नुपर्छ भनेर कसैले भनेनन्।
फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा हालिएका सामग्रीमा विद्युतीय कारोबार एेन लगाएर कारबाही गर्नु प्रहरीको कमजोरी देखिन्छ। यो इन्टरनेटमा आएका सामग्री सही वा गलत ठहर्याउन ल्याइएको कानुन होइन। विद्युतीय रूपले पैसा कारोबारमा हुनसक्ने अनियमितता, अर्कको कम्प्युटर वा इमेल ह्याक गरी सूचना तथा सामग्री चोर्नेजस्ता कार्य नियन्त्रण गर्न यो कानुन ल्याइएको हो।
नराम्रो समीक्षा गरेको झोँक साँध्न गौतमलाई थुनाएको चर्चा चलेपछि निर्देशक चाम्लिङले भने अन्य तर्क गर्न थालेका छन्।
कमेडीका नाममा अर्कालाई होच्याउने र बेइज्जत गर्ने उद्देश्यले एउटाको फोटो अर्कै हो भनेर देखाउन, अश्लील बोल्न र चक्कु देखाएर कुनै पनि क्रियाकलाप गर्न नपाइने उनको भनाइ छ।
‘समीक्षा उहाँले जसरी पनि गर्न पाउनुहुन्छ, तर हाम्रो सिनेमामा खेलेका कलाकारको बेइज्जत गर्न पाउनुहुन्न। जस्तो नाजिर हुसेन भन्दै अशोक दर्जीको फोटो क्लिप देखाइएको छ, पल शाह भन्दै अर्कै कसको फोटो देखाइएको छ,’ उनले भने, ‘चक्कु देखाएर हाम्रो सिनेमा हेर्न नजानू भनेको छ, ड्राइभर खलासीले मात्र बुझ्ने भनेर उनीहरूको पेशालाई समेत अपमानित गरेको छ। अश्लील बोलेको छ र हाम्रो प्रोडक्टलाई बेइज्जत गरेको छ। त्यसो गर्न पाइन्न।’
चाम्लिङले भनेजस्तै सार्वजनिक रूपमा 'अश्लील' शब्द बोल्न र एउटाको फोटो अर्कैको हो भनेर देखाउन कानुनले वर्जित गरेको छ।
चाम्लिङले गौतममाथि लगाएको अर्को आरोप हो, १२ हजार माग्दा नदिएपछि यस्तो भिडिओ बनायो।
उनको यो आरोप झूटो हो। चाम्लिङले सेतोपाटीसँग गरेको कुराबाटै त्यो आरोप मिथ्या भएको पुष्टि हुन्छ। उनका अनुसार, सिनेमाको एउटा गीत 'मीम नेपाल' को पेजमा ट्याग गर्न उनको टिमले कुरा गरेको थियो। 'मीम नेपाल' ले भने आफ्नो पेजमा गीत राख्न १२ हजार लाग्ने बतायो।
चाम्लिङले यही कुरा बंग्याएर प्रनेशविरूद्ध प्रयोग गरेको देखिन्छ।
यसरी ‘झोँक साँध्न’ लगाइएको मुद्दा अब शब्द-शब्दको व्याख्यामा पुगेको छ। त्यस्तो व्याख्या प्रहरीले आफ्नै हिसाबले गर्छ, अरूले आफ्नै हिसाब लगाउँछन्।
'आपराधिक कर्म भएको हो कि हैन भन्ने टुंगोमा पुग्न प्रहरीले व्यक्तिको नियत हेर्नुपर्छ, जसमा प्रहरी चुकेको छ,' लेखक सावित्री गौतम भन्छिन्, 'न्यायाधीशले पक्राउ पूर्जी दिँदा पनि 'न्यायिक मन' प्रयोग गरेको देखिँदैन।'
'व्यंग्य गर्ने छुट त पञ्चायतमा पनि थियो, प्रनेशको घटनाले भने जनतालाई त्यो अिधकारबाट वञ्चित गराउन खोजेको देखिन्छ,' उनले भनिन्।