पृथ्वीराजमार्गको मुग्लिनस्थित त्रिशुली नदीमाथि नयाँ पुल बनाइएको छ।
मोटर गुड्ने यो पुल विश्व बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत् १२ करोड रुपैयाँ बजेटमा एलाइट एड्भेन्चर र लोहनी ब्रदर्श जेभीले ठेक्का लिएर निर्माण सकेको हो।
पुलको दुवैपट्टि किनारा भागका केही मिटर माटो कटिङ गरेर सडक कालोपत्रे गर्न र पुल रङ लगाउने काम भने बाँकी छ। केही दिनमा यो काम सकेपछि पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ।
१२० मिटर लम्बाइ र सात मिटर चौडा रहेको यो पुल सञ्चालनमा आएपछि पनि नजिकै रहेको पुरानो पुलबाट पनि सवारीसाधन सञ्चालन हुनेछन्।
तनहुँतर्फबाट आउने सवारी साधनलाई नयाँ पुलबाट सञ्चालन गर्ने र मुग्लिनतिरबाट आएका सवारीलाई पुरानै पुलबाट सञ्चालन गर्ने विभागको तयारी छ। तर पुरानो पुलमाथि विच्छाइएको कालोपत्रे उप्किसकेको छ भने रडमा पनि खिया लागिसकेको छ।
मुग्लिनमा चार वर्ष लगाएर नयाँ पुल बनाइएको हो। पुल निर्माणको काम वैशाखभित्र सक्नुपर्ने गरी म्याद थपिएको थियो।
‘यो आर्क शैलीमा बनाइएको नेपालकै नौलो प्रकृतिको पुल हो,’ निर्माण कम्पनीका प्रतिनिधि मोतिलाल शर्माले सेतोपाटीसँग भने, ‘नदीमा पिल्लर नराखी बनाइएको यो पुल अन्य प्रकृतिका पुलभन्दा बढी समय टिक्छ।’