झापाको कन्काई नदीको पुलमा आज बिहान भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोज टोलीले निष्क्रिय गरेको छ ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने उक्त पुलमाथि शंकास्पद वस्तु फेला परेपछि बिहान साढे ५ बजेदेखी राजमार्ग अवरुद्ध भएको थियो । नेपाली सेनाको २१ नम्बर वाहिनी र श्रीनाथगण चारआलीको बम डिस्पोजल टोलीले बमलाई ४ घन्टा पछि डिस्पोज गरेको थियो ।
राजमार्ग ठप्प भएपछि कक्षा ११ को आज देखि शुरु परिक्षाका परिक्षार्थी नराम्ररी प्रभावित भए । विहान ७ वजे देखि शुरु परिक्षाका परिक्षार्थी ८ वजे सम्म पनि परिक्षा हलमा नपुगेको दुधेका परिक्षार्थी कुशल नेपालले बताए ।
उनको परिक्षा केन्द्र कन्काई मावि थियो । राजमार्गको पुलमासवारी साधन र पैदल यात्रुको आवतजावतमा ठप्प भएपछि परिक्षार्थी पर्यटकिय दोमुखाको झुलुङे पुल तरेर कष्टपुर्ण ढंगले परिक्षाहलमा पुगेका थिए । माईधारवाट दोमुखा ५ किलोमिटर र दोमुखा पुर्वको धनुषकोटी धाम देखि सुरुङ्गा साढे ६ किलोमिटर पर्छ ।
राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा यातायातका सवारीसाधन रोकिएका थिए । कन्काई नगरपालिका–४ स्थित कन्काई पुलको दायाँतर्फ तारले बेरिएका अवस्थामा प्रेसर कुकर बम जस्तो राखिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । मर्निङवाकमा निस्किएका मानिसले पुलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम कस्ले राख्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
नेकपाको विप्लव समुहले राजमार्गमा प्रेसर कुकर वम राखेको अड्कल गरेपनि मेची अन्चलका एक नेताले पार्टीको कुनै कार्यक्रम नरहेको जानकारी दिए ।
ती नेताले भने, ‘हाम्रो मेची अञ्चलमा कुनै कार्यक्रम छैन ।’
झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बम नजिकै गोर्खा जनमुक्ति मोर्चाको पर्चासमेत फेला परेको छ।
पर्चामा संघीयता खारेज गर, सुगौली सन्धीको भूमि फिर्ता गर, भ्रष्टाचार नियन्त्रण गर, सम्पूर्ण अंगीकृत नागरिकता खारेज गर लगायतका माग उल्लेख छ।